केहि समय यता सामाजिक सञ्जालको भित्ताहरुमा अलिक फरक किसिमका तस्बिरहरु देखिन थालेका छन् । सायद समयको माग र वर्तमान परिस्थितिको उपजहरु होलान् ति । एउटा आम नागरिकको आँखाले हेर्दा ति तस्बिरहरुले आफैलाई गिज्याईरहेको आभास गराउँछ । कसैले आफैंलाई लोप्पा खुवाईरहेको अनुभूती गराउँछ । कसैले मलाई झुक्काउने प्रयास गरिरहेको छ भन्ने महशुस गराउँछ । कसैले मेरो मस्तिष्कसँग मेरो विवेकसँग आँखमेचोली खेल्ने दाऊ गरिरहेको छ भन्ने ज्ञान दिलाउँछ । कसैले मलाई फेरी पनि झुक्काउने र ठग्ने प्रपञ्च रचिरहेको छ भन्ने याद दिलाउँछ । हो कोहि मलाई फेरी पनि झुक्काउन र ठग्न मरेर लागि परेको छ । मलाई अर्थात् एउटा आमनेपालीलाई, तीन करोड नेपालीलाई झुक्काउन लागिपरेको छ ।
अब पाँच वर्षको लागि नेपालको भविष्य कस्को हातमा सुम्पने भन्ने निर्णायक दिन आउन अब आधी महिना भन्दा ज्यादा समय छैन । सामाजिक सञ्जालमा देखिएका फरक खालका तस्बिरहरु त्यहि सन्दर्भमै देखिएका हुन् । मंसिर चारको खेल आफ्नो पक्षमा पार्न राजनीतिक शक्तिहरु जोड तोडले प्रयास गरिरहेका छन् । सामदाम दण्ड भेद सबैखाले नीतिहरु अपनाईरहेका छन् । सामाजिक सञ्जालको प्रयोग गरेर आफुले समर्थन गरेको राजनीतिक पार्टि र उम्मेदवारलाई जिताउन हर तहरले कसरत गरिरहेका छन् । उम्मेदवारहरु पनि मतदाताको मन जित्न घरघरै पुगिरहेका छन् । तिनै मतदाताहरुको मन जित्नको लागि उम्मेदवारहरुले भोट माग्ने क्रममा खिचिएका, खिचाईएका तस्बिरहरु नै हुन् जसलाई यस आलेखको शुरुवातमा फरक खालको तस्बिर भनेर ईङ्कित गरेको छु ।
सरसर्ती हेर्दा वाह यस्तो पो नेता भन्न मन लाग्ने तर गहिरिएर बुझिल्याउँदा बैराग लाग्ने खालका छन् ति तस्बिरहरु । यहाँ केहि प्रतिनिधि तस्बिरहरुको कुरा गरौं । भोट माग्नको लागि नेताहरु मतदाताको घरघरमा मात्र होइन खेत बारीमा समेत पुगेका छन् । कोहि मतदातासँगै बारीमा झार स्याउला पन्छाउँदै छन्, कोहि खलामा धान चुट्दैछन् । कोहि बाँध कुलो बनाउँदै छन् । ४ वर्ष ३६४ दिन मतदाताहरुको नमस्ते खाएर ड्याम्म जीउ लागेका नेताहरु सावाँ व्याज एकैपटकमा चुक्ता हुने नमस्ते टक्राउँदै छन् । अरु समयमा आफ्नो सिमित आसेपासे कार्यकर्तालाई भन्दा अरुलाई समय दिन नसक्नेहरु अहिले घर घरै गएर मुसुक्क मुस्कुराई रहेका छन् । एक दिन एकमुठा धान झाँटेको फोटो खिचाएर, एक अँगालो झार सोहरेको फोटो खिचेर, कोट पाईन्टमै कुटो कोदालो समाएर जनताको माझमा भिजेको जनताको पिरमार्का बुझ्ने जनप्रिय नेता बन्ने प्रयास गर्दैछन् । वा रे वा नौटङ्की । सायद यी नेताहरु राजनीतिमा नलागेर कलाकारिताको क्षेत्रतर्फ लागेको भए अहिलेको नाम चलेका एक से एक कलाकारलाई पनि पछि पार्थे होला ।
अहिले चुनावको बेलामा घर छाडेर खेतबारी मै पुग्न सक्ने नेताहरु किसानले मल नपाएर रोईरहँदा कुन चाही महलको दुलोमा मुसा जस्तो लुकि रहेका थिए होलान् हँ ? अहिले एक गाग्रो पानी बोकेर भोट तान्ने प्रयास गर्नेहरुले पाँच बर्षसम्म किन जनताको घरघरमा धारो पु¥याउन सकेनन् हँ ? कोट लगाएर कुटो समाएर फोटो खिचाउनेहरुले किन कृषिलाई आधुनिकीकरण गराउने तर्फ सोंचेनन् ? चुनावको बेला जनताको पीर मार्का बुझ्ने नेता पल्टिन खोज्नेहरु किसानको आलु बन्दा काउली, दुध, उखुको मुल्य नपाएर मर्नु न बाँच्नु हुँदा सडकमै तरकारी फ्याकेर हिड्नु पर्दा, भारतीय तरकारीले सर्लक्क बजार ढाक्दा कुन चाही तारे होटेलको भिआइपी कोठामा बसेर कुखुराको सपेटा लुच्छ्दै थिए हँ ? अनि यस्ता खोक्रे र बोक्रे नेताहरुले चुनावको बेलामा नानाभाँती नौटंकी देखाउँदा सभ्य हुन्छु भन्दा भन्दै पनि रिस उठ्दो रहेछ ।
आसन्न चुनावलाई मध्ये नजर गरेर राजनीतिक पार्टीहरुले घोषणा पत्र निकाली सके । तिनीहरुको घोषणा पत्र पढ्दा यस्तो लाग्छ, जुन पार्टीले जिते पनि अबको पाँच बर्षमा नेपालले संसारको विकशित भनिएका देशहरुलाई पनि उछिन्ने छ । नेपालको कायापलट हुनेछ । विकासको सुचाँङ्कमा नेपालले चिन अमेरिका र जापानलाई पनि पछाडि पार्नेछ । तर विडम्बना घोषण पत्रमा उल्लेख गरिएका ती मिठा शब्दहरु केबल मतदातालाई दिग्भ्रमित गराउने चालहरु मात्र हुन् ।
नेपालीको जीवनस्तर उकास्ने, आयआर्जन बढाउने कुरा गर्दछन् । कसरी उकासिन्छ जीवनस्तर ? कसरी बढ्छ आयआर्जन ? रेमिट्यान्सको भरमा जीवन स्तर उकासिन्छ ? विस्तृत अध्ययन र कार्ययोजना खाका कसैसंग छैन । तर सजिलै जीवनस्तर उकासिन्छ भन्दियो, भोट तान्यो चुनाव जित्यो खेल खतम । नयाँ नयाँ उद्योग धन्दा कलकारखाना खोलिने छन् रे ! भएका जति बेचेर खायौ, अब कसरी खोल्छौ नयाँँ ? नयाँ खोल्छु भनेर गफ छाँट्नुको सट्टा बन्द अवस्थामा रहेका, अलपत्र परेका कलकारखानाहरुलाई ठीक स्थानमा ल्याउँछु सम्म भनेपनि पत्याउन हुन्थ्यो । थाइल्याण्डको बजारसम्म सामान निर्यात गर्ने गोरखकाली टायर उद्योग खण्डहर बनेर बसेको छ । कुनै समयमा भारतमा कागज निर्यात गथ्र्यो भृकुटी कागज कार्खानाले । अहिले कागजको लागि नेपाल लगभग पूर्ण रुपमा भारतसंग निर्भर छ । हेटौडा कपडा कार्खानाको हालत उस्तै छ । कुनै बेला विदेशमा सामान निर्यात गर्ने क्षमता दजनौं कलकार्खानाहरु अलपत्र अवस्थामा छन् । कसले पु¥यायो यो अवस्थामा ? यिनै राजनीतिक पार्टी भनिने जनताको रगत उडुसहरुले होइन ? कमसेकम आफ्नो गल्ति सुधार्न भएपनि यिनीहरुलाई सञ्चालनमा ल्याएर देखाउन पहिले । अनि पत्याउँला । नयाँ उद्योग खुल्ने तिम्रा कुराहरु चाहिएको छैन हामीलाई अहिले तिम्रा पानी जहाज र मेट्रो रेलहरु । सक्छौ भने भएका सडकहरु सुधार, हुम्ला जुम्ला जाजरकोट र डोल्पाका कुना कुना सडक पु¥याउ ताकी कुनै पनि सुत्केरीले समयमै अस्पताल पुग्न नपाएर ज्यान गुमाउनु नपरोस् ।
राजनैतिक दलका नेताहरुलाई गाली गर्नु भनेको मुखको तितो फाल्नु मात्रै हो । एक छिन आक्रोस व्यक्त गरेर मन शान्त पार्नु मात्र हो । यदि हामी साँच्चै नै परिवर्तन चाहन्छौं भने तीन करोड नेपाली मतदाता सचेत हुने बेला आएको छ । हरेक मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्दा पूर्ण रुपमा आफ्नो विवेक प्रयोग गर्ने बेला आएको छ । त्यसकारण यसपटक हाम्रोलाई होइन, राम्रोलाई छान्नु पर्ने भएको छ । बारम्बार मौका पाएर पनि सिन्को नभाँचेकाहरुलाई विदाई गर्न पर्ने भएको छ । यदि राम्रो उम्मेदवार छ भने जुनसुकै पार्टीको भएपनि हात नकाइ छाप लगाउनु पर्ने भएको छ । असक्षम छ भने आफैले विश्वास गरेको पार्टीको उम्मेदवार भएपनि अहिलेलाई मार्फ गर्नुहोला भन्नु पर्ने भएको छ । किनभने पार्टी भन्दा ठूलो देश हो । अब १६ दिनपछि नेपाली मतदाताले कस्तनो विवेकको प्रयोग गर्छन् हेरौं । विवेकको सहि प्रयोग भएछ भने अबको पाँच बर्ष पछि यस पटक जस्तै फरक तस्विरहरु देख्न नपर्ला ? अन्यथा के नै गर्न पो सकियो र ! जनता जनार्जनको जय ।
अलिकति आक्रोस
previous post