तारा एक थियौ अनन्त नभमा साहित्यले सज्जित
पढ्छन सुन्दर स्वरमा जनहरु ठान्छन खुबै गर्वित ।
कत्ती भुल्न सकिन्न स्लोकहरुमा देखिन्छ भक्ती तहाँ
साँच्चैँ भानु समान भानु तिमिछौ सम्झन्छु मैले यहाँ ।
लमजुङ्गका कवि केशवराज अधिकारीले आदिकवि भानुभक्तलाई यसरी सम्झिए, २०७ औं भानु जयन्तीको अवसरमा ।
हरेक वर्ष जस्तै यो वर्ष पनि असार २९ गते नेपाली भाषी भएका नेपाल बाहेकका देशमा, नेपालका विभिन्न स्थानमा भानुु जयन्ती मनाइयो । जन्मस्थल चुँदी र प्रेरणास्थल घाँसीकुवामा पनि विभिन्न साहित्यिक कार्यक्रम गरेर भानु जयन्ती मनाइयो । हामीलाई थाहा छ, भानुभक्तको जन्म विसं १८७१ साल असार २९ गते चँुदीमा भएको हो । सबै नेपालीलाई माध्यम भाषाको रुपमा नेपाली भाषाले बाँध्ने काम भानुभक्तले गरेका हुन् । संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरेर सबै नेपालीले रामगाथाको रसस्वादन गर्न सक्ने बनाउने उनको योगदान अविष्मरणिय छ ।
कविराज नरनाथ आचार्यको विसं २०१८ सालमा प्रकाशित भानुभक्त र घाँसी शिर्षक कवितामा वर्णन गरिए अनुसार भानुभक्त घरबाट ससुराली जान आउँदा घाँसीसंग भेट भएको थियो । घाँसीले आफुले धेरै धन आर्जन गरेर केही नहुने बरु लोककल्याणको काम गरे कृति वस्ने भनेर कुवा खनेको बताएको र त्यसैबाट प्रेरित भएर भानुभक्तले केही नयाँ गर्नुपर्ने सोच बनाएका थिए । कवि मनका भानुभक्तले तत्काल लेखेः
भरजन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन पनि आज किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
कापी, कलम र मसी समेत पर्याप्त नपाइने समयमा रामायणको अनुवाद तथा अन्य थुप्रै कृतिको रचना गरेर नेपाली भाषीहरुलाई भानुभक्तले ठूलो गुन लगाएका छन् । विभिन्न छन्दमा सजिएका र नेपाली जनजिब्रोमा लोकप्रिय उनका कृतिले नेपाली साहित्य भण्डारलाई भरेको मात्र छैन भगवान रामको गाथा नेपालीको घरघरमा पुगेको छ । जन्म जयन्तीको अवसरमा भानुका कृतिको अमरताको कामना साथै भानुका बारेमा थप खोज र अनुसन्धान गर्ने जाँगर हामीमा आओस् भन्ने २०७ औं भानु जयन्तीको अवसरमा हाम्रो कामना ।
आदिकविको सम्झना-सम्पादकीय
previous post