पृष्ठभूमिः
हामी अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा छौं । यो अवधि लैंगिक हिंसा विरुद्ध जनचेतना विकास गर्ने, लैंगिक हिंसा उन्मुख प्रबृत्तिलाई निरुत्साहित गर्ने, घरेलु हिंसाजन्य अपराधलाई निषेध गरिएको सन्देश प्रवाह गर्ने अवधि हो । नोभेम्वर २५ देखि डिसेम्बर १० सम्मको अवधिलाई लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको रुपमा मनाइएको छ । लैंगिक हिंसा भनेको महिला विरुद्धको हिंसा भन्ने आमबुझाई रहेको छ । कानूनमा भएको व्यवस्था र हामीले बुझेको लैंगिक हिंसा विरुद्धको कसूर कस्तो हो बुझ्न सबैले जरुरी छ ।
कानूनमा भएको व्यवस्थाः
घरेलुहिंसा (कसूर र सजाय) ऐन २०६६ ले घरेलु हिंसाको परिभाषा गरेको छ । भनिएको छ– ‘घरेलु हिंसा’ भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनु पर्दछ ।’ कानूनले ‘घरेलु सम्बन्ध’ भनेको के हो ? भन्ने बारेमा पनि प्रष्ट पारेको छ । ‘घरेलु सम्बन्ध’ भन्नाले बंशज, विवाह वा धर्मपुत्र वा धर्मपुत्री भएको वा संयुक्त परिवारको सदस्य, आश्रित वा कामदारको रुपमा एकै परिवारमा बसेका व्यक्तिहरुका बीचमा भएको सम्बन्ध सम्झनु पर्दछ । र सो शब्दले संगैको बसेका जोडी वा अंश लिई वा नलिई भिन्न बसेको पति वा पत्नीको सम्बन्ध समेतलाई जनाउँदछ ।
कानूनको मनसायः
कानूनले गरेको उक्त परिभाषाका आधारमा न्यायीक विवेकबाट निर्देशित भएर बुझ्दा घरेलुहिंसा भनेको महिला हिंसा होइन । कतिपय महिला अधिकारवादी, महिला लेखिकाहरुको लेख पढ्दा पनि पनि घरेलु हिंसालाई महिला हिंसाको रुपमा अथ्र्याइएको पाईन्छ । महिला हिंसा शब्दलाई कानूनले परिभाषा गरेको थाहा पाइएको छैन । त्यसैले महिला हिंसा घरेलुहिंसा भित्र पर्दछ तर महिलाहिंसा भित्र घरेलुहिंसा पर्दैन । घरेलुहिंसा भित्र घरेलु कामदारका रुपमा कार्यरत जनशक्ति माथि भएको हिंसा समेत पर्दछ । घरेलु कामदारलाई समेत परिवारको सदस्यको रुपमा कानूनले अथ्र्याएको छ ।
महिलामाथि हुने हिंसा ः
महिला माथि हुने हिंसाका बारेमा बुझ्न कठिन छैन । खान लाउन नदिने, घरमा बस्नटिक्न नदिने, सम्बन्ध विच्छेदका लागि दवाव दिने लगायतका गतिविधिलाई मान्न सकिन्छ । त्यसै गरी इच्छा विपरितको यौनशोषण पनि घरेलु हिंसाको विषय बन्दछ । कुटपिट समेतलाई समावेश गरेर मानसिक, शारीरिक, आर्थिक यौनजन्य हिंसा भनेर कानूनमा घरेलुहिंसाको परिभाषा गरेको छ ।
पुरुषमाथि हुने हिंसाः हामीलाई अचम्म लाग्न सक्दछ कि पुरुष माथि कसरी घरेलुहिंसा हुन्छ भनेर । किनभने हाम्रो बुझाई त घरेलुहिंसा भन्नासाथ महिला माथि हुने हिंसा भनेर बुझेका छौं । भोग्ने पुरुषहरुलाई पनि थाहा नहुन सक्दछ कि पत्निले आफू माथि गरेको व्यवहार घरेलु हिंसाको कसूर हो भनेर । अब कानूनले गरेको उक्त परिभाषा पढी सकेपछि बुझ्नु पर्ने हुन्छ कि पुरुष माथि हुने घरेलु हिंंसा भित्र पनि खान लाउन नदिने, घरमा बस्न टिक्न नदिने, सम्बन्ध विच्छेदका लागि दवाव दिने, इच्छा विपरितको यौनशोषण, कुटपिट समेतका मानसिक, शारीरिक, आर्थिक, यौनजन्य हिंसा पनि पर्दछ ।
व्यवहारिक प्रयोगः
महिलाले पुरुष माथि गरेका घरेलुहिंसा यदाकदा ठहर पनि भएका छन् । सजाय पनि भएको छ । व्यवहारिकतामा कस्तो छ भने पति विदेशमा गएर कमाई गर्दछन् । सम्पत्ति कहिले आईएमइ गरेर त कहिले घरमा आउने साथीसंग हातै पत्निलाई पैसा पठाउँछन् । नोकरी गर्न गएको कामदारहरु मध्ये सँधै आफैले पैसा पठाउन पनि नमिल्न सक्दछ । साथीहरुको सहयोगमा साथीहरुको नामबाट पनि पैसा पठाउन पर्ने अवस्था आईपर्दछ । यता श्रीमतिले पतिले पठाएको धनबाट आफ्नै नाउँमा घडेरी जोड्दछिन् । अनि घर पनि बनाउँदछिन् । त्यो घडेरी किन्ने बेला, घर बनाउने बेला कसैको सहयोग लिन पर्ने हुन्छ । त्यही सहयोग गर्ने मान्छेसंगको निकटता बढ्न पुग्दछ । अनि धन कमाई पठाउने पति टाढा र दैनिक सहयोग गर्ने परपुरुष नजिक हुन पुग्दछन् । पति घरमा आउँदा बस्न पस्न पनि कठिन हुन पुग्दछ । पत्निले आफ्नो नीजि आर्जनको दावी लिई अदालतमा मुद्धा दायर गर्दछिन् । त्यो अवस्थाको पति घरेलु हिंसामा परेको हो कि होइन होला ? हाम्रो कानूनले खान लाउन दिनु पर्दछ भन्ने अभिभावकीय जिम्मेवारी तोकेको छ । तर आश्रीत परिवारको अनुशासन र कर्तब्य तोकेको छैन । त्यसैले उही घरमा बसेर घर कोठा सटर भाडामा लगाएर खाएर पनि मानाचामल दावी गर्ने छुट दिएको छ ।
निष्कर्ष ः
पितृसत्तात्मक समाजका हामी संस्कारगत रुपमा पुरुषले महिला माथि गरेका हिंसाका बारेमा जानकार छौं । हिजो घरेलु हिंसा गर्ने पुरुष मात्रै थिए । महिलाबाट घरेलु हिंसा भएको कल्पना पनि गर्न सकिदैनथ्यो । यदि कहिकतै अपवादको रुपमा भैहालेको रहेछ भने पनि नामर्दमा गणना भइने डरले कसैले व्यक्त गर्न सक्दैनथ्यो । तर आजको समाज त्यस्तो छैन । महिलाबाट घरेलुहिंसा भएका धेरै उदाहरणहरु पनि छन् । विभिन्न सञ्चार माध्यमहरुमा लेखहरु नै प्रकाशित भएका छन् । आज हामीले अवोध बालबालिकालाई १६ दिने अभियानमा उतार्दै गर्दा समाजको यथार्थ जानकारी दिनु पर्दछ । घरेलुहिंसा महिलाबाट पुरुष माथि भएका तथ्यहरुप्रति सूसचित गराउन सकेनौं भने अभियानलाई हामी पूर्ण रुपमा सफल बनाउन सक्दैनौं । अभियानलाई सफल हुँदा हाम्रो समाज सफल हुन्छ ।