पृष्ठभूमिः
विपरित वकपत्र अर्थात होस्टाईल । विशेषतः जाहेरवालाले अदालतमा पुगेर जाहेरी व्यहोराको उल्टो वत्रपत्र गर्नुलाई विपरित पत्र अर्थात होस्टाईल भन्ने गरिन्छ । सरकारवादी मुद्धाको जाहेरी दिंदा आवेग र आक्रोस साध्नका लागि दिनु हुँदैन । विपरित वकपत्र अर्थात होस्टाईल हुनुलाई न्यायपालिकाले राम्रो मान्दैन । कानुनमा विपरित वकपत्र गर्नेलाई सजाय समेत गर्ने व्यवस्था छ ।
व्यवहारिक पक्षः
व्यवहारमा विपरित वकपत्र गरेको पाईन्छ । त्यतिमात्रै होइन विपरित वकपत्रलाई प्रमाणमा लिएर न्याय निरुपण समेत भएको पाईन्छ । अदालतले मुद्धाको परिवेश र कसुर प्रमाणित गर्ने प्रमाणका आधारमा विपरित वत्रपत्रलाई प्रमाणमा स्वीकार गर्ने वा विपरित वकपत्र गर्नेलाई कानुन बमोजिम सजाय गर्ने न्यायीकमन विवेकबाट निर्णय लिन सक्ने अधिकार प्रदान गरेको छ । तर हरेक मुद्धा र घटनालाई राजनीतिक आवरणमा ढाल्ने सामाजिक परिवेशले न्याय गर्न बसेका न्यायमूर्तिलाई प्रभावित पारेको देखिन्छ । न्याय प्रशासन र राजनीतिको केन्द्रदेखिको र पारिवारिक च्यानल प्रयोग गरेर न्यायलाई प्रभावित पारेका उदाहरणहरु सुनिन्छ र देखिन्छ पनि । पिडितलाई अनेक तरहको मानसिक यातना दिएर विपरित वकपत्र गर्नुपर्ने परिवन्दमा पारिन्छ । जस्तो कि– गाउँघरमा रहेर खाएको जागिरमा हाजिर हुन नदिने, निकालि दिने, मुद्धा चलाएर केही पाईदैन, विपरित वकपत्र गरेमा ……. लाख दिलाई दिन्छु भनेर प्रभावित पारिन्छ । त्यतिले नपुगेमा भोटको राजनीति गर्नेहरुले नालनाता कुलकुटुम्ब प्रयोग गरेर ‘जे भयो भयो, अनावश्यक झन्झटमा नफस, अब ज्यान जोगाउ भनेर त्रास देखाईन्छ । मैले तिम्रो हितमा भनेको भनेर मानसिक यातना दिएर विपरित वकपत्रको लागि तयार पारिन्छ । अपवादमा बाहेक प्रायः विपरित वकपत्र यस्तै परिवेशबाट गराइएको हुन्छ । यसरी अपराधलाई बचाउन र न्याय प्रभावित पार्न प्रयास गरिन्छ ।
सन्दर्भ महोत्तरीः
महोत्तरी जलेश्वर–४ सुगाकी सुकमरिया देवी अहिले यस्तै पीडामा छिन् । बोक्सीकै आरोपमा उनकै छिमेकी शिलादेवी झालाई उनकै देवरले खुँडा प्रयोग गरेर हत्या गरेको सुनेकी सुकमरिया देवीले पनि बोक्सीको आरोपमा दशैंको मुख्खैमा हदैसम्मको अन्याय भोग्नु परेको छ । उनलाई देखेर रगेश्वरको छोरा सिकन्दरकी १३ बर्षिय छोरी रोएको बहानामा बोक्सीको आरोप लगाइएको थियो । यही आरोपमा हातखुट्टा बाँधेर विजुलीको पोलमा बाँधेर मलमुत्र घोलेर उनलाई पटक पटक ख्वाइयो । अनुहारमा मोसो र चुना दलियो । चारपाटा मुडियो । पानी खान तड्पिएको सुनेर आमालाई पानी ख्वाउन गएका छोरालाई समेत नख्वाउन धम्क्याइयो । यी अमानवीय कार्यका विरुद्ध सुकमरिया देवीले जाहेरी लेखाईन । जाहेरी लेख्नेले दश हजार मागेको अवस्थामा बल्लतल्ल जुटाउन सकेको चार हजार दिएर जाहेरी लिएर प्रहरीमा दर्ता गराईन । कसुरदारहरु सिकन्दर महतो, पत्नि पुरनादेवी, आमा प्रमिला देवी, भाई अनिल प्रहरी हिरासतमा छन् । सुकमरियाले त्यो हदसम्मको अन्याय भोग्दा नबोलेको स्थानीय भलाद्मीको चासो बल्ल बढ्यो । उनिहरुले यो घटनालाई यहीं विर्सि देऊ । पक्राउ परेकालाई छुटाई देऊ भनेर दवाव दिएको कुरा सार्वजनिक सञ्चार माध्यमहरुमा आएको छ ।
स्थानीय भद्रभलाद्मीः
स्थानीय भद्रभलाद्मीको यो चासो न्यायको पक्षमा हुनु पर्दछ । मलमुत्र ख्वाउने, मोसो दल्ने, चारपाटा मुड्नेलाई माफी दिने सुकमरियादेवीको मानसिक चोट, चरम यातनाले सामाजिक प्रतिष्ठामा पु¥याएको क्षतिको क्षतिपूर्ति कसरी हुन सक्छ ? स्थानीय भद्रभलाद्मीको चासो यसतर्फ जाग्नु पर्दछ । भोलिका दिनमा सुकमरिया देवी माथि भएको अन्याय अरु माथि दोहोरिन दिदैनौं भन्ने कुरामा ती भद्रभलाद्मीको प्रतिबद्धता हुनु पर्दछ । यो खालको सामाजिक चेतना जगाउने तिनै भद्रभलाद्मीहरुले हो ।
निष्कर्षः
कुन परिवेशमा विपरित वकपत्र आयो न्यायमूर्तिले ठम्याउन सक्नु पर्दछ । भोटको राजनीति गर्ने भद्रभलाद्मीको भूमिकाले सिर्जना गरेको सामाजिक परिवेश र परिवन्दबाट विपरित बकपत्र आएको अवस्थामा त्यस्तो वकपत्रलाई प्रमाणमा लिनु हुँदैन । बरु विपरित वकपत्र गर्नेलाई सजाय गरेर पनि अन्यायीलाई सजायभागि बनाउनु पर्दछ ।
् राजनीतिक आवरण दिईदैंमा न्यायमूर्ति डग्मगाउनु हुँदैन । यस्तो परिवेशबाट न्याय प्रभावित भएको तर्फ न्याय प्रशासनको बेलैमा ध्यान पुग्न जरुरी छ ।
विपरित वक–पत्र र प्रभावित न्याय
previous post