संयुक्त राष्ट्रसंघले सन् २००७ देखि प्रत्येक २ अक्टोबर अर्थात् भारतका राष्ट्रपिता ‘महात्मा गान्धी’ को जन्मदिनको अवसर पारेर ‘अन्तर्राष्ट्रिय अहिंसा दिवस’ मनाउन थालेको कुरा हामी मध्ये धेरैलाई थाहा छ । अहिंसाको सामान्य अर्थ हो, हिंसा न गर्नु । यसको व्यापक अर्थ हो – कुनै पनि प्राणीलाई तन, मन, कर्म, वचन र वाणीबाट कुनै नोकसान नपु¥याउनु । मनमा कसैको अहित नसोच्नु, कसैलाई कटुवाणी आदिका द्वारा पनि नोकसान न दिनु तथा कर्मबाट पनि कुनै पनि अवस्थामा, कुनै पनि प्राणीको हिंसा नगर्नु नै अहिंसा हो । अझ हिन्दु धर्ममा त अहिंसाको धेरै महत्व छ । अहिंसा परमो धर्मः अहिंसालाई सबैभन्दा ठूलो धर्म भनिएको छ ।
तर केही वर्ष यता नेपालमा भएको हिंसाको राजनीतिकरणले नेपाली समाज हिंसा प्रिय बन्दै गएको भान हुन थालेको छ । अझ राजनैतिक उद्देश्य प्राप्तीका लागि हिंसाको घोषित सुरुवात भएको दिन फागुन १ मा सार्वजनिक विदा दिन थालेसंगै हिंसाले बैधानिकता पाएको छ, जुन असाध्यै दुःखद कुरा हो । अझ टिकापुर नरसंहारका नाइके रेशम चोधरीलाई दिइएको माफी तथा खुँडा प्रहारगरी दिन दहाडै व्यक्तिको हत्या गर्ने योगराज ढकाललाई संविधान दिवसको अवसर पारेर दिइएको माफीले राज्य नै हिंसाको समर्थक र पृष्ठपोषक भएको पुष्टि हुन्छ । यस्तै घटनाक्रमको परिणाम होला, नेपाली समाज विस्तारै हिंसालाई प्रिय बन्दै गएको छ । यसको उदाहरण हो, केही दिन अगाडी कांग्रेस नेता माथि खुकुरी प्रहार हुँदा समाजिक सञ्जालमा प्रकट सकारात्मक प्रतिक्रिया ।
हामी हाम्रो देशमा गौतम बुद्ध जन्मेका हुन् भनेर गर्व गछौं । यस्तो लाग्छ, जसकाप्रति हामी गौरव गरिरहेका छौं, उनी विश्व शान्तिका प्रतिक हुन्, अहिंसाका पुजारी हुन्, भन्ने हामीले भुलेका छौं । शान्तिका अग्रदूत गौतम बुद्धका अुनयायी, प्रसंशक, पुजक हामी नेपाली हिंसाका समर्थक र हिंसामा रमाउने कसरी हुन सक्छौं ? हिंसा र अशान्ति हाम्रो रगत मै छैन । हामी हिंसामा रमाउने हुने सक्दैनौं । तर हाम्रो राजनैतिक नेतृत्व हामीलाई हिंसा प्यारो लाग्ने बनाउने प्रयत्नमा छ । कल्पना गरौं त हिंसा हामीलाई प्यारो लाग्न थाल्यो भने हाम्रो समाज कस्तो होला ? हाम्रा सन्ततीको भविष्य कस्तो होला ? त्यसैले सबै मिलेर हिंसा प्यारो लाग्ने बनाउन खोज्ने राजनैतिक नेतृत्वलाई निरुत्साहित गरौं । हिंसाप्रिय ती नेतालाई हिंसा कुनैपनि समस्याको समाधान होइन र कहिल्यै हुन सक्दैन भन्ने चोटिलो सवक सिकाऔं ।
अहिंसा दिवस र नेपाली समाज-सम्पादकीय
previous post