सामान्यतया लैङ्गिक हिंसा भन्ने वित्तिकै हामी महिला माथि हुने हिँसा भन्ने सम्झन्छौं । हुन पनि पित्रृ सत्तात्मक नेपाली समाजमा पुरुषको तुलनामा महिला विभिन्न खाले हिंसाको बढी नै शिकार हुने गर्दछन् । यद्यपि पछिल्लो समय पुरुष पनि हिंसाको शिकार भएका समाचारहरु आउन थालेका छन् । तर यो आजका मितिसम्म लैङ्गिक हिंसा को कुरा गर्दा महिलाको कुरालाई प्राथमिकतामा राखिन्छ । त्यसैले यो लैङ्गिक हिंसा विरुद्धका दिवसहरु महिला केन्द्रीत नारामा आधारित भएर मनाउने गरिकएका छन् । यतिबेला ३३औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार अर्थात् नोभेम्बर २५ देखि सुरु भएको छ । तर विडम्बना अभियान चलिरहँदा हामी बालिका बलात्कृत भएको तथा हत्या गरिएको भन्ने समाचार सुन्न हामी अभिसप्त छौं । बाबुद्वारा छोरीको बलात्कार, शिक्षकले गरे छात्रको बालात्कार जस्ता समाचार सुन्नु अब हाम्रो दैनिकी बनेको छ ।
विभिन्न अध्ययनहरु भन्छन्, संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट नातेदार, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् । त्यस्तै अन्य अध्ययन भन्छन्, संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक, मानसिक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् ।
अबका दिनमा महिलाहरुले कुनैपनि खाले हिंसाको शिकार हुन नपरोस् भन्ने हेतुले उनीहरुमा सचेतना जगाउन र हिंसा विरुद्धको आवाजमा ऐक्यवद्धता जनाउन संसारभर हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सञ्चालन गरिन्छ ।
हाम्रा धर्म ग्रन्थहरु महिलालाई सृष्टिकर्ता भनेर सम्मान गर्न भन्छन् । आदि शक्तिको रुपमा महिलालाई नै चित्रण गरिएको छ । तर सभ्य भनिएको बर्तमान समाजमा महिलामाथि अनेक खाले हिंसा हुने गरको पाईन्छ । एउटी बालिकाले विद्यालय जाँदा आउँदा बाटो छेउमा बसेर सिठ्ठी बजाउने, कुनै केटासंग नाम जोडेर लेख्ने जस्ता अनेक खाले हिंसाको शिकार हुनुपर्छ । बलात्कार तथा हत्यासम्मको शिकार हुने गरको उदाहरण हामीकहाँ प्रसस्त भेटिन्छन् सरकारी वा गैरसरकारी जागिरे भयो, कार्यस्थलमा महिलाले हिंसाको शिकार हुनुपर्छ । विद्यालय र कलेजको त कुरै भएन । सिनेमा हल, सार्वजनिक स्थल, बाटोघाटो आदि सबै ठाउँमा महिलाले कुनै न कुनै खालको हिंसाको शिकारको भय पालेर हिड्नु पर्ने अवस्था विद्यमान छ । उमेर पुगेकी छोरी भएका अभिभावक विहान सकुसल निस्केकी छोरी सांझ सोही अवस्थामा फर्कने हो कि होइन भन्ने चिन्ताले ग्रस्त छन् । छोरीहरुको हत्या गर्भै देखि सुरु हुन्छ । त्यसबाट बचेर जन्म लिए र हुर्के भनेपनि बालात्कारको शीकार हुनपर्ने डरले छोरीहरु निर्वाध सडकमा हिंड्न सक्ने अवस्था छैन । मनमा हरक्षण विभिन्न खाले हिंसाको शिकार हुने भय पालेर हिँडेकी एउटी महिलाले जीवनमा अपेक्षित सफपलता प्राप्त गर्न सक्ने कुरै भएन फलस्वरुप उनीहरु पछि परेका छन् । महिलालाई साँच्चै अगाडि बढाउने हो भने हिंसा रहित वातावरण निर्माण आवश्यक छ । र संयुक्त राष्ट्र संघको सन् १९९९ को महासभाले हरेक वर्ष नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउने निर्णय गर्नुमा पनि यही वातावरण निर्माणमा सहयोग पु¥याउने उद्देश्य रहेको छ ।
बलात्कार तथा बलात्कार पछि हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई कारवाहीको दायरामा ल्याउन राज्य संयन्त्र नै असफल हुने गरेको अझ कतिपयप अवस्थामा त राज्यका निकायहरु र जनप्रतिनिधि नै यस्ता घटना पैसाको लेनदेनमा मिलाउन लागि परको देख्दा÷सुन्दा हामी २१ औं सताब्दीका श्रृष्टीका सर्वश्रेष्ठ प्राणी हौं भन्न लाज मान्नु पर्ने भएको छ । नभए कञ्चनपुरकी उल्टाखामकी १३ वर्षिय बालिका निर्मला पन्तले न्याय पाइसक्ने
थिइन् । उनको बलात्कारी हत्यारा यतिबेला सजाय भोगीरहको हुन्थ्यो । बझाङ माष्टाकी १२ वर्षिया सम्झना कामीको बलात्कारी हत्यारापनि जेलको काल कोठरीमा पश्चातापको रापमा सेकिइरहको हुन्थ्यो । बलात्कारीलाई सामान्य नगद जरिबाना गरेर गाउँका अगुवाहरुले नछोडेको भए सप्तरीकी संगिता मण्डलले आत्महत्या गर्नुपर्ने थिएन । निर्मला, सम्झना र संगीता त केही उदाहरुण मात्र हुन् । यहाँ आफुमाथि हुने हिंसा सहन गर्न नसकेर आत्महत्या गर्नेहरुको संख्यापनि उत्तिकै छ ।
प्रेम प्रस्ताव अस्विकार गरको भन्दै एसिड आक्रमणको शिकार हुने महिला, दाइजो कम ल्याएको भनेर परिवारकै सदस्यले मट्टीलेल छर्केर जलाउने पनि महिलालाई । बोक्सीको आरोपमा दिसा खुवाइने वा कुटपिट र यातनाको शिकार हुनपर्ने पनि महिला । विवाहपछि एउटी महिलालाई घरबाहिर निस्कन पाउँदिन । उसले प्राप्त गरको शिक्षा दीक्षा अब घरको चुलो चौकामा सिमित हुन्छ, कहिँ कतै प्रयोग गर्ने र त्यसको माध्यमबाट आफुलाई आत्मनिर्भर र स्वाभिमानी बनाउने अवसर उसलाई हुँदेन । सुन्दा सामान्य लाग्छ र कतिपयले त अझ महिलालाई सम्मान गरको भन्ने अर्थ लगाउने गरको पाईन्छ तर यो महिलामाथि हुने गरको हिंसाको एउटा रुप हो ।
सभ्यताका दृष्टिले हामी धेरै अगाडी बढ्यौ त भन्छौं तर हाम्रा व्यवहारहरु अझै पाषाण युगका जस्ता छन् । अझै महिलालाई समान अधिकार दिन संसार हिच्किचाई हरको छ । सम्मान गर्न पछि हच्केको छ । काँधमा काँध मिलाएर अगाडी बढ्ने अवसर प्रदान गर्न पित्रृ सत्तात्मक समाज अझै तयार भएको छैन । समाजमा अगुवाको भूमिकामा आउने महिलालाई अनेक लान्छाना लगाएर पछाडी ल्याउने काममा अर्कि महिला लागि पर्ने तितो यथार्थ हामी कहाँ छ । महिला हिंसामा सहायक बन्ने र कहिले काँही त प्रमुख कारक बन्ने महिला पनि नभएका होइनन् । यस्तो विडम्बना हाम्रोमा मात्र होइन संसारभर छ ।
तर अब समय बदलिएको छ । सबैले हिंसा रहित समाज निर्माणमा लागि पर्नु पर्ने अवस्था आएको छ । आफुले पनि कुनै प्रकारका हिंसा नगर्ने र अरुले गरको देखेमा पनि त्यसको प्रतिवादमा उत्रने प्रण सबैले गर्नु परको छ । यदि हामी सबैले यस्तो प्रतिवद्धता जनायौं भने हाम्रो समाजबाट लैङ्गिक हिंसा मुलतः महिला माथि हुने हिंसाको अन्त्य हुनेछ । यसको अर्थ हाम्रो समाज समतामूलक बन्ने र समृद्धिको मार्गमा अगाडी बढ्ने छ । आउनुहोस् हामी सबै लैङ्गिक हिंसा अन्त्यको अभियानमा सहाभागी बनौं । लैङ्गिक हिंसा विरुद्ध प्रतिबद्ध बनौं ।
लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता
previous post