इतिहासमा साना साना बाईसे चौवीसे राज्यमा विभाजित नेपाल आज विश्वमानचित्रमा एक लाख ४७ हजार एक सय एकासी बर्ग कि.मि. क्षेत्रफल ओगटेको एउटा छुट्टै स्वतन्त्र र सार्भभौम राज्यको रुपमा स्थापित छ । श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहले चाहे नेपाल एकिकरण गर्ने हेतुले होस् या चाहे आफ्नो गोरखा राज्य विस्तार गर्ने हेतुले, उनले शुरु गरेको कदम र उनि पछिका उनका बंशको प्रयासले गर्दा नै आजको नेपाल सम्भव भएको हो । यसमा दुईमत छैन । नेपालको इतिहासको सामान्य मात्र जानकारी हुने हरकोहीलाई थाहा भएको कुरा हो कि विभिन्न कालखण्डमा नेपालको अभिभावकत्व विभिन्न किसिमको शासनसत्ताले लिँदैलिदै आजको मितिसम्म आईपुगेको हो । समयको चक्र गतीमा नेपालको शासनसत्ता कहिले जहानिया राणा शासनले सम्हाल्यो । कहिले शाहबंशी राजतन्त्रले । आज नेपालको शासनसत्ता संघीय लोकतान्त्रिक गणतन्त्रले सम्हाली रहेको छ ।
कुनै पनि शासन व्यवस्था आफैमा पूर्ण रुपमा सही वा पूर्ण रुपमा गलत हुँदैन । हरकुनै शासन व्यवस्थाको सवल पक्ष पनि हुन्छन् र दुर्बल पक्ष पनि । नागरिकको आवश्यकता र प्राथमिकतालाई महत्व दिन नसक्दा एउटा शासन व्यवस्थाको अन्त्य हुन्छ र अर्को व्यवस्था शुरु हुन्छ । हिजो नेपालको जहानीया राणा शासनमा पनि त्यही भएको थियो र शाहबंशीय राजतन्त्रमा पनि । एउटा निश्चित कालखण्डसम्म नेपालको लागि त्यही शासन व्यवस्था नै ठीक थियो सायद, तर समयको गतिसंगै नागरिकको चेतनास्तर बृद्धि भयो । ती शासन व्यवस्थाले नागरिकको अधिकार र आवश्यकतालाई प्रयाप्त मात्रामा सम्बोधन गर्न सकेनन् र ती पतन भए । फलतः हामीले प्राप्त ग¥यौं विश्वकै सर्वोत्कृष्ठ शासन पद्धति–‘गणतान्त्रिक शासन पद्धति’ । नेपालको इतिहासमा राणाहरुले १०४ बर्षसम्म जहानीया हुकुमत चलाए भने शाहवंशीहरुले २४० बर्षसम्म शासन गरे ।
१०४ बर्षसम्म, एक शताब्दी जनतालाई चित्त बुझाएर हुन्छ कि दवाएर हुन्छ त्यतिबेलाको कालखण्ड र इतिहास अनुसार राणाहरुले नेपालमा शासन गर्न सफल भए । एक बंशीय राजतन्त्रबाट वाक्क हुन हामीलाई दुई सय चालीस बर्ष लाग्यो र बल्ल हामीले प्राप्त ग¥यौं विश्वकै सर्वोत्कृष्ठ गणतान्त्रिक शासन पद्धति । हाम्रो गणतान्त्रिक शासन पद्धति अहिले पनि बाल्यावस्थामै छ । यो बल्ल आफ्नो दोस्रो दशकसम्म छ । विश्वको सर्वोत्कृष्ठ प्राणी मानिस पनि अधिकांशतः बल्यावस्थामा चञ्चल अपरिपक्क हुन्छ । उसमा बालहठ र जिद्धिपना हुन्छ । उसको लागि आफू केवल स्वयम मात्र सर्वोश्रेष्ठ हुन्छ । त्यसैले होला हाम्रो शासन पद्धति पनि अपरिपक्व छ । यो बाल्यवस्थामै छ । किनभने हाम्रो शासकहरुमा बालहठ र जिद्धीपना छ । उनिहरुको लागि आफूहरु स्वयम् उनिहरु मात्र सर्वश्रेष्ठ हुन् । आज सरकारमा रहेका हाम्रा शासकहरुलाई आफ्नो अमूल्यमत दिएर त्यहाँसम्म पु¥याउने एउटा नागरिक म पनि हूँ । तर आज तिनको काम गराई र गैरजिम्मेवारीपना देख्दा आफैसंग बैराग लागेर आउँदछ । ‘हा…य कस्तो अभिभावक छानेछु मैले ।’ क्रुर जहानीया राणा शासन पनि एक शताब्दी चल्यो नेपालमा । एकवंशीय राजतन्त्र पनि साढे दुई शताब्दी चल्यो । तर डर लाग्छ कतै हाम्रा अभिभावक भनाउँदाहरुको चालामालाले गर्दा विश्वकै सर्वोत्कृष्ठ शासन पद्धतिले बाल्यकालमै पतन हुनु पर्ने त होइन हाम्रो नेपालमा ?
अहिले त्यस्तो कमै होला ? तर पहिले पहिले नेपाली समाजमा एउटा चलन व्याप्त थियो, घरघरमा व्याप्त थियो । त्यो के भने घरगृहीणीले खाना बनाउँदा घर मुलीलाई सोध्ने चलन– तरकारी के बनाउने ? कस्तो बनाउने ? भनेर । मानौं कि घरमुलीलाई तरकारीमा पिरो रुच्छ भने तरकारी पिरो बनाउने । त्यो घरको अरु सदस्य र बालबच्चालाई पिरो मन परोस नपरोस् त्यसले फरक पर्दैनथ्यो, घरमुलीलाई पिरो मन पर्दछ बस् । खाना पनि पहिले घरमुलीले खाने चलन थियो । राम्रो र मिठो मसिनो छानेर । बचेको अरुलाई । घरको अरु सदस्यलाई पुग्यो ? पुगेन ? के भयो ? त्यसले फरक पर्दैनथ्यो । घरमुलीको पेट टन्न भरियो, बस सबै सदस्यले त्यसैमा चित्त बुझाउनु पर्ने । अहिले नेपालको शासन पद्धति पनि ठ्याक्कै त्यस्तै छ । राज्यको शासनसत्ता सम्हालेका मुलीलाई पुगेपछि भयो । नागरिकहरुको पिरमर्का, गाह्रो साँग्रो के छ ? राज्यमा के को खाँचो छ ? मतलब छैन । बस सत्तामा आसिन मुलीहरुले सोंचे अनुरुप हुनुप¥यो । उनिहरुको आवश्यकता पुरा हुनुप¥यो । उनिहरुलाई पुगेपछि सबैलाई पुगे सरह भयो । चाहे नागरिकसंग विहान बेलुकाको छाक टार्न सक्ने अवस्था छैन । चाहे नागरिकसंग बस भाडा नभएर बीसौं किलोमिटर पैदल हिड्न परोस् । उनिहरुले करोडौंको गाडि चढेको हेरेर÷सुनेरै चित्त बुझाउनु पर्ने । चाहे नागरिकको शिरमा छतै नहोस्, तर उनिहरुलाई पाउ राख्न करोडौंको गलैचा चाहियो । चाहे नागरिक सिटामोल खान नपाएर मर्नै किन नपरोस् । उनिहरुलाई आफ्नै निवासमा जीमखाना चाहियो । ती व्यक्तिहरु जस्ले आफ्नो पैसा खर्चेर जीम खाना सायदै कहिल्यै पुगेको थिए होला ।
मेरो आलेखहरुमा सरकारप्रतिको गुनासो र असन्तुष्टि झल्कि रहन्छ । तर म सरकार विरोधी होइन । सरकारको सही निर्णय र कदममा समर्थन र साथ दिन सदैव तयार छु । तर एउटा स्वतन्त्र नागरिकको हैसियतले सरकारको निर्णय र कार्यप्रति असन्तुष्टि जनाउने र गुनासो पोख्ने हक पनि मसंग छ । गुनासो नगरौं भन्छु तर बेलाबेलामा आफैले छानेको सरकारले उट्पट्याङ हरकत गरिरहन्छ र गुनासो गर्न बाद्य हुन्छु । अहिलेको राष्ट्रपति निवासको गलैचा फेर्ने र मन्त्री निवासमा जीम खाना बनाउने सन्दर्भलाई नै नियालौं न । पुरै राज्य कोरोना महामारीसंग लडि रहेको अवस्थामा राष्ट्रिय अर्थ व्यवस्थामा यति ठूलो संकट आईपरेको अवस्थामा सीतल निवासमा करोडौंको गलैजा फेर्ने र मन्त्री निवास जहाँ लगभग करोडको जीमखाना बनाउने कुरा हाम्रो जस्तो अल्पविकसित राज्यमा कसरी सान्दर्भिक हुन्छ ? हो, राष्ट्रपति प्रथम व्यक्ति हो । राष्ट्रपतिको कार्यालयको गणतान्त्रिक नेपालमा आफ्नै महत्व छ । सीतल निवास समग्र गणतान्त्रिक नेपालको अभिभावक हो । तर के सीतल निवासमा जानु भनेको केबल विलासीताको लागि मात्र हो ? कि जनताको सेवाको लागि ? हो राष्ट्रपति कार्यालयको आफ्नै उच्चस्थान हुन्छ, सम्मान हुन्छ । त्यसको उचित व्यवस्थापन गरिनु पर्दछ । तर सीतल निवासबाट विमानस्थल जान अरबौंको हेलीकप्टर चाहिने, करोडौंको गाडि फेरीरहनु पर्ने, रातो कार्पेट नभै हिड्ने नहुने ? गलैचा मात्र करोडौंको हाल्नु पर्ने । यो कस्तो अभिभावकत्व हो महामहिमहरुको ?
गलैंचा फेर्ने र जीम खाना बनाउने कुरा गतबर्षकै बजेटमा समावेशमा भएको हुँदा तर्कवितर्क गर्न आवश्यक नरहेको बताई रहेका छन् कोही माननीयहरुले । त्यसो भए तर्क नगरौंला । तर माननीय ज्यूहरुलाई एउटा जिज्ञासा के राख्न चाहन्छु भने गतबर्षकै बजेट भएपनि यो विषम परिस्थितिमा गलैचा फेर्न पर्ने, जीम खाना बनाउनै पर्ने त्यस्तो बाद्यता केही छ ? सरकारले कोरोना भाईरससंग लड्न राहतकोष स्थापना गरिरहँदा त्यो रकम त्यही समावेश गर्न सकिदैन । यसो गर्दा सरकारको र सम्माननीय राष्ट्रपतिको कार्यालयको पनि शीर उचो हुने थियो । ‘कोरोना भाईरसको कारण अर्थतन्त्रमा ह्रास भएको भन्दै सीमित संख्यामा रहेका एकल महिला र अपाङ्गको मासिक दुई हजार भत्ता कटौती गर्ने सरकारले कुन नैतिककताले गतबर्षको बजेट भन्दै गलैचा फेर्न लागेको र कस्लाई रिझाउन जीम खाना बनाउन लागेको हो ? के यही हो गणतान्त्रिक नेपाल सरकारले निभाउने अभिभावकत्व ?’
हाम्रो गाउँभन्दा पल्लो गाउँमा एकजना किसान दाजु हुनुहुन्छ । अत्यन्तै सरल र फरासिलो । जहान परिवारलाई असाध्यै मायाँ गर्ने । हुँदा र छँदा सम्म जहान परिवारको मुखमा मिठो मसिनो परोस् भन्ने चाहने । सालाना लत्ताकपडा फेर्दि रहने तर आफ्नो लागि भने एउटा कमिज पनि दुई तीन बर्षमा मात्रै किन्ने । पोहोर भदौ ताका भेट्दा दाई निक्कै प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । सुनाउँदै हुनुहुन्थ्यो, मज्जा मज्जाका तीनवटा खसी बेचे भाई । दशैंलाई एउटा बोको राखेको छु । यसपालि दशैमा चाहि भाउजुलाई पनि कानमा थपिदिनु प¥यो । लत्ताकपडा गरेर बचेकोले यसपालि चाहि आफ्नो नि रंग फेर्नु पर्ला । पछि भेट्दा थाहा भयो, आफ्नो रंग फेर्ने दाईको सपना पोहोर पनि अधुरै भएछ । दशैंको लागि राखेको बोको खै के भएर मरेछ । दाईले आफ्नो भागको खर्च जहान परिवारलाई मिठो मसिनो ख्वाउनमै खर्चेछन् ।
अभिभावकत्व
previous post