सुदम एकको शिच जीवदेखि लिएर नीलो ह्वेल जस्ता अजङ्गको भीमकाय रुप भएको विभिन्न थरीका जाती र प्रजातिका करोडौं जीवांशमध्ये मानिस सबैभन्दा बुद्धिमान र विवेकशिल प्राणी हो । वर्तमान समयसम्म आईपुग्दा मानिसले आफ्नो बुद्धि र विवेकको प्रयोगले अनेकौं अविश्वसनीय र अकल्पनीय चमत्कारहरु गरेर देखाएका छन् । व्यवस्थित मानव सभ्यता शुरु हुनुभन्दा पहिलेसम्म अन्य जङ्गली जीवजन्तु जस्तै जङ्गली जीवन बिताएको मानिसले आज संसारभरीमा राज गरिरहेको छ । भोलिको दिनहरुमा संसारमा फेरी पनि आमूल वातावरणीय परिवर्तन भएर मानिसलाई पनि माथ गर्न सक्ने खालको कुनै प्रजातीको विकास हुन पुगेछ भने अलग कुरा नत्र मानिस भविष्यको पनि सर्वश्रेष्ठ, बुद्धिमान र विवेकशिल प्राणी नै रहिरहनेछ ।
मानिस प्राणी जगतको सबैभन्दा बुद्धिमान र विवेकशिल प्राणी हो भन्ने कुरामा दुईमत छैन । यसमा बहस गरीरहनु आवश्यक छैन तर मानव जातिको वर्तमान समयको कतिपय गतिविधि र व्यवहारहरुलाई नियाल्दा मानिस सर्वश्रेष्ठ र विवेकशिल प्राणी हो भन्ने कुरामा पुनः एकपटक विचार गर्नुपर्ने हो कि भन्ने आभास हुन्छ ।
हामीले हाम्रै वरपर समाजमा मानिसहरु क्रमश नैतिकता र मानविय संवेदना र विवेकशिलताबाट च्यूत हुँदै गईरहेको देखेका छौं, महसुस गरेका छौं ।
मानिसले आफ्नो मानवियता, मानविय संवेदना, नैतिकता र विवेकशिलताबाट स्खलित हुँदै गरेको प्रमाणहरु विभिन्न समयमा विभिन्न तरिकाले दिईरहेका छन् । तीनै विभिन्न तरिकामध्ये मानिसले आफ्नो हराउँदै गएको मानविय संवेदना देखाउन प्रयोग गर्ने ठाउँ हो सामाजिक सञ्जाल । आजको समयमा हेर्ने हो भने शिक्षित, सामान्य साक्षर देखि लिएर अनपढ व्यक्तिहरु पनि सामाजिक सञ्जालमा जोडिएका छन् । सामाजिक सञ्जाल एउटा यस्तो ठाउँ हो जहाँ समाजको हरेक क्षेत्र, वर्ग र समुदायको व्यक्तिहरुले सहभागिता जनाउन सक्छन् । समाजको हरेक क्षेत्र र विषयवस्तु माथि बहस पैरवी गर्न सकिने ठाउँ हो सामाजिक सञ्जाल । भौतिक रुपले टाढा रहेर पनि एक अर्कासँग नजिक रहेको अनुभूति दिलाउने माध्यम हो सामाजिक सञ्जाल । समाजको हरेक वर्गको पहुँच रहने र सामाजिक विषयवस्तु माथि छलफल गर्न सकिने भएकोले नै सायद यसलाई सामाजिक सञ्जाल भनिएको होला । यसको उद्देश्य पनि समाजमा परम्परा र सामाजिक मुल्य मान्यताको स्थापनामा मद्दत गर्नु हो । तर के हामीले अहिले प्रयोग गरिरहेको सामाजिक सञ्जाल, सामाजिक सञ्जाल भन्न सुहाउँने छ त ? के हामीले सामाजिक सञ्जाललाई मानव समुदायको नीति नियम, मर्यादा र आचरणको दायरा भित्र राखेका छौं त ? के अहिले सामाजिक सञ्जालमा प्रस्तुत गरिने विषयवस्तु, त्यहाँ प्रयोग गरिने भाषाशैली सामाजिक भन्न सुहाउने खालकोे छ त ? पक्कै पनि सबै विषयवस्तु गलत छैनन् । सामाजिक सञ्जाल प्रयोगकर्ता सबैको भाषाशैली पनि पक्कै खराब छैन । तर कैयौं प्रयोगकर्ताहरु र उनिहरुले प्रस्तुत गर्ने विषयवस्तु यति निम्नस्तरको र घटिया हुन्छन् कि तिनलाई सरसर्ती व्याख्या गर्न पनि गाह्रो हुन्छ । अनि कैयौं विषयवस्तुहरु यस्ता उटपट्ङ र अर्थ न बर्थको हुन्छ कि त्यसको सन्देश के हो भनेर पाठकवर्गले भेउसम्म पनि पाउँदैनन् । यस्तै प्रयोगकर्ताहरुको करणले गर्दा वर्तमान समयमा सामाजिक सञ्जाल असामाजिक बन्दै गईरहेको छ ।
निःसन्देह सामाजिक सञ्जाल आफ्नो विचारलाई सबैको सामु प्रस्तुत गर्न पाउने थलो हो । तर विचार प्रस्तुत गर्ने भन्दैमा जे मन लाग्छ त्यहि लेख्ने जस्तो मन लाग्छ त्यस्तै भाषा प्रयोग गर्ने कुरा त सभ्य मानव समाजको सुचक भित्र पर्दैन कि ? एकथरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरु यस्ता प्रवृत्तिको छन् जो आफ्नो विचार प्रस्तुत गर्ने निउँमा बारम्बार अरुलाई होच्चाईरहन रुचाउँछन् । मानौं एकपटक अरुलाई गाली गरेको स्ट्याटस नराखी उसलाई खाएकै पच्दैन । अझ कोहि कोहि त कम्मर कसेरै कुनै व्यक्ति विशेषको खेदो खन्न लागिपरिरहेका हुन्छन् । यो सबै गरेर उसले पाउने चाहिँ के रहेछ पङ्तिकारले भने भेउ पाएको छैन । अर्काथरी प्रयोगकर्ताहरु हुन्छन् जो सामाजिक सञ्जालमा पनि निर्धक्क रुपले अश्लिल शब्दहरु पोष्ट्याई रहेका हुन्छन् । यति अश्लिल शब्दहरु जो झर्रा नेपाली शब्द अन्तर्गत पर्छन् । जो खुल्लम खुल्ला उच्चारण गर्नु पनि हाम्रो नेपाली समुदायको मुल्य र मान्यता अनुरुप अति नै अशोभनिय हो । यस्ता शब्दहरुको प्रयोग गरेर उसले आफुलाई कसको अगाडी महान साबित गर्न चाहेको त्यो तिनै प्रयोगकर्ताहरुलाई थाहा होला । तर पङ्तिकारको नजरमा चाहिँ यो एउटा असामाजिक क्रियाकलाप नै हो । यस्ता खालका कुराहरु फेसबुकमा अक्सर देख्न पाईन्छ जसले सामाजिक सञ्जाललाई क्रमश असामाजिक बनाउँदै लगेको छ ।
फेसबुक जस्तै अहिलेको मानिसहरुले अत्याधिक रुचाएको अर्को सामाजिक सञ्जाल हो टिकटक । शुरुवाती दिनहरुमा युवापुस्ता माझ लोकप्रिय टिकटक अहिलेको समयमा युवायुवती, महिला पुरुष र बालबालिका सबैमाझ लोकप्रिय छ । टिकटकको माध्यमबाट राम्रो सामाजिक, मानवीय सन्देश दिने भिडियो बनाउनेको जमात पनि छ । आफूभित्र रहेको प्रतिभालाई छोटो समयमा बडो निर्वाधपूर्ण तरिकाले प्रस्तुत गर्ने कलाकारहरु पनि छन् । टिकटक
प्रयोगकर्ता । तर कतिपय प्रयोगकर्ताले प्रस्तुत गर्ने कन्टेन्ट हेर्दा या त लाजले रातोपिरो हुनु पर्दछ । या त उदेक मान्नुको अर्को विकल्प हुँदैन । एउटा दुईवटा उदाहरण यहाँ प्रस्तुत गर्न चाहन्छु । सर्जक र स्रष्टाको अपमान नहोस् भन्ने हेतुले यहाँ गितको बोल प्रस्तुत गरिन । एक पटक संयोगले फेसबुकमा एउटी महिला पात्रको प्रस्तुती आयो । उसको प्रस्तुती भरी उसले आफ्नो हातहरुलाई महिलाको माथिल्लो अंग अर्थात स्तन वरिपरि नै इशारा गर्दै नचाई र अन्तिममा तल्लो अंगतिर इशारा गर्दै भिडियो समाप्त भयो । अर्की एकजना पात्र हुनुहुन्थ्यो । उमेर पचास पचपन्न आसपास हुँदो हो । शरीरको तल्लो भागमा महिलाले लगाउने भित्री बस्त्र मात्रैमा बडो मजाले नाँच्दै हुनुहुन्थ्यो भिडियोमा । पश्चिमी समाजमा यी कुराहरु सामान्य होलान् । तर हाम्रो समाजमा पनि यी कुराहरु सामान्य भैसकेका हुन् र ? अर्को एउटा भिडियोमा भरखर १८÷२० बर्षका युवाहरुको एउटा जमात मदिराले लठ्ठ भएर छाडा, छाडा बोलिरहेका थिए । सामाजिक सञ्जालमा पोष्ट गरिने यस्ता भिडियोहरुले हाम्रो समाजमा के सन्देश दिन्छ ? कस्तो प्रभाव पर्दछ ? सामाजिक सञ्जालसंग जोडिएका बालबालिकाहरुले यसबाट के सिक्ने ?
सामाजिक सञ्जाललाई असामाजिक बनाउन अहंभूमिका खेलेको अर्को क्षेत्र हो यूटुव । आज एउटा क्यामेरा र माइक बोकेको भरमा हरकोही पत्रकार बनीरहेका छन् । सबै युटुवर पक्कै खराब छैनन् । समाजको विषयमा, राष्ट्रिय मुद्दाहरुमा अत्यन्तै सम्बेदनशिल विषयवस्तु उठान गर्ने, आफ्नो लोकसंगित, नेपालको प्रकृतिहरुलाई क्यामेराम कैद गरेर विश्वसामु प्रस्तुत गर्ने युटुवरहरु पनि छन् । जसलाई नमन गर्नै पर्दछ । तर कसैको व्यक्तिगत जीवनको पछाडि खेदो खनेर लाग्ने, भिऊज र लाइककै लागि नानाथरी कन्टेन्ट पेश गर्ने, केबल अनि केबल कमाउनैका लागि मात्र भिडियो बनाउने, भाइरल हुनकै लागि जस्तो सुकै हत्कण्डा पनि अपनाउने यूटुवरहरु पनि छन् । जसको भिडियो हेर्दा कठै बरा भन्नु बाहेक अर्को उपाय हुँदैन । कसैको श्रीमति पोइला गएको, कसैको श्रीमान या श्रीमति रंगेहात समातिएको, कसैको डिभोर्स भएको, के यस्ता भिडियोहरु यूटुवमा राख्नु आवश्यक नै छ
र ? कसैले एक करोड पाए जाउमिन खान्छु भनेकै भरमा, कसैले विलकूल विलकूल मा टोक्ने भनेकै कारणले उसलाई भाईरल बनाउनै पर्दछ र ? यसबाट दर्शकले पाउने के हो ? सिक्ने के हो ? स्वस्थ मनोरञ्जनसम्म पनि छैन । कमाउनकै लागि कसैलाई जुरुक्क बोकेर हिडिदिंदा आफैले संघर्ष आएको सर्जक स्रष्टाहरु कति मर्कामा छन्, अलिकति ख्याल त त्यता पनि गर्ने कि ?
अहिले एक जना भाई पक्राउ परेका छन् । भिऊज पाउनकै लागि उनले एसिड हान्ने धम्की दिएर लुटपाट गरेको प्रयाङ्क भिडियो बनाएर पोष्ट गरे । जुन उसको लागि महंगो पर्ला जस्तो छ । त्यो भिडियोमा ती दिदी डराएकी छिन कि कमजोर मुटु हुनेहरुलाई त्यो अवस्थामा सायद हटयाट्याक आउला !
भिडियो बनाउनकै लागि ति दिदीको पनि सहमतिमा सुट गरिएको भए अलग कुरा । नत्र ति दिदी पनि असाध्यै डराएकी छिन् भिडियोमा । भिउज बटुल्नकै लागि यति साह्रो सम्वेदनहिन कसरी हुन्छन् हँ मान्छेहरु ?
अन्त्यमाः सामाजिक सञ्जाल एउटा खुल्ला प्ल्याट फर्म हो । यहाँ हरकोहीलाई प्रवेश गर्ने अधिकार छ । तर सामाजिक सञ्जालको प्रयोग गर्दै गर्दा यसले हाम्रो सभ्यता, संस्कृति, मूल्य मान्यतामा आँच नआओस भन्ने कुरामा हामी सर्तक हुनै पर्दछ । हामीले पोष्ट गर्ने लेखहरुबाट, स्टाटस्हरुबाट, भिडियोहरुबाट हुन्छ भने अरुले सिकून तर गलत सन्देश नजाओस् ।
हामीले के विर्सनु हुन्न भने हामीले मात्र होइन, हाम्रै बुवाआमा, छोराछोरी भाईबहिनी आदि नजिकका मान्छेले पनि सामाजिक सञ्जाल चलाउँछन् । उनिहरुको लागि भएपनि सामाजिक सञ्जाललाई असामाजिक बन्नबाट रोक्ने
कि ?
असामाजिक बन्दै सामाजिक सञ्जाल
previous post