
एसइई–२०७६ को नतिजा प्रकाशन भएसंगै यस वर्षको नतिजालाई लिएर पत्रपत्रिका र सामाजिक सञ्जालमा विभिन्न खाले टिप्पणीहरु भएका छन् । कसैले यो नतिजालाई लिएर लाजको पसारो भन्ने टिप्पणी गरेका छन् अनि कसैले शिक्षकहरुले आफ्नो हात जगन्नाथ गरे भन्ने अर्थ लगाएर टिप्पणी गरेका छन् । यसो भनेर नकारात्मक टिप्पणी मात्र भएका छन् भन्ने होइन् । विद्यार्थीको वास्तविक मूल्याङ्कन यस पटक भएको र अहिलेसम्म हामीले अपनाउँदै आएको परीक्षा र मूल्याङ्कन प्रणाली माथि पो पुनःविचार गर्ने हो कि भनेर पनि टिप्पणी भएका छन् । पहिलो खाले टिप्पणीले शिक्षकहरु तथा विद्यालय सञ्चालकहरुलाई उत्तेजित तुल्याएको हुनसक्छ । पछिल्लो पाँच वर्षको नतिजा मूल्याङ्कन गर्ने हो भने त्यो टिप्पणीमा दम भएको भेटिन्छ ।
अक्षराङ्क पद्धतिमा नतिजा प्रकाशन प्रारम्भ भएको पाँच वर्षमा यस पटक सबैभन्दा धेरै विद्यार्थीले ४ जीपिए ल्याएसंगै यी खाले टिप्पणी भएका हुन् । हुन पनि यो प्रणालीबाट नतिजा प्रकाशन आरम्भ भएको वर्ष–२०७२ मा २ जना, २०७३ मा ४ जना, २०७४ मा ७४ जना, २०७५ मा १०६ जना र यस पटक नौ हजार ३१९ जना विद्यार्थीले ४ जीपिए पाएका छन् । अधिल्ला दुइ वर्ष प्रयोगात्मक अंक प्राप्त गर्ने विषय कम भएकाले थोरै विद्यार्थीले ४ जीपिए पाएका र २०७४ बाट अनिवार्य गणित र ऐ. प्रथम विषय बाहेकका ६ विषयमा प्रयोगात्मक अंक प्राप्त गर्ने भएसंगै धेरै विद्यार्थीले राम्रो जीपिए प्राप्त गरेको भन्ने तर्क केहीको छ । छ वटा विषयमा प्रति विषय २५ अंकका दरले प्रयोगात्मक परीक्षाको अंक दिन पाइने र विद्यालयले झण्डै सतप्रतिशत अंक दिएर पठाउने भएकाले यसो भएको हो । जुन यथार्थलाई सबैले स्वीकार्नुको विकल्प छैन । तितो लागेपनि यो सत्य नै हो कि प्रयोगात्मक परीक्षाको सहि प्रयोग भएको छैन ।
किन यसो भन्न सकिन्छ भने ७५ पूणाङ्कको लिखित परीक्षामा १० अंक पनि नल्याउने विद्यार्थीलाई पनि प्रयोगात्मक अंक भने पूर्णाङ्क मै वा केही मात्र कम दिएर पठाउने गरेको प्रसस्त भेटिएका छ ।
लिखित परीक्षाको तुलनामा केही विद्यार्थीले प्रयोगात्मक परीक्षामा राम्रो अंक ल्याउन सक्छन् तर के सबै विद्यार्थी त्यस्तै हुन्छन् ? प्रश्न गर्न त पाईयो नि ।
फेरी गत वर्षको नतिजा र अहिलेको नतिजामा जुन अविश्वसनिय ढंगले सकारात्मक परिवर्तन भएको देखिएको छ ,के यो यथार्थ नै हो त भनेर प्रश्न गर्न मिल्ने ठाउँ भने प्रसस्त छ । लाजको पसारो र आफ्नो हात जगन्नाथ भनेरगरिएका टिप्पणीलाई वेवास्ता गरेर वास्तविक नतिजा यही हो भनेर जिकिर गर्न सक्ने अवस्था छैन । के हाम्रो शैक्षिक गुणस्तरमा यो एक वर्षमा यति ठूलो सकारात्मक परिवर्तन आएको हो ? भनेर प्रश्न गर्नुलाई अन्यथा लिनु हुँदैन । कतिपय विद्यार्थीले नै आफ्नो क्षमता अहिले आए जस्तो जिपिए ल्याउने नभएको भनेबाट पनि यो नतिजामा प्रश्न गर्ने ठाउँ दिएको हो । यसले विद्यालयहरुले अविश्वसनिय अंक दिएर आफ्नै विश्वसनियता गुमाएका त छैनन् भन्ने प्रश्न समेत उव्जाएको छ । र यो प्रश्नको जवाफ दिने कामपनि शिक्षक र विद्यालयहरुको हो ।
नयाँ ठाउँमा गएर परीक्षा दिनुपर्दा विद्यार्थीहरु असहज हुने र सोचेजति लेख्न नसक्ने भए होलान्, जति ठूलो कापिको पोको उति ठूलो बोको भन्ने मानसिकता साथ गरिने उत्तर पुस्तिका परिक्षणले सहि मूल्याङ्न भएन होला वा हाम्रो मूल्याङ्कन पद्धतिको विषयमा पुनः विचार गुर्नपर्ने भएको होला ।
तर त्यसो भनेर विद्यालय र शिक्षकहरुले उम्कन मिल्ने अवस्था छैन । किनभने गत वर्षहरुमा पनि परीक्षा सञ्चालन गर्नेपनि शिक्षक नै हुन् र उत्तर पुस्तिका परिक्षण गर्ने पनि शिक्षक नै हुन् । र परीक्षा केन्द्रमा बालमैत्री वातावरण निर्माण गर्ने र इमान्दार पूर्वक उत्तरपुस्तिका परिक्षण गर्ने दायित्वपनि उनीहरुको नै हो ।
अहिलेकै जस्तो नतिजा आगामी वर्षहरुमा पनि आउने गरी शैक्षिक गुणस्तरमा सकारात्मक परिवर्तन भएको होस्, यत्ति कामना !