अहिलेको अधिकांश युवा पुस्तामा नेपालमा केही छैन, नेपालमा बसेर केही हुँदैन, वैदेशिक रोजगारी नै एकमात्र विकल्प हो भन्ने गलत मानसिकताको विकास भइरहेको छ ।
“अब के गर्ने सोचाई छ त ? ” “दुइचार वर्ष बाहिर जाउँ कि भनेको”
अधिकांश नेपाली युवावर्गलाई उनीहरुको भविष्यको लक्ष्यका बारेमा सोध्ने हो भने एउटा साझा जवाफ पाईन्छ, वैदेशिक राजगारीमा जाने । दैनिक हजारौं र वर्षेनी लाखौंको संख्यामा नेपाली युवा वैदेशिक रोजगारीको लागि जाने गरेको तथ्याङ्क हामीसंग छ । नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको ठूलो हिस्सा रहेको कुरा हामी सबैलाई छर्लङ्ग छ साथै वैदेशिक रोजगारीले निम्त्याएको सामाजिक र पारिवारिक समस्याहरु पनि हामीबाट लुकेको छैन । वैदेशिक रोजगारीमा जाने प्राय सबै युवाको भनाई हुन्छ,नेपाल बसेर के गर्ने ? जागिरको टुंगो छैन । अब अलिअलि कमाउन सक्ने उमेरमा घरमै थन्किएर बस्नु पनि भएन । त्यसैले विदेश जान लागेको । विदेश जानु नेपाली युवाहरुको बाध्यता हो र चाहना पनि । युवा पुस्ताको यो बाध्यता र चाहना देशको लागि कति फलदायी छ र कति हानिकारक ? के वैदेशिक रोजगारी नै एक मात्र विकल्प हो त ? के युवा पुस्ताको देश प्रति कुनै उत्तरदायित्व छैन ? के हामीले आफ्नो देशको लागि आफुले बहन गर्नुपर्ने जिम्मेवारी बहन गरेका छौं ? यो आलेखमा म विषयवस्तु माथि प्रकाश पार्ने वा वहस गर्ने भन्दापनि आफुलाई लागेका जिज्ञासाहरु प्रस्तुत गर्ने कोशिस गर्दैछु ।
गास, बास, कपास, शिक्षा, मनोरञ्जन र स्वास्थ्य उपचार जस्ता कुराहरु आधारभूत मानविय आवश्यकताहरु हुन् । यी सबै कुरा पूरा गर्न कुनै पनि व्यक्ति आर्थिक रुपले सम्पन्न हुनु आवश्यक छ । यसको लागि आवश्यक हुन्छ, रोजगारी वा आफ्नै व्यवसायको । यो दृष्टिकोणबाट हेर्ने हो भने आफ्ना नागरिकहरुको लागि रोजगारीको सृजना गर्नु र स्वतन्त्र एवम् निर्धक्क रुपमा आफ्नो व्यवसाय गर्ने वातावरण बनाउनु एउटा लोककल्याणकारी राज्यको दायित्व हो । जुन नेपालमा हुन सकिरहेको छैन । तर यसको एक मात्र समाधान वैदेशिक रोजगारी हो जस्तो भने लाग्दैन । हामीले आफ्नै देशमा केही गर्ने प्रयास गर्दा गर्दै पनि हामी सफल हुन नसकेर विदेश जान बाध्य भएका हौं भने त्यो अलग पाटो हो । तर अहिलेको अधिकांश युवा पुस्तामा नेपालमा केही छैन, नेपालमा बसेर केही हुँदैन, वैदेशिक रोजगारी नै एकमात्र विकल्प हो भन्ने गलत मानसिकताको विकास भइरहेको छ । राष्ट्रको समृद्धि र विकासको लागि युवा वर्गमा यो मानसिकता विकास हुनु राम्रो सङ्केत होइन् । यो हाम्रो तितो यथार्थ हो कि देशको शासनसत्ताको बागडोर सम्हालेर बसेका माननियहरुले देशलाई सहि गति र दिशा दिन सकेनन् । आफु र आफ्ना भन्दा पर उनीहरुको विचार, दृष्टि पुग्नै सकेन । भ्रष्टाचारको कुरिती प्रिय नलाग्ने नेतृत्व कोही बाँकी रहेनन् । तर सङ्गसङ्गै अर्काे भयङ्कर सत्य के हो भने यस्ता कुराहरुको सामना गर्ने र आवश्यकता पर्दा विरोध गर्न सक्ने युवा पुस्ताको ठूलो हिस्सा नेपाली भूमि भन्दा बाहिर छ ।
नेपाली राजनीतिमा देशको शासन सत्ता सम्हाल्न नेतृत्वगण चुकेकै हो, चाहे त्यो जुनसुकै राजनीतिक पार्टीबाट होस् । कुनै पनि बहानामा उनीहरु यो कुराबाट पन्छिन पाउँदैनन् । देशमा एउटा सच्चा राजनेताको अभाव खट्किएकै हो तर नेताले देश विगारे भन्दै सबै दोष नेतृत्व माथि थोपरेर हामी पनि आफ्नो जिम्मेबारीबाट पन्छिन हुन्छ र ? नेतृत्वले सहि मार्ग लिएको छैन भने खवरदारी गर्ने जिम्मेबारी त हाम्रो हो नि ? जागिर पाइएन भनेर गुनासो गर्नुको सट्टा केही काम सुरु गरौं न ताकि हामी आफै अरुलाई जागिर दिन सक्ने होऔं । तिहारमा एकदिन मात्र प्रयोग गर्न करोडौंको सयपत्री र मखमली फूल भारतबाट आयात गरिन्छ । दशैमा खसी बोकाको हालत त्यही छ । त्यो बजारको अलिकति भएपनि हिस्सा समेटौं न भनेर किन हामीले सोच्न सकेनौं वा चाहेनौं । फलफूल, तरकारी र खाद्यबालीको आयात वर्षेनी बढ्दो छ, निर्यात त्यो भन्दा ठूलो अनुपातमा घट्दो छ । आयात र निर्यातबीचको यो असन्तुलन कम गर्न पट्टी किन हामी लाग्दैनौं ? केही समय पहिला मात्रै भारतबाट आयात हुने फलफूल तथा तरकारीको विषादी परिक्षणको विषयले देशमा ठूलै तरङ्ग ल्यायो । मिडियाको लागि यो राम्रो समाचारको विषय बन्यो । सामाजिक सञ्जालहरुमा राम्रै टिकाटिप्पणीहरु भयो । कतिसम्म भने भारत सामु नेपालको स्वाभिमानलाई तुलना नै गरेर हेरीयो । तर हामी कसैले पनि सोचेनौं, न हाम्रो राजनैतिक नेतृत्वले न हामी जनताले नै कि आउने दिनमा हामी भारतलाई फलफूल तथा तरकारी निर्यात गर्ने राष्ट्रको रुपमा नेपाललाई उभ्याउँछौं । नेपाललाई कृषिमा यसरी अगाडि बढाउँछौं कि नेपालले विदेशबाट फलफूल किनेर खानु पर्ने नै छैन । सामाजिक सञ्जालमा राष्ट्रवादको खोक्रो नारा पोष्ट गर्दैमा र विरोधको स्वर उठाउँदैमा हाम्रो दायित्व पूरा हुन्छ र ? कदापि हुँदैन । एउटा सच्चा र सचेत नागरिकले देशको स्वाभिमानको बारेमा बोलेर मात्र पुग्दैन । देशको स्वाभिमानमा आँच आउन नदिने काम पनि गर्नुपर्छ ।
अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा एटम बम आक्रमण गरेपछि कुन मेहनत र लगनशिलताले आजको जापान निर्माण भयो ? हिजो भोकमरीले सताउँदा नेपालले खाद्यान्न पठाएको दक्षिण कोरिया आज नेपालबाट कामदार आयात गर्छ । कति परिश्रम गरेर उनीहरुले यो हैसियत बनाए ? एउटा व्यक्तिको सपना र प्रयासले कसरी सिंगापुरको इतिहास कायापलट भयो ? आजको सचेत युवा पुस्ताले यो अध्ययन र मनन गर्नु जरुरी छ । हामी पुरै बिहान चिया पसलमा यो भएन, त्यो भएन , देश यस्तो भयो, त्यस्तो भयो भनेर गफ गरेरै विताउँछौं । तर एक घण्टा बारीमा काम गर्दैनौं । आफ्नो धेरै समय फेसबुक, युट्युव र इन्टरनेटमा विताउँछौं तर त्यसबाट फाइदा लिन जान्दैनौं । दिनमा १०० रुपैयाँ पनि नकमाउने एउटा व्यक्ति सांझ भट्टीमा गएर सुकुटी र रक्सी खाएर हजारौं सिध्याउँछ । देशको युवा शक्तिको हालत जबसम्म यस्तो रहन्छ, कसरी हुन्छ देश विकास ? कसरी आउँछ समृद्धि ? यहाँनेर एउटा प्रश्न के पनि आउन सक्छ भने हामीसंग पर्याप्त श्रोत र साधन छैन, पैसा छैन कसरी काम गर्ने ? प्रश्न स्वाभाविक पनि हो । तर हामीले के बुझ्नु जरुरी छ भने अर्बपति विनोद चौधरीले आप्mनो व्यवसाय सुरु गर्दा उनी अर्वपति थिएनन् । उनले पनि सून्यबाट सुरु गरेर यति ठूलो आर्थिक प्रगति गरेका हुन् । अर्बपति भएका हुन् । आफ्नो आर्थिक साम्रज्य खडा गर्न सफल भएका हुन् । विल गेट्स विश्वको सबैभन्दा धनी व्यक्ति भएर माइक्रोसफ्ट कम्पनी खोलेका होइनन्,बरु माइक्रोसफ्ट कम्पनीको माध्यमबाट धनी भएका हुन् । विश्वका सफल व्यक्तिहरुको इतिहास हेर्ने हो भने सबैले सून्यबाटै सुरु गरेको पाउँछौं हामी । उनीहरुले सक्छन् भने हामी किन सक्दैनौं ? विश्वमा जतिपनि देश विकसित छन् ति देशका नागरिकहरु आठ घण्टा आराम र आठ घण्टा मानोरञ्जनको समय काटेर काममा लगाउँछन् । हामी चाहिँ आठ घण्टा कामको समय पनि काटाएर आराम र मनोरञ्जनमा लगाउँछौं । र देश विग्रियो, देशमा केही छैन भनेर गाली गर्दै बस्छौं । अनि कसरी हुन्छ विकास ?
पङ्तिकारले यति कुराहरु लेख्दै गर्नुको आशय वैदेशिक रोजगारीमा जानै हुँदैन भन्ने होइन तर विदेश जानु भन्दा पहिला देशमै केही गर्ने कोशिस त कमसेकम गरौं । या विदेश नै गईन्छ भने पनि आफ्नो सम्पूणर््ा उर्जाशिल समय विदेशमै नसकौं । त्यहाँ आफुले देखे भोगका कुराहरु र अनुभवलाई आफ्नो देशमा प्रयोग गरौं, ताकि भोलिको पुस्ताले समृद्ध नेपालमा जन्म लिन सकोस् । सबै नेपाली युवा एउटै सोचका छैनन् । देशमै केही गरौं भन्ने युवाहरुको समूह पनि छ । उनीहरु प्रति हृदयदेखि नै सलाम र नमन छ । तर जति पनि युवाहरु देशमा केही छैन, नेपालमा बसेर केही हुँदैन भन्ने मानसिकता बोकेर विदेश गइरहेका छन् वा जाँदै छन्, म उनीहरुलाई यतिमात्र अनुरोध गर्न चाहन्छु कि एक पटक नेपालमै बसेर हेर्ने प्रयास पनि त गरौं न ।
अन्ततः देशको उन्नयन वा अवनति भन्ने कुरा राज्यव्यवस्थाकै हातमा हुन्छ । जबसम्म बजारमा मुस्ताङ र हुम्लाको स्याउ भन्दा सस्तो मूल्यमा चाइनाको स्याउ पाईन्छ, तबसम्म हिमाली कृषकहरुको मनोबल बढ्न सक्दैन । जबसम्म भारतको आलु तराईको भन्दा सस्तो हुन्छ, तबसम्म तराइको आलु फस्टाउन सक्दैन । यस्ता कुराहरुमा हाम्रो राज्य सचेत र जानकार हुनै पर्छ, यसको विकल्प छैन तर पनि देशमा केही छैन, नेपालमा बसेर केही हुँदैन भन्ने मानसिकता बोक्दै विदेशिँदा त हामी पनि हाम्रो जिम्मेबारीबाट पन्छिएका पो हौं कि ? एकएक गर्दै भोली हामी सबै युवा विदेशी भूमिमा पुग्ने हो भने देशमा को बस्ने ? कस्ले देश बनाउने ? छानो चुहिए पनि, भित्ता चर्किए पनि अनि भूईं उप्किए पनि आफ्नो घर भनेको आफ्नै हो । दिनभर जहाँ डुलेपनि हामी साँझ बासबस्न आफ्नै घर आउनु पर्छ । छिमेकीकोमा बसेर त कति दिन पुग्छ र ? अहिले नेपालको पनि छाना चुहिएको छ, भित्ता चर्केको छ अनि भुईँ उप्किएको छ । यसलाई टालटुल पारेर बस्न योग्य घर बनाउने जिम्मेबारी त हाम्रै होइन र ?