२०७२ बैशाखको महाभुकम्पले ढलेको हाम्रो शान धरहरा अझै उठ्न सकेको छैन । त्यस्तै अर्काे सम्पदा रानी पोखरी अविवेकी राजनैतिक नेतृत्वका कारण अतिक्रमण र व्यापारिक स्वार्थको मारमा पर्ने जोखिम बढ्दैछ । पाटन क्षेत्रमा जाने हो भने टेकोले धानेर राखेका हाम्रा सम्पदाहरु कोही आएर पुनः निर्माण गरी टेको हटाईदिने आशमा कुरिरहेका प्रतित हुन्छन् । उता काष्ठमाण्डपको अवस्था उस्तै छ । राष्ट्रपिता त्रिभुवनको सम्झनामा निर्मित स्मारक पार्कमा रहेको उनको शालिक हात, खुट्टा भाँचिएको अवस्थामा पार्कको एक कुनामा मिल्किएको छ ।
यी सबै अवस्था हेर्दा हामी हाम्रा सम्पदाको संरक्षणमा कति उदासिन छौं भन्ने दर्शाउँछ । यी सम्पदा हाम्रा निधी हुन, हाम्रा पहिचान हुन् र यिनीहरुको संरक्षण गरेर आगामी पुस्तामा हस्तान्तरण गर्नुपर्छ भन्ने कुराको चेत हामीमा नभएको अवश्य होइन तर किन हो यतातर्फ कसैको ध्यान गएको देखिएको छैन । हामीले हाम्रा धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्न नसक्नु वा गर्ने चासो नदेखाउनु भनेको हाम्रो पहिचान मेटाउन खोज्नु जस्तै हो । एक छिन् कल्पना गरौं त पहिचान विहिन हामी र हाम्रो आगामि पुस्ता कस्तो बन्ला ? आधुनिकता र विकासको नाममा सम्पदाको विनाश गर्दै जाने काम अब बन्द गर्नुपर्ने बेला आएको छ ।
आज विश्व सम्पदा दिवस । सन् १९८२ देखि विश्वभर विश्व सम्पदा दिवस मनाउने गरिएको छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाईन्छ । अप्रिल १८ लाई विश्व सम्पदा दिवसको रुपमा मनाउने कुरालाई औपचारिकता मात्र सिमित नगरी साँच्चै सम्पदा संरक्षणमा लगाउनु जरुरी छ । विदेश पुगेका विभिन्न मुर्तीहरु फिर्ता ल्याएर सुरक्षित राख्न सकियोस् । ढलेको धरहराले छिट्टै मुस्कुराउँदै उठ्ने अवसर पाओस् । काष्ठमाण्डपले उपत्यकाको शान भएकोमा गर्व गर्न पाओस् । पाटन क्षेत्रका धार्मिक तथा ऐतिहासिक सम्पदाहरु विना टेको उभिने सामथ्र्य राखुन् । यो संगै देशभरका हाम्रा सम्पदाहरुको संरक्षण होस् र भावि पुस्तालाई यि धरोहरु सकुसल हस्तान्तरण गर्न पाइयोस् ।आगामी पुस्ताले आफ्ना पुर्खाहरु प्रति गर्व गर्ने अवस्था सृजना होस् । सम्पदा संरक्षणमा राज्य र हामीसबै लागिपर्न सकौं । यो हामी सबैको जिम्मेबारी हो । जिम्मेबारी निर्वाहका यो वर्ष खरो उत्रन सकौं ।