६६ वर्ष अगाडी सन् १९५८ मा पहिलो पटक बाँदरमा र सन् १९७० मा कंगोका मानिसमा देखापरेका एमपक्स अर्थात मंकीपक्सले यतिबेला विश्वलाई त्रसित बनाएको छ । गत साउनमा अफ्रिकाका कंगो, केन्या, रुवाण्डा, युगान्डालगायत देशमा मंकीपक्स भाइरसको कहर देखा परेसँगै विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको थियो । अफ्रिकी देशबाट अरुतिर पनि फैलिन सक्ने चिन्ता डब्लूएचओलाई थियो ।
यता नेपालमा गत वर्ष अर्थात सन् २०२३ को जुनमा पहिलो पटक एक विदेशी महिलामा देखा परेको एमपक्स संक्रमण विहिबार पहिलो पटक नेपाली नागरिकमा पुष्टी भएसंगै चिन्ता थपिएको छ । अझ संक्रमित तनहुँकै नागरिकको भएको खबरले तनहुँका नागरिकमा चिन्ता सघन भएको छ । साउदी अरबबाट पौष ४ गते बिहीवार नेपाल फर्केका स्थायी ठेगाना तनहुँ भएका ३६ वर्षीय पुरुषमा एमपक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएसंगै तनहुँमा यसको चिन्ता सघन भएको हो । साउदी अरबमै लक्षणहरू देखिएपछि नेपाल फर्केर उपचार गराएका उनको अवस्था सामान्य भएपनि नयाँ रोग भएको कारण यसले आम नागरिकमा त्रास सृजना गरेको छ ।
‘मङ्कीपक्स’ भाइरसबाट सङ्क्रमित मुसा, लोखर्के र बाँदरजस्ता जनावर र सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिबाट यो भाइरस फैलिने गर्दछ । यो मानिसहरूलाई बिफर गराउने समूहकै कम घातक भाइरसको एक प्रजाति हो । यो भाइरस सबैभन्दा पहिले जनावरहरूबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ । मंकीपक्सको संक्रमण हुँदा ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको १ देखि ३ दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने हुन्छ । पछि त्यो डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किन थाल्छ । यसबाहेक टाउको, ढाड र मांसपेसी दुख्ने, शरीरका ग्रन्थिहरू बढ्ने हुन्छ । आँखामा संक्रमण भई दृष्टि नै गुम्ने खतरा पनि हुन्छ । निमोनिया, मस्तिक ज्वर, गर्भ खेर जाने र मृत्यसमेतको जोखिम यसले निम्त्याउँछ ।
मंकीपक्सको संक्रमण पुष्टि भई बिरामी भएका वा मरेका जनावरको सम्पर्कमा नजाने, संक्रमितको सम्पर्कमा आएको व्यक्तिले परीक्षण गर्ने, संक्रमितको सम्पर्कमा आएको सतहस्थान वा कोठा डिटर्जेन्टले निसंक्रमण गर्ने, मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने, फोहोरलाई उचित स्थानमा व्यवस्थापन गर्ने कामबाट मंकीपक्सलाई रोक्न सकिन्छ ।
हामीले पनि यो रोगका बारेमा जानकारी राखेर तथा आवश्यक सचेतना अपनाएर संक्रमणबाट जोगिन
सक्छौं । मंकीपक्सबारे जानकारी राखौं । सचेत बनौं ।
एमपक्सः जानकारी राखौं, सचेत बनौं-सम्पादकीय
previous post