डायरी
यो साता दमौलीकै एक निजी विद्यालयको २५ औं वार्षिकोत्सव (रजत महोत्सव) समारोहमा एकक्षण सहभागि हुने मौका मिल्यो । निम्तो पत्रमा उल्लेखित समारोहका प्रमुख अतिथीको नामले नै मलाई उक्त समारोहमा सहभागिता जनाउन मन लागेको थियो ।
संयोगवश म विद्यालय परिसरमा प्रवेश गर्दै गर्दा प्रमुख अतिथीलाई मन्तव्यका लागि बोलाइयो । सालिन सम्बोधनबाट आफ्नो शुभकामना मन्तव्य सुरु गरेका उनले दमौलीलाई श्रीकृष्ण द्वैपायन व्यासको जन्मभूमि भएकाले पवित्र भूमि भएको उल्लेख गर्दै आन्तरिक तथा वाह्य पर्यटकको आर्कषणको थलो बनाउन प्रचार प्रसार गर्न सुझाए । अनि समृद्ध नेपाल बनाउन बालबालिकालाई जीवन उपयोगि, सिपमूलक, व्यवहारिक शिक्षा दिनु आवश्यक रहेको र विद्यालयले उक्त कार्य गरिरहेको विश्वास व्यक्त गरे ।
झण्डै दश वर्षपछि यो पवित्र भूमिमा पाइला राख्न अवसर प्रदान गर्ने आयोजकप्रति कृतज्ञता प्रकट गर्दे उनले महोत्सवका अवसरमा सम्मानित र पुरस्कृत हुनेहरुलाई सम्झे । र अन्त्यमा राष्ट्रिय गानका सर्जक कस्ता होलान् भनि जिज्ञासा राख्ने विद्यार्थीको जिज्ञासा मेटाउन यहाँ आएको र आफु सयौं थुंगा फूलका हामी ….को सर्जक व्याकुल माइला भएको उल्लेख गर्दै मन्तव्य टुङ्ग्याए ।
यस्ता सभा कार्यक्रमहरुमा सामान्यतया कुनै राजनैतिक दल विषेशका नेताहरुलाई प्रमुख अतिथी बनाउने परम्परा हाम्रोमा राम्रैसंग मौलाएको छ । दलका नेतालाई अतिथी बनाएपछि सञ्चार माध्यमहरुले पनि महत्व दिने र आफ्नो सम्वन्ध विस्तार हुने आयोजकको स्वार्थले पनि दलका नेता नै प्रमुख अतिथी बनाइन्छन् । स्वाभाविक रुपमा राजनैतिक दल सम्बद्ध मानिसले आफ्नो दलको पक्षपोषण र आफुबाहेक अर्काे दलको विपक्षमा बोल्ने कुरा त भै नै हाल्छ । जतिपनि विकास निर्माणका काम भएका छन् ति सबै आफ्नो दलले मात्र गरेको र अर्काे दलले सिन्को नभाँचेको भाषण उनीहरु चर्काे स्वरमा गर्छन । राजनैतिक दलका नेतालाई आदर्श मान्ने बालबालिकाले जब यस्ता भाषण सुन्छन्, तव के सोच्दा हुन् ? कतै हामीले उनीहरुको दिमागमा घृणा, तिरस्कार भरिरहेका त हुँदैनौं ? काँचो माटो भनिने बाल मष्तिष्क यस्ता कुरा भर्नु के ठिक होला ? अब हाम्रा दलका नेताहरु र दलका नेताहरु नै सबै थोक हुन भने झै गरेर उनीहरुलाई अनावश्यक महत्व दिनेहरुले सोच्ने बेला भयो कि ? सर्जक सम्मान परम्पराको जय होस् ।