मेरो विद्यालय जीवनमा एकजना गुरु हुनहुन्थ्यो, कक्षामा प्रायः निदाउने । कक्षामा पस्दा मुसुक्क हाँस्नु हुन्थ्यो, शायद उहाँलाई विद्यार्थीका अगाडि हँसमुख भएर प्रस्तुत हुनुपर्छ भन्ने ज्ञान थियो । तर उहाँको मुस्कानमा हामीले ताजापन कहिल्यै भटेनौं । थकित अनुहारमा पेशागत मर्यादाका लागि ल्याएको कान्ती विहिन हाँसोले हामीमा उत्साह थप्ने कुरै भएन । त्यसमाथि एकछिन पछि निन्द्राले झुल्नुहुन्छ भन्ने कुराले हामीलाई थप उत्साहविहिन बनाउँथ्यो । शायद सबै विद्यार्थीलाई सर दैनिक कक्षामा निदाउनुका कारण सोध्न र जान्न मन थियो । उहाँ रिसाउने र हामीलाई हप्की–दप्की गर्ने तथा पिटपाट गरिहाल्ने खालको त हुनुहुन्थेन तर एक खालको डर हामीमा थियो र सोध्न सक्दैनथ्यौँ । अलिअली अनुमान लगाउन सक्ने भएपछि हामीले अनुमान ग¥यौं, यो पेशा सरलाई मन परेको पेशा होइन । करकापले आउनु भएकोले उत्साह र अनुहारमा कान्ती नभएको होला ।
पछि थाहा पायौं, हाम्रो अनुमान सही थिएन । उहाँ आफ्नो रुचिमै यो पेशामा आउनु भएको रहेछ । तर अनुहारमा कान्ती नहुनाको र काममा उत्साह नहुनाको कारण अर्कै रहेछ । उहाँ बिहानभर भकारो सोहोर्ने, गाई बस्तुलाई घाँस काट्ने लगाएतका सबै काम गरेर विद्यालय आउनु हुने रहेछ । विहान भरको कामले उहाँलाई थकाई लाग्ने भएकाले शरिरमा आलस्य भरिने, अनुहारमा कान्ती नहुने र कक्षामा पसेको केही समयमा झुल्न थाल्ने हुनु भएको रहेछ ।
दशैं भनेपछि गाउँ घरको सम्झना आउँछ । र कार्यालय बन्द हुनासाथ गाउँ दौडिनेको लर्काे लाग्छ । गाउँ गएसंगै चिनजानका सबैसंग भेटघाट र गफगाफका श्रृङ्खला सुरु हुन्छ । गाउँमा चिनजानको क्षेत्र ठूलो हुन्छ । सहरमा एउटा छिमेकीले अर्को छिमेकीको वास्ता गर्दैन । तर गाउँमा त्यस्तो हुँदैन । दुइ चार किमी परसम्म चिनजानका साथी संगी हुन्छन् । भेटघाट संगै आत्मियता साटासाट हुन्छ । सन्चो विसन्चो, खेतीबालीका बारेमा परस्पर सोधपुछ हुन्छ । दशैंको बेलाका थप जिज्ञासा वा चासो हुन्छ, देशैका लागि व्यवस्था के कसो छ । छोरा बुहारी, छोरी, नाति नातिना विदेश वा सहरबाट गाउँ कहिले आउँछन् ? यसपाला टिका छ कि छैन, आदि आदि । सहरमा घरहरु बाक्ला हुन्छन् तर मानिसबीचको आत्मियता र सम्बन्धहरु पातला हुने रहेछन् तर गाउँमा त्यसको ठिक उल्टो घरहरु पातला हुन्छन् तर मानव सम्बन्ध बाक्लो हुने रहेछ । सहर र गाउँबीचको स्पष्ट विभाजन रेखा सायद यही होला ।
म पनि देशैं विदा प्रारम्भ हुनासाथ गाउँ गएँ । गाउँ पुगेसंगै माथि उल्लेखित श्रृङ्खला सुरु भयो । गफकै क्रममा घर छेउमा रहेको विद्यालयको अवस्था बारे दिग्दारी मिश्रीत भावमा एक अभिभावकले भने, विद्यालयको अवस्था सुधार्ने सबै प्रयत्न असफल भए । म त आजित भएँ । उमेरले सत्तरी लागेका तर काम गर्ने र समाज सुधारका काममा सधैं अगाडी बढ्ने उनी भन्दै थिए, हेडसर विद्यालय विरलै आउनु हुन्छ । विद्यालयमा पूर्व प्राथमिक समेत चारवटा कक्षा छन् । शिक्षक तीन जना छन् । त्यसमा पनि हेडसर विद्यालय नआएपछि दुइजना भयो । उनीहरुलाई पनि हाम्रो मात्र विद्यालय हो र ? भन्ने भाव उत्पन्न हुँदो हो । हेडसरलाई नियमित हुन कयौं पटक आग्रह ग¥यौं तर केही न केही बहाना बनाएर हाम्रो आग्रह तल्याइरहनु भएको छ ।
म आफै शिक्षण पेशामा छु, त्यसैले मैले कुनै शिक्षकको अपमान वा मानमर्दन गर्ने कुरा सोच्न सकिने कुरा भएन । र मैले यो आलेखमा कसैको पनि मान मर्दन गर्न खोजेको होइन । तर माथि बर्णन गरेको तथ्य कुनै बनावटी कुरा होइन बरु हाम्रो सामुदायिक शिक्षा क्षेत्रको तितो यथार्थ हो । यस्ता तिता यथार्थहरु घुम्दै जाँदा धेरै भेटिन्छन् । भनिरहनु परेन यसले लाखौं बालबालिकाको भविष्य माथि खेलवाड मात्र भएको छैन स्वयम् शिक्षकको मान मर्यादामा पनि गम्भीर आघात पुगेको छ । गाउँ घरको कुरा गर्ने हो भने शिक्षक नै त्यहाँको डाक्टर, वकिल, न्यायाधीश र नेता हो । यो संगै अरु धेरै भूमिकामा हुन्छ उ । तर कक्षामा पस्दा सधैं उत्साहहीन भएर पस्ने र निदाउने अनि मन लाग्दा विद्यालय जाने र विद्यालय नियमित नगएकोमा गर्व गर्ने प्रवृत्ति रहेसम्म हामी कुनैपनि भूमिकामा सफल र समुदायले पत्याउने खालको व्यक्ति बन्न सक्दैनौं । सम्मानको लायक बन्दैनौं ।
शिक्षक–शिक्षक भेट हुँदा हामी भन्छौं, हामीलाई कसैले सम्मान गर्दैन । आजको कुनै बालक भोली गएर शिक्षक बन्छु भन्दैन । सिनेमाको हिरोको नक्कल गरेर नथाक्ने बालक किन शिक्षक बन्ने सपना संगाल्दैन भन्ने प्रश्नको उत्तर हामीसंगै छ । एउटा सिनेमाको हिरो समाजमा रहेका विकृति र विसंगति विरुद्ध लड्छ, अन्यायमा परेकाहरुलाई न्याय दिलाउन सकेको प्रयत्न गर्छ । उसलाई कसैले यो काम गर भनेर भूमिका तोकेको हुँदैन, विषेश जिम्मेबारी लिएको हुँदैन तर आफ्नो क्षमताले भ्याएसम्म जिम्मेबारी निर्वाह गरिरहन्छ । र त एउटा बालक उसको नक्कल गर्छ । भविष्यमा सिनेमाको हिरो जस्तै बन्न चाहन्छ । यता हामीलाई राज्यले तलब सुविधा सहित बालबालिकाको भविष्य निर्माण गर्ने भूमिका दिएको छ । जिम्मेबारी दिएको छ । सिनेमाको हिरो, सिनेमामै सहि जिम्मेबारी नदिएरै विभिन्न जिम्मेबारी पूरा गर्छ तर हामी राज्यले दिएको जिम्मेबारी निर्वाह नगर्नमा गर्व गर्छौ । अनि कसरी एउटा बालकले हामीलाई आफ्नो हिरो सम्झोस् ? कसरी शिक्षक बन्ने सपना संगालोस् ?
राज्य शिक्षकहरुको हित रक्षामा निरपेक्ष छ । समुदायमा हाम्रो इज्जत छैन । इज्जत गर भनेर कसैले गर्ने होइन, कसैलाई इज्जत गर्ने कुरा मानिसको आत्माबाट आउनु पर्छ । कसैमा हाम्रा प्रति सम्मान भाव प्रकट हुने अवस्था हामी स्वयम्ले निर्माण गर्ने हो । बालबालिकाका अगणित जिज्ञासा सान्त गर्ने र उनीहरुको भविष्य उज्जल बनाउने जिम्मेबारी हामीलाई राज्यले दिएको छ । अभिभावकले त्यही विश्वासमा आफ्ना बालबालिका विद्यालयसम्म पठाएका छन् । अभिभावकको त्यो विश्वासलाई मर्न नदिनु हाम्रो कर्तव्य हो । राज्यले दिएको जिम्मेबारी पूरा गर्नुपनि हाम्रो कर्तव्य हो । विश्वास मरेको र कर्तव्यबाट च्यूत अवस्थामा सम्मान प्राप्त हुने त कुरै भएन ।
सामुदायिक विद्यालयका शिक्षकःसम्मान पाउने कसरी ?
previous post