नायक गायिका काण्ड
यतिबेला विश्व रसिया र युक्रेनको द्वन्द्वले तरङ्गित छ । असंलग्न परराष्ट्र नीति अङ्गालेको र सैन्य शक्ति पनि कमजोर भएको नेपालले त यस विषयमा कसैको पक्षपात गर्ने कुरै रहेन, विश्वको शक्ति राष्ट्रको रुपमा परीचित राष्ट्रहरु समेत यो विषयमा खुलेर बोल्ने आँट गरीरहेका छैनन् । सारा विश्वको ध्यान रसिया र युक्रेनले तातिरहँदा नेपाली समाज भने अलिक पहिला देखि तातिरहेको दुईवटा विषयहरु अझ मथ्थर भएका छैनन् ।
एउटा हो राजनीतिक र अर्को हो कला क्षेत्रसँग सम्बन्धित दुई कलाकारको विषय । अब लगभग विरोध गर्नुको खास औचित्य नरहेपनि एमसिसिको विरुद्धमा नाराबाजी सडक र सदन दुवै ठाउँमा रोकिएको छैन । एमसिसि सदनमा जान्छ या जादैन ? प्रचण्डले के गर्छन् ? सबैको चासोको विषय थियो । अघिल्लो दिनसम्म आफ्नो पाटिले कुनैपनि हालतमा एमसिसिको समर्थन नगर्ने बताएर जनतालाई सडकमा उफ्रँ उफ्रँ लाग्ने बनाएको प्रचण्डले भोलिपल्टै बोली फेरेर समर्थनमा लागि हाले । सडकमा विरोध भईरहे पनि एक हिसाबले एमसिसिको विषय टुङ्गो लागिसकेको छ । त्यसकारण यस विषयमा अब धेरै कुरा गरिराख्नुको खास तात्पर्य छैन । मेरो यो आलेखको पृष्ठभूमि पनि एमसिसि होइन न त युक्रेन र रसियाको युद्ध नै हो । मेरो यो आलेखको पृष्ठभूमि त ती दुई कलाकारको विषय हो । जसको खबरहरुले अहिले सञ्चारमाध्यम भरी भराउ छ । सामान्य जनमानस देखि दिग्गज हस्तिहरुले सम्म यो घटनाको बारेमा बोलेका छन् । यहि घटनाको पृष्ठभूमिमा रहेर केहि विचारहरु प्रस्तुत गर्ने कोशिस गर्दै छु ।
आरोपित नायक र पिडित गायिकाको बारेमा बोल्ने म पहिलो व्यक्ति होइन र म यो आलेखमा कुनै एउटाको पक्ष लिएर तर्क गर्न गइरहेको पनि छैन । म त यो आलेखमा घटनालाई लिएर मानिसहरुले व्यक्त गरेको तर्कहरुले हाम्रो समाजको कस्तो चित्र देखाउँदै छ र हाम्रो समाज कतातिर जाँदै छ भन्ने विषयमा आँफुलाई लागेको कुराहरु मात्र प्रस्तुत गर्दै छु ।
सामाजिक सञ्जालहरुमा आएको तर्कहरु र सडकमा भएका प्रदर्शनहरु देख्दा आरोपित र पिडित दुवैको समर्थन र विपक्षमा मानिसहरु छन् भन्ने कुरा छर्लङ्ग हुन्छ तर कसको पक्षमा कति मानिसहरु छन् भनेर न्यायको लेखा जोखा हुने होइन । हुनु पनि हुँदैन । न्याय दिने काम सम्मानित अदालतको हो र अदालतले पक्कैपनि वास्तविक पिडितलाई न्याय दिनेछ । पङ्तिकार कति कुरामा चाहि स्पस्ट छ भने अपराध प्रमाणीत भएपछि दोषीलाई कारवाही हुनै पर्छ र पिडितले न्याय पाउनै पर्छ । तर आजको मिति सम्म अदालतको निर्णय नआइसकेको हुँदा मानिसहरु आ–आफ्नो ढंगले तर्कहरु प्रस्तुत गरिरहेका छन् ।
आरोपित नामक नेपाली सिनेजगतको चर्चित र परिचित अनुहार हो । तर आफुलाई मन पर्ने कलाकार हो भन्दैमा गल्ति गरेको छ वा छैन बुझ्दै नबुझि अन्धधुन्द समर्थनमा उत्रनुचाहि आफैमा कति ठिक कुरा हो, समर्थकहरुले सोच्नु पर्दछ । यदि गल्ति भएकै हो भने, जुन सुकै बाहाना र परिस्थिति भएपनि गल्ति गल्ति नै होः सजायको भागिदार हुनै पर्दछ । चाहे जुनसुकै ओहोदाको जतिसुकै प्रतिष्ठित व्यक्ति किन नहोस्, एकातिरबाट कमाएको इज्जतले अर्कोतिर गल्ति गर्ने छुट कसैलाई हुँदैन । पीडितलाई तथानामा भनेर आरोपितलाई उन्मुक्ति दिलाउन सकिन्छ भनेर सोंच्नु आफैमा लज्जास्पद र हास्यास्पद कुरा हो । यसले सभ्य मानिसको चिनारी दिँदैन । मैले यसो भन्दै गर्दा म स्वयम्ले पीडितको पक्षमा वकालत गर्ने प्रयास गरेको भने होइन । न्याय अदालतले दिन्छ । अन्धभक्त भएर समर्थन र विरोधमा उत्रनु हुँदैन भन्ने मात्र हो ।
मेरो प्रश्न आरोपितका समर्थकहरुलाई मात्र होइन । पीडित मानिएकी गायीकाको समर्थकहरुसंग पनि छ । केही महिला अधिकारकर्मि र कलाकारहरुले पीडित गायिकालाई केही नसोध्न केही नभन्न अनुरोध गरिरहनु भएको छ । उनलाई मानसिक तनाव दिन र बेइज्यत नगर्न अनुरोध गर्नुभएको छ । उहाँहरुको भनाईलाई समर्थन गर्दै म उहाँहरुसंग सोध्न चाहन्छु, के इज्जत पीडितको मात्रै हुन्छ ? आरोपितको हुँदैन ? के मानिसहरुले गरिरहेको तर्कहरुबाट गाईकालाई मात्र मानसिक तनाव होला त ?
जसरी तपाईहरुले आरोपितलाई कारवाही हुनै पर्दछ, पीडित पूर्ण रुपमा अन्जान नावालिक हो भनेर भनि रहनुभएको छ, त्यसले उनलाई चाही मानसिक तनाव भएको छैन होला ? हामीले के बुझ्न जरुरी छ भने अपराध प्रमाणित नभएसम्म कोही पनि अपराधी होइन । खाली आरोपित मात्र हो । आरोपित भयो भन्दैमा तथानाम भन्ने हक कसैलाई पनि हुँदैन । त्यसकारण न त पिडित न त आरोपित कसैको पनि अन्ध भक्त भएर समर्थन र विरोध गर्नु भन्दा सम्मानित अदालतलाई न्यायको जिम्मा दिनु सबैको लागि हितकर हुन्छ ।
न्यायको जिम्मा अदालतलाई दिने भन्दै गर्दा केही जिज्ञासाहरु मनमा आए । हुन त अदालतको काम कारवाहीप्रति अविश्वास गर्ने मेरो प्रयास होइन । तर पनि केही जिज्ञासाहरु छन्, नेपालको कानुनले १८ बर्षभन्दा मुनिका मानिसलाई नावालक नावालिका भनेर व्याख्या गरेको छ । जसको आधारमा १८ बर्षभन्दा कम उमेरको व्यक्तिसंग सहमति मै राखिने शारीरिक सम्बन्ध पनि जबरजस्ती करणी हो । तर अप्ठ्यारो कहाँ हो भने सत्र बर्ष तीन सय ६४ दिन पुगेको भएपनि त्यो नवालिका माथि भएको जवरजस्ती करणी अन्तरगत पर्दछ तर १८ बर्ष १ दिन मात्र भएको भए पर्दैन । यदि अहिलेको घटनालाई हेर्ने हो भने पनि अपराध प्रमाणित गर्ने आधारहरु के के हुन् त ? किनभने बलात्कारको घटनामा प्रायः अपराध प्रमाणित गर्ने आधारहरु भनेको घटनास्थलको मुचुल्का, पीडितको शारीरिक अवस्था, मेडिकल चेक जाँच, यिनै हुन् । के यो घटनामा अपराध सिद्ध गर्नको लागि यस्ता प्रमाणहरु प्रयाप्त छन ? या पिडितले म माथि जबरजस्ती करणी भएकै हो भनेको मात्र अदालतले न्याय दिने हो ? किनभने तत्कालिन अवस्थामा दुवै अवस्थामा दुवै बीच शारीरिक सम्बन्ध भएकै हो भनेर भन्न सक्ने प्रत्यक्षदर्शी या भिडियो फुटेज उपलब्ध छैन ।
सम्बन्ध पहिलेदेखिनै भएको भन्ने कुराहरु पनि छन् । यसले मेडिकल जाँचबाट पनि अपराध पुष्टि हुन समस्या पर्दछ । चेकजाँचबाट शारीरिक सम्बन्ध भए नभएको त पत्ता लाग्ला । तर आरोपितसंगै भएको हो या होइन भन्न चाहीँ ? जहाँसम्म एउटै घरमा बसेको घटनाको कुरा छ, काम विशेषले एउटै टीमसंगै बस्नु नौलो कुरा होइन, तर यसैलाई मात्र आधार मानियो भने भोलि जस्ले जस्लाई पनि आरोप लगाईदेला । त्यसैले यो झट्ट आफैमा पेचिलो छ, यसको टुक्रा टुक्राको राम्रोसंग अध्ययन गरेर मात्र निष्कर्षमा पुग्नु पर्दछ ।
यो घटनाको बारमो लेख्दै गर्दा एउटा कुरा छुटाउनै हुँदैन, अभिभावकको कुरा । दुई बर्षसम्म घटना सतहमा नआउनुमा अभिभावकले नै पीडित र आरोपितलाई विहे गराई दिने प्रयास गरेको र कुरा नमिलेपछि बल्ला सतहमा आएको कुरा छ । विहे गरे सबै अपराध माफ हुने, नगरेपछि जाहेरी दिने, यो कस्तो संस्कारको विकास गर्दैछौं हामीले । आफ्नो नावालिक छोरीलाई अन्याय हुँदा तत्काल प्रतिवाद नगरी सकेसम्म उसैसंग विवाह गराई दिने सुर कस्ने, कस्तो अभिभावकत्व निभाउँदै छौं हामी । निसन्देह कानुनको नजरमा १८ बर्षभन्दा कम उमेरको व्यक्ति नावालक नै हो तर देश दुनिया बुझेर राष्ट्रिय कलाकारको दर्जामा उभिई सकेको एउटा १६/१७ बर्षको गायिकाले म नावालिक मलाई केही थाहा भएन भनेर चुपचाप बस्नुले नैतिक रुपमा केही स्वार्थको गन्ध दिदैन र ?
कानुनको हेर्ने नजर एउटा हुन्छ । घटनालाई नैतिकता र व्यवहारिकताको नजरले पनि कमसेकम विश्लेषण गरिनु
पर्दछ । अर्को कुरा आरोपित नायकलाई मौकामा चौका हान्नु पर्दछ भन्ने किसिमको मानसिकता विकास गर्न कस्ले मद्दत ग¥यो ? उ पनि यही समाजको अंग हो । कर्त समाजमा देखेर हेरेर नै सिकेको त होइन ? त्यसो हो भने त तपाई हामी यो समाज पनि त यो घटनाको दोषी हौं । हाम्रो एउटा अचम्मको बानी के छ भने, हामी समाजको हरेक घटनामा आफ्नो तर्कहरु राख्छौं ।
समर्थन या विरोधमा तर के स्वीकार्न चाहँदैनौं भने समाजमा घट्ने हरेक घटनाहरु समाजकै तपाई हाम्रो व्यवहारको प्रतिउत्पादन हुन् । हिजो पिडितको स्वरमा लठ्ठिएर नाँच्नेहरु आज उनैलाई अस्लिल र चरित्रहिन सावित गर्न लागि परेका छन् । एउटा कलाक्षेत्रमा काम गर्ने सहकर्मिहरु आरोपितलाई सजाय हुनै पर्दछ भनि रहेका छन् । आममानिसहरु वास्तविकता के हो नबुझिकनै सडक तताउँदैछन् । मानौ हरेक कुराको निर्णय सडकबाटै हुनु पर्दछ । आखिर कतातिर लाँदै छौं हामी हाम्रो समाजलाई ?