एउटा मात्र कम्बल र एउटै लैनो भैँसी दाजुभाइ बीचमा बाँडफाँड गर्नुपर्ने भयो । दाजुले आफुलाई तातेताते गर्दै हिंड्न सिकाएको, कखरा सिकाएको अनि कक्षाका अरु साथीको हेलाँ होँचोबाट जोगाएको सम्झियो र भाइले भन्यो, दाजु हजुर जसरी बाँड्नु हुन्छ मलाई त्यो मन्जुर छ । तब दाजुले कम्बल दिनभर भाइलाई दिने र रातभर आफुले राख्ने तथा दुहुनो भैँसीको अगाडीको भाग भाइलाई र पछिल्लो भाग आफुले लिनेगरी भाग लगायो ।
केही दिन अवस्था ठिकठाक नै भयो । तर जाडो लागेसंगै भाइलाई ओढ्ने कुराको समस्या भयो । उसले दाजुसंग कुरा पनि राख्यो तर दाजुले एक पटक भएको निर्णयमा फेरबदल नहुने बतायो । एकदिन उज्यालो भएपछि दाजुले कम्बल उसलाई दियो, उसले त्यो कम्बल पानीमा लगेर भिजायो र साँझ दाजुलाई भिजेको कम्बल दियो । कम्बल किन भिजाएको भन्ने दाजुको प्रश्नमा उसको उत्तर थियो, दिनभर त कम्बल मेरो हो । त्यतिबेला कम्बललाई भिजाउँ, सुकाउँ, बाहिर राखुँ वा जतनले पट्याएर राखँु मेरो मर्जी यसमा हजुरले प्रश्न गर्न पाउनु हुन्न । एकछिनपछि दाजु भैँसी दुहुन बस्यो । भाइ सानो लौरी लिएर भैँसीको अगाडी गयो र घरी बायाँबाट घरी दायाँबाट हिर्काउने झै गरी ताक्यो । भैँसी चल्न थाल्यो । दाइले भैँसी दुहुने अवस्था भएन । किन यस्तो गरेको भन्ने दाजुको प्रश्नको जवाफमा उसले भन्यो, आफ्नो अंशको भैसीलाई म जेसुकै गरौं हजुरलाई किन चासो ?
कथाको बीट मार्दै गर्दा मैले दोस्रो जनआन्दोलनको समयमा दलका नेताहरुले गर्ने गरेका बाचाहरु सम्झेको छु । राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर नागरिक अधिकारको हनन् गरेका भएपनि दलहरुले उनको शासन विरुद्ध गर्न लागेको आन्दोलनमा जनसहभागिता जुटिरहेको थिएन् । तीस वर्षे पञ्चायती व्यवस्थाले केही गर्न सकेन भनेर उक्त व्यवस्था विरुद्ध आन्दोलन गरेका अनि व्यवस्था परिवर्तनसंगै डाडुपन्यु हातमा लिएका नेताहरुले जनअपेक्षा अुनसार काम सकेनन् । यसले उनीहरुका प्रति आम मानिसमा अविश्वास बढ्दै थियो । कहिलेकाहीँ त्यो अविश्वास घृणाको तहमा समेत ओर्लने गरेको थियो ।
तब नेताहरुमा चेत खुले जस्तो देखियो र भने, हाम्रा तर्फबाट यो डेढ दशकमा जे जस्ता गल्ती कमजोरीहरु भए । त्यसका लागि हामी माफी चाहन्छौं र आगामी दिनहरुमा यस्ता गल्ती नदोहो¥याउने प्रतिवद्धता व्यक्त गर्दछौं । उदार हृदयका नेपालीले नेताहरुका डेढ दशका मनपरी, लापरवाही, नागरिक आवाजको वेवास्ता सबैसबै गल्तीमा क्षमा गरे । उनीहरुले वर्षाैदखि निर्माण अधुरो रहेको घर छेउको विद्यालय, बाढी र पहिरोले बगाएको घर जग्गा विर्सिदिए । वर्षँैदेखि स्तरोन्नति हुन नसकेको बाटो, घण्टौं हिँडेर पानी भर्नु पर्दाको पिडा विर्सै , देशमा रोजगारीको उपयुक्त अवसरहरु सिर्जना हुन नसक्दा वेदशिन बाध्य भाइ, छोरा, श्रीमान् र छोरी विर्से अनि विर्से उनीहरुले पराई भूमिमा भोग्नु परेका अगणित समस्या र कतिपयले गुमाएको ज्यान ।
र जनआन्दोलनमा सहभागी हुन थाले । विस्तारै जनआन्दोलन–२ मा नागरिक सहभागिता बढ्दै गयो । अन्ततः संवैधानिकबाट सक्रिय बन्न खोजेका राजा ज्ञानेन्द्र युगको अन्त्य भयो । यहाँसम्म आइपुग्दा नेपाली नागरिकले सोचेका थिए, अब नेताहरुको घैंटोमा घाम लागेको छ । चेत फिरेको छ । शायद अब आसोपासेलाई मात्र पोस्ने, आफ्नालागि सात पुस्ता कमाउने तर भुई तहका नागरिकको भलो हुने काम नगर्ने प्रवृत्तिमा कमि आउने छ ।
तर पछिल्लो डेढ दशकको क्रियाकलाप हेर्दा नेताहरु सुध्रिने लक्षण देखिएको छैन । हाम्रो आवाजलाई दलका नेताहरुले झुल बाहिरको लामखुट्टेको आवाज जसरी वेवास्ता गर्न छाडेका
छैनन् । यो डेढ दशक पनि सुमृद्धि र समुन्नतिका नेताहरुका भाषण सुनेरै हाम्रो समय वित्यो । घरघरमा ग्याँसको पाईपको गफ पनि
सुन्यौं । अनि भर्खर सिगात्से आइपुगेको चिनिया रेल सयौं किमि पार गरेर केरुङ हुँदै २, ३ वर्षमा काठमाण्डौ आउने अनि पोखरा हुँदै कुस्मा पुग्ने गफ सुनेर दिन
काट्यौं । नेपालकै पानी जहाज र त्यो पानी जहाज चढ्ने दिनै तोकेर टिकट काट्न तयार भएर बस्यौं । तर जनताका घरमा समृद्धि आएन न त समुन्नति नै । घरघरमा ग्याँस, कुस्मामा रेल र पानीजहाजको सपना केवल सपना भयो । सपना पूरा हुने लक्षण सुदूर क्षितिजसम्म दखिएको छैन । बरु देश आर्थिक हिसाबले जर्जर हुँदै गएको छ । पछिल्लो पाँच महिनामा दुइ खर्बभन्दा बढी सार्वजनिक ऋण थपिएको समाचार यसैको उदाहरण हो । बजेटको सानो हिस्सा विकास निर्माणका काममा छुट्याइएको हुन्छ तर सरकारी संयन्त्र खर्च गर्ने क्षमता गुमाउँदै गएको छ । स्वास्थ्य, शिक्षामा बढ्दो व्यापारीकरणले सर्वसाधारण नागरिकले सामान्य रोगमा पनि उपचार गर्ने क्षमता गुमाउँदै गएका छन् । ग्रामिण नागरिक आफ्ना छोराछोरीलाई विद्यालय भर्ना गर्नै नसक्ने भएका छन् । दुर्गम भेगका नागरिकले ज्वरो आउँदा सिटामोल सम्म पनि नपाएका कुरा अझै समाचार बनेकै छन् । गाउँलाई वसुँबसुँ बनाउँछु भन्नेहरुको सहरमा सुविधा सम्पन्न महल बन्यो तर गाउँ जस्ताको तस्तै छ । राम्रो शिक्षा, स्वास्थ्य र अवसरहरुको खोजीमा गाउँका मानिस सहर झर्दा गाउँ रित्तिँदै गएका छन् ।
महंगीले नागरिकको दैनिकी निकै कष्टकर भएको छ । देश हरेक कुरामा पर निर्भर हुँदै गएको छ । गाउँका अधुरा विद्यालय भवन अधुरै छन् । भूकम्पले चर्केका जोखिमयुक्त घरमा पिडितहरु रात विताउन बाध्य छन् । देशमा उत्पादन भएको बिजुली धेरै भयो भनेर बेच्न थालिएको छ तर सबै नेपालीका घरमा उज्यालो पुगेको छैन । सुरक्षित आवास र स्वच्छ पिउने पानी आधारभूत आवश्यकताका मुख्य तत्व हुन तर ति आम नेपालीले पाउने अवस्था बनेको छैन । युवा उमेर समूहका नागरिकको संख्या यतिबेला नेपालमा सर्वाधिक छ । तर त्यसको सदुपयोग गर्दै देश विकासको गतिलाई तिब्र बनाउने सोच कुनै नेतामा छैन बरु फ्रि भिसा, फ्रि टिकटको नारा दिएर युवा जनशक्तिलाई विदेशिन प्रोत्साहित गर्दैछन् । राम्रा अवसरनेता र तिनका आसेपासेले मात्रै पाउने स्थिति छ ।
कथाको दाजुलाई भाइले निर्णयका सम्पूर्ण अधिकार दिए झैं हामीले पनि हाम्रो सुन्दर भविष्य बनाउने जिम्मा नेताहरुलाई दिएकै हौँ । देशमा उपलब्ध साधन र श्रोतमाथि नागरिकको अधिकार खोसेर आफैले कब्जा जमाउने प्रवृत्ति नेतामा झ्याङ्गिदै गएको छ । त्यसैले अब आम नेपालीले कथाको भाइ पात्रले झैँ कम्बल भिजाउनु पर्ने बेला भएको छ । त्यसैले मेरो आग्रह, “अब कम्बल भिजाऊँ”
अब कम्बल भिजाऊँ
previous post