नेपाल भारत सीमा विवाद समय समयमा उठि रहने कुरा हो । अहिले पनि सीमा विवादको कुरा फेरी बल्झिएको छ । अहिले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको सीमा विवादको कुरा एक हिसाबले युद्धस्तरमै पुगेको छ । नेपाली र भारतीय संञ्चार माध्यमहरुमा विवादित क्षेत्र आफ्नो भएको दावी गर्ने र एकले अर्कोलाई दोषरोपण गर्ने लहर नै चलेको छ । सामाजिक सञ्जालमा आफ्नो राष्ट्रभक्ति देखाउने र एक देशको नागरिकले अर्को देशको नागरिकलाई हेप्ने प्रबृत्ति पनि देखिएको छ । चाहे तरिका सभ्य हो या गलत । कालापानी क्षेत्रको सीमा विवादले विगतमा भन्दा यस पटक उग्र रुप लिएको छ । सीमा विवादको कुरालाई लिएर राष्ट्रिय स्तरका नेता र कलाकारहरुको पनि आफ्नो आफ्नो धारणहरु आई रहेको छ । ती धारणाहरु प्रति समर्थन र आलोचना पनि भैरहेका छन् । तर कतिपय आलोचकहरुले प्रयोग गरेको भाषामा भने सुधार गर्नै पर्ने देखिन्छ । खैर कालापानी क्षेत्रको नेपाल भारत सीमा विवादले अहिले जुन रुप लिएको छ, त्यसलाई कुटनीतिक तरिकाले न्यायोचित अन्त्य गर्न सक्दा नै दुबै देशको लागि हितकर छ ।
विगतदेखि नै नेपाल भारतबाट प्रभावित छ । चाहे त्यो राजनीतिक रुपमा होस्, चाहे साँस्कृतिक रुपमा र चाहे आर्थिक रुपमा । सुन्दा नमिठो लाग्दछ तर यो हाम्रो तितो यथार्थ हो कि हामीले पनि कहिँ न कहिँ कुनै न कुनै रुपले भारतीय प्रभावलाई स्वीकार गरेका छौं । हामी माथि हस्तक्षेप गर्ने वातावरण स्वयम हामीले नै सिर्जना गरिदिएका छौं र आफू माथिको हस्तक्षेपलाई समर्थन गरिदिएका छौं । यसैले भारतले हामीलाई बेलाबेलामा हेपी रहन्छ र मौका मिल्ना साथ हाम्रो आफ्नै कुराहरुमा खुट्टा अल्झाई रहन्छ ।
आफ्नो देशको भूमि सहजै अरु कसैलाई दिनु जुन सुकै राष्ट्रको लागि पनि गाह्रो कुरा हो । अझ यदि त्यो क्षेत्र व्यापारिक र कुटनीतिक दृष्टिकोणले महत्वपूर्ण छ भने समस्या झनै जटिल हुन्छ । अहिले विवादित कालापानी क्षेत्रको सम्बन्धमा पनि त्यही कुरा लागू हुन्छ । भारतको लागि लिपुलेक क्षेत्रले व्यापारिक र कुटनीतिक हिसाबमा त्यो महत्व राख्दछ । तसर्थ हामीले उक्त क्षेत्र नेपालको भूभाग हो भनेर दावी गर्दैमा यति सहजै नेपाललाई उक्त क्षेत्र सुम्पन ाभरत तयार छैन । अझ त्यो परिस्थितिमा जहाँ बर्षौदेखि उक्त क्षेत्रलाई भारतले उपभोग गरिरहेको छ । र हामी मौन बसी रहेका छौं । यसैले ती क्षेत्रहरु प्राप्त गर्न नेपाललाई त्यति सजिलो भने छैन । सीमा विवादको यो विषय १÷४ वटा चर्का भाषण सामाजिक सञ्जाल र सञ्चार माध्यममा गरिने २÷४ वटा बहसले पार लाग्ने विषय होइन । त्यसको लागि हामीसंग प्रयाप्त र ठोस प्रमाण हुनु आवश्यक छ ताकि भोलि अन्तरष्ट्रिय समुदायसंग सहयोग माग्नु परेको अवस्थामा सजिलो होस र हामीसंग तर्क गर्ने आधारहरु छन् । हामीले लिपुलेक कालापानी र लिम्पियाधुराको विवादित क्षेत्रर्ला आफ्नो भनेर दावी त ग¥यौं । तर महत्वपूर्ण काम अझै बाँकी छ । त्यो के भने प्रयाप्त प्रमाणहरुको संकलन गर्नु र आफ्नो दावीमा अडिक रहने ।
हाम्रो देश नेपाल अल्प विकसित राष्ट्र हो । भौगोलिक रुपले सानो छ र विकसित छैन भन्दैमा अरुको थिचो मिचो सहेर बस्न सकिदैन र सहेर बस्ने कुरा पनि आउँदैन । तर यदि हामी आफ्नो आन्तरिक मामलाबाट माथि उठेर अरु कुनै देशसंग बहस गर्दै छौं र अब उक्त विषय सीमा विवादको हो भने कुन तरिकाबाट अगाडि बढ्दा आफूलाई हानी नोक्सानी हुँदैन भन्ने तर्फ अत्यन्तै सचेत हरनु पर्दछ । इतिहासमा बीर गोर्खालीको नामले चिनीए पनि यतिखेर भारतसंग युद्ध गर्न सक्ने क्षमता नेपालसंग छैन । यो हाम्रो यथार्थ हो । सशस्त्र युद्धबाट ती क्षेत्र प्राप्त गर्नु अहिलेको अवस्थामा नेपालको लागि कल्पनाको कुरा मात्र हो र युद्ध आफैमा कुनै पनि समस्या समाधानको उत्तम विकल्प पनि होइन । सीमा विवादकै विषयलाई लिएर दिनदिनै नयाँ नयाँ घटनाहरु घटि रहेका छन् । एक देशको ह्याकरले अर्को देशको ववेसार्य ह्याक गर्ने देखि लिएर नेपाली नायीकाहरुको तस्विर राखी अस्लिल चलचित्र निर्माण गरिएका कुराहरुसम्म मिडियामा आई रहेका छन् । त्यसले भारतलाई भन्दा बढी नेपाललाई नै घाटा हुन्छ । त्यो तरिकाले हामी भारतलाई पराजित गर्न सक्दैनौं । किनभने प्रविधिको विकासमा भारत हामी भन्दा धेरै अगाडि छ । तसर्थ त्यस्तो वेतुकको हर्कतले भारतसंगको सीमा समस्या समाधान हुने होइन बरु झन जटिल बन्न सक्दछ । आवेशमा आएर पहरामा मुड्की बजार्दा पहरालाई केही हुँदैन आफैलाई चोट लाग्ने हो । यसैले पहाड फोर्नु छ भने मुड्की बजारेर हुँदैन । छिनो चलाउन जान्नु पर्दछ । भारतसंगको सीमा विवादको समस्या समाधान गर्ने सबैभन्दा उत्तम विकल्प भनेको यथेष्ट प्रमाणहरु सहित भारतसंग कुटनीतिक वार्ता गर्नुनै हो ।
छिमेकीसंगको सीमा विवाद जुनसुकै राष्ट्रको लागि पनि ठूलो समस्या हो । चाहे त्यो विकसित राष्ट्र होस् या चाहे गरिब राष्ट्र । अझ हाम्रो जस्तो गरीब राष्ट्रहरुको लागि त सीमा विवादको कुरा झन ठूलो समस्या हो । भोलि आवश्यकता परे भारतले सीमाको लागि खर्बौ खर्ब खर्च गर्न सक्दछ । हामी सक्छौं कि सक्दैनौं । भोलि भारतले चाल्ने प्रत्येक चाललाई माथ दिन सक्ने क्षमता र तयारी हामीसंग छ कि छैन ? भोलि भारतको तर्कमा प्रति तर्क गर्ने आधार हामीसंग छ कि छैन ? सीमाको समस्या समाधानको लागि हामी कुन हदसम्म जान सक्दछौ । हाम्रो चरणबद्ध योजनाहरु के के हुन सक्दछन् । समय छँदै सरकारले यस तर्फ प्रयाप्त गृहकार्य गर्नु पर्दछ ।
आफ्नो राष्ट्रियता र भूमिप्रति अरुले दावा गर्दा असैह्य हुन्छ नै तर सामाजिक सञ्जालमा स्टास पोष्ट गर्न र नारावाजी गर्न जस्तो सजिलो हुँदैन सीमाको समस्या समाधान गर्न । हामीले स्वीकार्नु पर्दछ, हाम्रो जस्तो गरीब देशले सीमा विवादको कुरालाई सँधैभरि बोकेर हिड्न पनि सक्दैन । तसर्थ एक पटक सीमाको कुरालाई जसरी पनि टुंगो लगाउँ । यदि ती विवादित भूमि नेपालको हो भन्ने प्रसस्त प्रमाण हामीसंग छ भने हामी किन डराई रहेका छौं ? किन हच्कि रहेका छौं । र किन हामी मौन बस्यौं यतिका बर्षसम्म । निर्धक्क भएर अगाडि बढौं । कहाँ जान पर्ने हो जाउँ । यदि होइन, हामीसंग प्रयाप्त प्रमाण पनि छैन । र विवादित भूमिलाई भारतबाट छुट्टयाएर नेपालसंग जोड्ने सामस्थ्य छैन भने भारतलाई नै छोडि दिउँ । समय समयमा सीमाको किचलो निकालेर राष्ट्रियतासंग राजनीति नगरौं । नेपाली राजनीतिको एउटा साझा चलन छ, एक छिन जुरुक जुरुक हुने र कसैले ढाँडमा थपथपाई दिएपछि शान्त हुने । सबै राजनीतिक पार्टी यो कुप्रथाबाट ग्रसित छन् । कमसेकम यस पटकको सीमा विवाद त्यस्तो नहोस् । हामी जसरी अगाडि बढेका छौं , एउटा टुंगोमा पुगेर मात्र फर्कौ । कि त्यो जमिन हाम्रो हो, कि भारतै होस् । हाम्रो जमिन हो भन्दै राष्ट्रियताको नारा घन्काउने अनि केही गर्न नसकेर लुरुक्क परेर हात झिक्ने । यो परिपाटीबाट हामी ग्रसित छौं । कमसेकम यस पटक त्यो नहोस् । सीमा विवादको कुराले एउटा निचोड पाओस् ।
म पनि नेपाली हूँ । मलाई पनि नेपालको मायाँ लाग्दछ । नेपालको रत्तिभर भूमि पनि अरुलाई दिन म पनि तयार छैन । तर भूमि पाउनु मात्र सबै कुरा होइन । गलत अर्थ नलागोस् तर विवादित भूमि नेपालले नपाएर पनि नेपाललाई खासै फरक नपर्ला ! त्यो विवाददित क्षेत्र छोडेर बचेको नेपाललाई मात्र विकसित समृद्ध बनाउन सक्ने हो भने हाम्रो लागि सबैभन्दा ठूलो उपलब्धि त्यही हुनेछ । सीमाको विवादले यस पटक एउटा समाधान पाओस् । हामी र हाम्रो राष्ट्रियता सदैव सुरक्षित होस् । जय नेपाल ।
अब टुंगो लगाउँ
previous post