
हिमाल खबर पत्रिकामा अनिता भेटवालको केही अगाडि प्रकाशित रिपोर्ट पढेको थिएँ । रिपोर्टमा भेटवालले उल्लेख गरे अनुसार काठमाडौँका सामुदायिक विद्यालयहरूमा पछिल्लो समय एउटा सुखद परिवर्तन देखिएको छ । भटवाल आफ्नो रिपोर्टमा उल्लेख गर्छिन्, कालीकोटबाट आएका राजनबहादुर शाही हुन् वा स्थानीय कृतिका चापागाईं, उनीहरू अहिले केवल पाठ्यपुस्तकमा सीमित छैनन् । काठमाडौँ महानगरपालिकाको ‘बूक फ्री फ्राइडे’ कार्यक्रमले उनीहरूलाई डिजिटल दुनियाँ र सिर्जनाको खुला आकाशसँग जोडिदिएको छ ।
आफुलाई परम्परागत र बलियो राजनैतिक शक्ति मान्ने कांग्रेसर एमालेका उम्मेदबारलाई फराकिलो मतान्तरले जितेर काठमाण्डौंको मेयर बनेका बालेन्द्र (बालेन) बाट शिक्षा क्षेत्रमा पनि केही नयाँ कामको अपेक्षा गरिएको थियो । उनै मेयर बालेन्द्र साहको अवधारणा अनुसार सुरु भएको ‘बूक फ्री फ्राइडे’ कार्यक्रमले शुक्रबारको दिनलाई ’सिर्जनाको उत्सव’ बनाएको छ । यस अन्तर्गत विद्यार्थीहरूले आफ्नो रुचि र क्षमताका विभिन्न सीपहरू सिकिरहेका छन् । कोही ’कोडिङ’ मार्फत वेबपेज बनाउन सिक्दैछन्, जसले उनीहरूलाई भविष्यको ’एप डेभलपर’ बन्ने मार्ग प्रशस्त गरेको छ । अनि कोही मोबाईल, टीभी, रेडियो घडी आदि मर्मत गर्न सिकिरहेका छन् ।
भनिन्छ, मोबाइल मर्मत तालिम यति प्रभावकारी भएको छ कि विद्यार्थीहरूले विद्यालयमै शिक्षकका बिग्रिएका फोन बनाउन थालेका छन् । यस्ता तालिमहरुले उनीहरुलाई भविष्यमा शैक्षिक प्रमाणपत्रको भारी बोकेर जागिरको खोजिमा कयौं जोर जुत्ता फटाउने कृत्यबाट अनि राहदानी बोकेर बैदेशिक रोजगारदाताको कार्यालयमा धाउनु पर्ने बाध्यताबाट मुक्त गराएको छ । यतिमात्र होइन, बुक फ्रि फ्राइडे अन्तर्गत विद्यार्थीहरुले भित्तेचित्र, संगीत, र मूर्तिकला जस्ता विधाहरूमा राम्रो दख्खल हासिल गरिरहेका छन् । यी सबैले उनीहरुलाई स्वावलम्बी हुन सघाउने छन् ।
राजधानीको विद्यालय तहमा सुरु भएको यो सीपमूलक लहर तराईको उच्च शिक्षासम्म पुग्न थालेको छ । विजेता चौधरीले ’शिक्षक’ पत्रिकाको २०८२ असार अंकमा उल्लेख गरे अनुसार, मधेश प्रदेशस्थित राजर्षि जनक विश्वविद्यालयले मिथिला कलालाई प्राज्ञिक विषय बनाउँदैछ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मिथिला चित्रकला, लोककला, लोकनृत्य, र सामाचकेवा जस्ता परम्परागत विषयहरूमा चार वर्षे स्नातक तहको पाठ्यक्रम निर्माण गरी उक्त विषयहरुमा पढाई सुरु गर्न कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यसले हाम्रो मौलिक कलालाई केवल सौखमा मात्र सीमित नराखी व्यावसायिक र प्राज्ञिक पहिचान दिने विश्वास गरिएको छ ।
एकातिर काठमाडौँ महानगरले शुक्रबारलाई किताबबाट मुक्त गराई प्रयोगात्मक सिकाइमा जोड दिइरहेको छ भने, अर्कोतिर व्यास नगरपालिकामा भने फरक नीति अवलम्बन गरिएको छ । व्यास नगर शिक्षा शाखाले जारी गरेको शैक्षिक क्यालेन्डरको २५ औँ बुँदाले शुक्रबारको ४ बजेसम्मको समयलाई थप कसिलो बनाएको छ । उक्त बुँदामा भनिएको छ,ः“शुक्रबारको दिन पाँचौँ पिरियडपछि अनिवार्य रूपमा सह–क्रियाकलाप सञ्चालन गर्ने, यदि सह–क्रियाकलाप सञ्चालन नभएमा ४ बजेसम्म अनिवार्य पठनपाठन सञ्चालन गर्ने ।”
यसले के देखाउँछ भने, जबसम्म स्थानीय तहले स्पष्ट योजना र स्रोतसहित ’बूक फ्री फ्राइडे’ वा यस्तै अन्य कुनै सिर्जनात्मक र पढाईलाई व्यवसायिक सीप र जीवन उपयोगी सीप जोड्ने कार्यक्रम ल्याउँदैनन्, तबसम्म शुक्रबारको समय केवल समय कटाउने वा परम्परागत पढाइमै सीमित हुने जोखिम
रहन्छ ।
यति कुरा गर्दा स्थानीय सरकारका प्रमुखसँग के जवाफ छ भन्ने अनुमान लगाउन सकिन्छ । केही वर्ष अगाडिसम्म कुल बजेटको १७÷१८ प्रतिशत बजेट शिक्षाका लागि छुट्याउने हाम्रा सरकारहरु अहिले १० प्रतिशत हाराहारीमा खर्च छ्ट्याउनेमा पुगेका छन् । यसले पनि स्थानीय सरकारका प्रमुख वा सरोकारवालाको जवाफ के हुन्छ, सहजै अनुमान लगाउन
सकिन्छ । अझ सजिलोसँग बुझ्नका लागि केही दिनमात्र अघिको एउटा सन्दर्भ कोट्याउन चाहन्छु । शिक्षामन्त्री महाबीर पुनले देशभर माध्यमिक तहको कक्षा ९ देखि कम्प्युटर शिक्षा अनिवार्य गर्ने घोषण गरे । घोषणसँगै आम चाासो र चिन्ता विजुली नपुगेका, गतिला भवन नभएका, कम्प्युटर ल्याब नभएका विद्यालयमा कसरी त्यो सुविधा पु¥याउने भन्नेमा रहला भन्ने अपेक्षा थियो । तर सबैको चासो सात हजार बढी शिक्षक चाहिन्छ ।
कम्प्युटर ल्याव स्थापना गर्नुपर्छ, भवन बनाउनु पर्छ, विजुली पु¥याउनु पर्छ र ति सबैका लागि झण्डै १२ अर्ब चाहिन्छ । यत्रो रकम सरकारले कसरी जुटाउँछ ? भन्नेमा बहस मोडियो । अर्थात आर्थिक अभाव देखाउने र काम नगर्ने वा समयसँगै नहिँड्ने कुरा तिर हाम्रो चिन्तन र चेत देखाप¥यो ।
यसरी नै स्थानीय सरकारका प्रमुखहरुले आफुसँग पनि बुक फ्रि फ्राइडे जस्ता नयाँ र सिर्जनात्मक कार्यक्रम भएको तर आर्थिक स्रोतको सीमितताका कारण कार्यान्वयन गर्न नसकिएको बताउने छन् । थोरै खर्च जुटाउँदा विद्यार्थीहरुले व्यवहारिक र जीवनोपयोगी सीप सिक्ने अवसर पाउने कुरा वेवास्ता गर्नेछन् । घुमाउरो पाराले शिक्षा आफ्नो प्राथमिकतामा नरहेको जनाउ दिनेछन् ।
आजको शिक्षालाई जीवनोपयोगी बनाउनु अनिवार्य आवश्यकता हो । काठमाडौँका विद्यार्थीले भित्तामा कोरेका चित्र हुन् वा राजर्षि जनक विश्वविद्यालयले पाठ्यक्रममा समावेश गर्न लागेको मिथिला कला, यी सबैले नेपाली शिक्षा प्रणाली अब ’घोकन्ते’ बाट ’बौद्धिक र व्यावहारिक’ बाटोतर्फ लाग्नुपर्ने संकेत गर्दछन् । व्यास नगरपालिका जस्ता अन्य स्थानीय निकायले पनि केवल समय अवधिलाई मात्र ध्यान नदिई, शुक्रबारको समयलाई कसरी विद्यार्थीको सीप र क्षमतासँग जोड्ने भन्नेतर्फ ध्यान दिनु जरुरी देखिन्छ । विद्यालयमा सिकेको सीपले जब विश्वविद्यालयमा डिग्रीको मान्यता पाउँछ, तब मात्र शैक्षिक क्रान्ति सम्भव हुनेछ ।
