
२०७४ फागुन ३ मा कुनै दलको संसदिय दलको नेताको त कुरै छोडौं संसद सदस्यको सपथ समेत नखाँदै प्रधानमन्त्रीमा नियुक्त भएका खड्गप्रसाद ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि २०७८ वैशाख २७ मा प्रधानमन्त्री पदबाट मुक्त भएका छन् । ओलीको प्रस्तावको पक्षमा जम्मा ९३ मत खस्यो जबकी उनको दलका मात्र १२१ सभासद
थिए । प्रधानमन्त्री नियुक्ति पछि विश्वासको मत लिँदा उनलाई झण्डै ६६ प्रतिशत सांसदको समर्थन थियो तर त्यो झरेर अहिले सामान्य बहुमतको त कुरै छोडौं मुस्किलले ३४ प्रतिशत सांसदको समर्थन रह्यो । अरु दलका सांसदले त विश्वासको मत दिएनन् नै आफ्नै दलका सांसद समेत मतदान हुने दिन संसदमा उपस्थित भएनन् भने उपस्थित हुनेले पनि पक्षमा मतदान गरेनन् ।
झण्डै दुइतिहाई सांसदको समर्थनबाट प्रधानमन्त्री बनेका ओलीले पदभार ग्रहण गरे देखि नै अहम्को प्रदर्शन गर्न थाले भने छुद्रता उनको विषेशता नै बन्यो । त्यही अहम् र छुद्रताले स्थीरताको आशा सहित सत्ताको साँचो हात पारेका ओलीको सत्ता यात्रा ११ सय ८० दिनका दिन समाप्त भएको छ ।
सत्ता यात्राको तीन वर्ष दुइ महिना र केही दिनको अवधीमा ओली नेतृत्वको सरकारले खासगरी समावेशी समतामुलक प्रतिनिधित्व, संघीयता तथा प्रेस स्वतन्त्रता माथि हमला मात्र गरेन राज्य कब्जा गर्ने अनेक अनैतिक कामहरु ग¥यो । जनप्रतिनिधिको अपमान गर्दै अध्यादेशबाट राज्य चलाउने मात्र होइन दल फुटाउने अध्यादेश ल्याउने, सांसद अपहरण गर्ने, भ्रष्टहरुको खुलेआम संरक्षण गर्ने जस्ता कामहरु ओलीका पालामा भए । आफ्नै दलका नेताहरु तथा अन्य दल समेतको दवावमा कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपाली भूभाग सम्मिलित नक्सा सार्वजनिक गर्ने काम त ओलीले गरे तर सोही नक्सा समेटेर सन्दर्भ समाग्रीको रुपमा प्रकाशित पुस्तक वितरणमा रोक लगाएर राष्ट्रवादको आफ्नो असली रुप समेत ओलीले नेपाली नागरिकलाई देखाए ।
पछिल्लो समयका ओलीको गतिविधि नियाल्ने हो भने दुइतिहाईको अहम्ले उनलाई यति गाँजेको थियो कि मैले जे गर्दापनि हुन्छ भन्ने मानसिकतामा उनी पुगेका थिए । मन्त्रीपरिष्द तथा पार्टी केन्द्रीय समितिमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत नभएको कुरा उठाउने महिला नेतृहरुलाई एनजिओको ट्याउँट्याउँ भनेर खिसिट्युरी गर्थे । प्रादेशिक सरकारहरुलाई केन्द्रीय सरकारको प्रशासनिक एकाई भनेर दम्भवश संघीयताको खिल्लीमात्र उडाएनन् अभिभावकिय भूमिकामा हुनपर्ने राष्ट्रपति संस्थालाई समेत विवादमा ल्याउने काम ओलीले गरे ।
पार्टी भित्रको झगडा मिलाउन नसकेर सार्वभौम संसद विघटन गर्ने काम ओलीको जति अक्षम्य हो संवैधानिक परिषद्को गठन सम्बन्धि प्रावधानमा अध्यादेश मार्फत परिवर्तन गर्नु त्यत्ति नै गैर लोकतान्त्रिक काम थियो । आफुसंग असहमत हरुलाई छुद्र गाली गर्नु ओली र उनका सल्लाहकार लागएत थुप्रै आसेपासेहरुको दैनिकी थियो । त्यस्तै छुद्रहरुलाई ओली छानीछानी लाभका पदहरु दिन्छन् ।
उनको छुद्रता यतिसम्म थियो कि गतवर्ष कोरोनाका कारण भएको बन्दाबन्दीमा हप्तौ हिंडेर आफ्नो थातथलो फर्केका नागरिकलाई नाटकको संज्ञा दिन्थे । एक समय एउटै जेटका दुइ पाइलट भनेर भनिने प्रचण्डलाई नेपाली राजनीतिको समस्या भनेर छुद्र टिप्पणी गरे । अलि अगाडिको उनको कथनलाई सम्झौं, देउवालाई उनले कांग्रेसको अन्तिम प्रधानमन्त्री घोषणा गरिदिए । सहकर्मी, समकक्षी राजनैतिक दल र तिनका नेता प्रतिको यस्तो टिप्पणी सायद संसारमा ओलीमात्र गर्छन् । पदमुक्त हुनु एकदिन अगाडि ओलीले नेपाली जनताका कारण कोरोनोको दोस्रो लहर फैलिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आम नेपालीलाई दुत्कारे । पहिलो कुरा त लोकतन्त्रमा जनतालाई जनार्दन भनेर श्रद्धा गरिन्छ । दोस्रो कुरा कोरोनाको दोस्रो लहर भित्रंदै गर्दा कहिले राम मन्दिर उद्घाटन त कहिले घरहरा उद्घाटन भन्दै हजारौंको भिड जम्मा गर्ने काम अरु कसैले होइन ओली आफैले गरेका थिए । आफ्नो कमजोरी र लापरवाहीको ढाकछोप गर्न नागरिकलाई दुत्कार्ने छुद्रता सायद अरु प्रधानमन्त्रीले गरेनन् र आगामी दिनमा पनि यस्तो छुद्र नेतृत्वको अपेक्षा नेपाली नागरिकले गरेका छैनन् ।
म भ्रष्टाचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भन्ने ओली गोकुल र भानुभक्तहरुको घेराबाट कहिल्यै बाहिर निस्कन सकेनन् । कोरोना संक्रमणको पहिलो लहरका बेला छिमेकी चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा ओम्नी नामको कम्पनी मार्फत व्यापक भ्रष्टाचार भएको र उक्त काण्डमा मन्त्री भानुभक्त ढकाल संलग्न रहेको प्रतिवेदन संसदको सार्वजनिक लेखा समितिले दियो तर अझै ढकाल ओलीकै विश्वास पात्र छन् । ओम्नीले औषधी आयात गर्न भनेर सरकारबाट लगेको भुक्तानी फिर्ता भएको छैन । गोकर्ण फरेष्ट रिसोर्ट तथा पाथीभर नजिकको सयौं रोपनी जग्गा कौडीको भाउमा यती होल्डिङ्सलाई भाडामा दिने र त्यसका विषयमा उठेका प्रश्नको उत्तर दिनुसाटो सरकारको आलोचना गर्नेहरुलाई अरिंगाल बनेर चिल्नु भनेर कार्यकर्तालाई निर्देशन दिने कुराले ओली पतनको जग अझ दहे बनाएको थियो । अहिले आएर हुकाम डिष्ट्रिव्युर्स एण्ड लजिष्टिक प्रालीले कोरोना विरुद्धका खोप आयातमा कमिसन मागेर अवरोध गरेको समाचार बाहिर आउँदा समेत ओली चुप छन् । र आम नागरिकका आशंका छ, कमिसनको चक्करमा सरकारका मान्छेहरु नै संलग्न छन् । यसको जवाफ अवरोध गर्नेहरुलाई कारवाहीको दायरामा ल्याएर दिन सकिन्थ्यो तर ओली त्यसो गरिरहेका
छैनन् ।
ओलीले कत्तिको आत्मसाथ गरेका छन्, तर यो उनको अहम् र छुद्रताको अवसान नै हो । जुन अत्यावश्यक भैसकेको थियो । अहम् र छुद्रता बुढापाकाले भनेझै ……को न्यानो मात्र हो भन्ने कुरा बुझ्न सक्दा राजनेता बन्ने अवसर गुमाएका ओलीका आगामी दिन सार्थक हुनेछन् । नभए युवापुस्तालाई छुद्रता सिकाएर गएको भनेर सदा दागी हुनेछन् । जीवनको उत्तरार्धमा छु, मलाई कुनै कुराको लोभ छैन भन्ने उनले छुद्रहरुको घेराबाट आफुलाई अलग गर्नु अब अनिवार्य छ, आफ्नो र सिङ्गो एमालेको राजनैतिक भविष्यका लागि पनि ।