इमान्दारको खोजि
वेदव्यासले मानिसको इमानदारीताको बारेमा भन्नु भएको छ, ‘इमान्दार मानिस इश्वरको सर्वोत्कृष्ठ रचना हो ।’ यस विषयमा मलाई पनि अलि गहिरिएर सोच्न मन लाग्यो । इश्वरीय सृष्टिमा इमान्दार प्राणी मानिस मात्र हो त ? सृष्टिका तमाम जिवात्मा मानिस भन्दा इमानदार छैनन् होला ? इमान्दार नहुनेमा इश्वरीय सृष्टि सागरमा मानिस एक्लो पर्ला ? अन्य प्रणीहरु मानिस भन्दा धेरै इमानदार छन्, सोझा छन् ।
जलचर र स्थलचर यथानाम जिवात्मा मध्ये कुन छ इमान्दार ? सर्पले टोक्छ त्यसैले यो इमान्दार छैन भनिएला, नचलाए जानाजान यसलाई चोट नपु¥याए केही गर्दैन । आफ्नो बाटो लाग्दछ । बाघ, भालु, हात्ती, गैडा, सिंह, जिराफ, जेब्रा, घोडा सृष्टिका ठूला र बलवान प्राणीले पनि नजिस्क्याउने हो भने केही गर्दैनन् । जब उसको बासस्थान अर्काले खोस्ने, विगार्ने, तथा आफू माथि आक्रमणको महसुस गरे जाई लाग्छन्, इमान्दारीता विर्सन्छन् । बाँदर जस्तो छुसी जात, आफ्नो विचरण क्षेत्रमा टन्न पेट भर्न पाए विनासित्ती खेतमा जाई लाग्दैन । जब पेटै खाली हुन्छ त इमानदार भएर चल्दैन । लामखुट्टे, उपियाँ, उडुस टन्न पेट भर्न पाए, उसै माथि लडिबुडी खेल्दा पनि केही गर्दैन । बरु अर्कोतिर लुक्न जान्छ । कुकुर, विराला, गाई, भैसी, गोरु बाख्रा, मान्छेकै बसमा हुन्छन् । मान्छेले अह्राएको मान्छन् । आफ्नो घरको सुरक्षार्थ पालिएको कुकुर नौलो आउँदा भुक्नै प¥यो, भुक्दा नमाने टोक्नै प¥यो । यसो गर्नु उसको इमानदारीता हो । गाई, गोरो, भैसी, बाख्रा आफूलाई खाना दिने र नदिने चिहाल्दछ । आफ्नो लाई देख्दा कराउँछन्, चाट्छन्, लुटपुटिन्छन् । गिज्याउने, जिस्क्याउनेलाई लात्तीले हान्नै प¥यो । यस्ता पशुहरुमा हुने इमानदारीता पनि मान्छेमा छैन । न यो प्राणी टन्न खाएरै सन्तोष लिन्छ । न पाएर । आफ्नो काम नबनुन्जेल मायाँ गर्दछ, बन्यो कि मायाँ न सायाँ, गुन न सुन, ढाडेहान्न थालिहाल्छ । सके अगाडिबाट, नसके पछाडिबाट भएनि कैचीले झै कत्रन र धमिराले झै कोत्रन लागि हाल्दछ । रिस, राग, इष्र्या, डाहा, हर्ष, विस्मात, प्रेम, वितृष्णा मान्छेमा प्रदत्त प्राकृतिक गुणहरु हुन् । यिनै गुणहरुले गर्दा मानिस एक अर्कोमा फरक छ । विचार फरक, सोंचाई, बुद्धि विवेक, चिन्तन, मनन् जस्ता गुणहरु फरक फरक छन् । जस्ले गर्दा उसको दिनचर्या फरक छ । साथसाथै जिवन जिउने कला फरक छ । आफूमा निहित गुण विशेषमा सजिएकाहरुलाई दृष्टिगोचर गर्दा इमान, जमान, इमानदारीता सोही अनुसार देखिन्छ । यसरी आ–आफ्नै बुद्धि, विवेक, संगत, सीप जाँगर र चेतना स्थान विशेष, धरातलीय भिन्नता, हावा पानी, बनस्पति जन्य उपज प्रयोगले एकआपसमा असमान र भिन्नता भएको हुनु पर्दछ । ‘खाना अनुसार ठानावाना, ठाउँ अनुसार लाउ नाना’ भन्ने उखानै छ । यसैले होला पेशा, व्यवसाय, दिनचर्या र सामाजिक व्यवहार र हैसियत समेत कसैको समान छैन । यही असमानताले मान्छेलाई पदीय आचरण, मर्यादा, इमानदारीता गुमाई, आफ्नो मात्र हैसियत सुधार गर्न मरिहत्ते गर्दछन् ।
ब्रह्माजीका कलाकौसलतासंगै रुप स्वरुपका भिन्न उत्सर्जन सृष्टिका महासागरमा अरु सबै इमान होलान् तर ब्रह्माजीको रिस र असन्तोषको झोंकमा, माटो, खरानी र सुलीको मिश्रणबाट तयार भएको यो प्राणी आफ्नो ख्याउने, चुचे, कोप्चे, त्रसाउने, बुख्याँचा जस्तो कुरुप र स्वभावमा वेमानी उस्तै छ । यो व्यवहारले ब्रह्माजीलाई आफ्नो सृष्टिप्रति पछुतो लाग्या होला । विचरा अब के गरुन्, यो नामेट हुनेवाला छैन । पृथ्वी नभए चन्द्र र मंगलसम्म पुगेर भएपनि आफ्नो बीऊ जोगाउन सक्ने भैसक्यो । विभिन्न जातजाती, पेशा व्यवसायमा विभक्त भै भूतल ढाकेको यो प्राणी कुनै पनि ठाउँमा (क्षेत्रमा) इमानदार छैन । कृषि क्षेत्रमा हेर्ने हो भने किसानका पनि बेईमानी छन् । उत्पादन गर्दैदेखि खानै नहुने विषादी प्रयोग गर्ने, दुधमा पानी, घिउमा पिँडालु, अमिलोमा पिठो र ध्वाँसो मिसाएर बेच्ने लगायत फलफुल पाकेको देखाउन रंग लगाउने, छिटो बढ्न सुई लगाउने जस्ता दुष्कर्म यिनका हातबाट हुन्छ । व्यापारीहरु म्याद गुज्रेका, सडेका सामान बेच्ने, मूल्य बढाउने, कालो बजारी गर्ने, मिसावट गर्ने, नापतौलमा ढाँटछल गर्ने, सुनमा पित्तल मिसाएर फसाउने, चाँदीमा सिलवट मिलाउने गरेको धेरैले भोगेको हुनु पर्दछ ।
राष्ट्रसेवक भनिने कर्मचारीतन्त्र, शान्ति सुरक्षाका लागि खटिएका बर्ग, फेरी कमिशन र चुकानीमा लिप्त छन् । अलिकति नपाई केही काम नगर्ने, एकदिनमा हुने काम दुई दिन लगाउने, अफिसका सामानले घर भर्ने, जाँच चेकमा तस्कर नदेख्ने, जघन्य अपराध लुकाउने, फर्जी लिखत तयार गर्ने, पैसा कहाँबाट आउँछ भनेर गौंडो हेर्ने गर्ने गरेका गुनासा छन् । यो महामारीको बेलामा उपचारका लागि खरिद सामानमै करोडौंको भ्रष्टाचार भएको र आएका सामान समेत चोरेर घर लाँदै गरेको लज्जास्पद समाचार बाहिरिएको छ । इमानदार भए पक्का पनि यसो हुने थिएन होला ।
उद्योगीहरु हे¥यो उस्तै, कमगुणस्तरका सामान उत्पादन गर्ने, राजश्व छल्ने, कृत्रिम अभाव सिर्जना गर्ने, बजार सिण्डिकेट र एकाधिकार कायम गराउने जस्ता कार्यको समाचारले अखवार ढाकेको हुन्छ । शिक्षा तर्फ झन के कुरा गरौं, पढाउन भन्दा गफ धेरै दिने, विद्यालय नपुगि कक्षामा नपसी तलब खाने, हाकिम निरिक्षकहरु नजरानाको आधारमा नियुक्ति, सरुवा, बढुवा जस्ता कार्य मिलाई दिने, नत्र कामै नगर्ने गुनासा आउँछन् । कतिले त प्रत्यक्ष भोग्नु भएको पनि होला । नेता वर्गमा झन बद्नामी छ । इमानदारले चुनावै जित्न सक्दैनन् । बोलेको नपु¥याउने, कुकर्म गर्न नी तयार हुने कमिशनमा लिप्त हुने, ठुला ठुला तस्करी अपराध समेत पैसाको आडमा लुकाउने थुप्रै उदाहरणहरु छन् । जस्तै विमान खरिद काण्ड, सुन तस्करी काण्ड, पिपिई खरिद कमिशन, सैन्य प्रहरीका बन्दोवस्तीका सामान खरिद काण्ड, एनसेल कमिशन काण्ड आदि । इमानदार हुँदा हुन् त यी समाचार किन आउँथे ? संगै न्याय क्षेत्र पनि यसमा अछुतो छैन भने अन्य क्षेत्र के होला ? यदि यमराजले इमानदार मात्रलाई स्वर्ग लाने भए सायद स्वर्ग खाली हुन्थ्यो होला ! इमानदार विधामा नोवेल पुरस्कार प्रदान गरिने भए सो पुरस्कारको योग्य मानिस नभेटिने हुनाले नै यो विधा नराखिएको हो कि ? जे होस् आफू हरप्रकारले इमानदार छु भन्ने कोही हुनुहुन्छ भने अरुले नगरेनी म उच्च सम्मान गर्दछु । अब इमानदार खोजौं, रोज्दा पनि इमानदार रोजौं । आफू इमानदार बनौं, बैमानीको कुरै छाडौं ।