महिला जागरुकता सम्बन्धी दिवसका रुपमा मनाइने अन्तर्राष्ट्रिय नारी दिवस हरेक वर्ष ८ मार्चमा विश्वभर मनाईन्छ । राजनैतिक तवरबाट सुरु भएको भएतापनि हाल महिला अधिकार,महिला सशक्तिकरण र समानता आदि सवालहरु अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरु हुने गरका छन् । नेपालमा पनि विभिन्न कार्यक्रमहरुका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने चलन छ ।
आधा अकाश ढाक्ने नारी सिङ्गो राष्ट्रकी मुहान हुन् । आफुले नुनिला आँसुका ढिक्का पिएर संसारलाई सुस्वाद, दुग्धामृत पिलाउने नारीले जीवनमा छोरी, दिदी, बहिनी, पत्नी, बुहारी र आमा बनेर आफ्नो परिवार चलाएकी हुन्छिन् भने सृष्टिलाई समेत बचाएकी हुन्छिन्, अनि पो संसारलाई सजाएकी हुन्छिन् । जीवनका प्रत्येक क्षणका नैसर्गिक रुपमा आफ्ना त्याग, समर्पण, स्नेह र पवित्र भाव देखाउने नार ियुगौं युगकी श्रद्धा हुन् । भनिन्छ, जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ देवता पनि खुसी हुन्छन् ।
नेपालको सन्दर्भमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिलाहरु आजसम्म पनि विभिन्न हिंसाको शिकार भइरहेका छन् । हुन त महिलाको स्तरमा परिवर्तन ल्याउने भनेर विभिन्न सकारात्मक नियम कानुनहरु बनेका छन् । अहिले हामो संविधानमा पनि हरेक स्थानीय तहमा प्रमुख र उपप्रमुख मध्ये एक जना महिला नै हुनुपर्ने व्यवस्था भएको छ । वर्तमान समयमा राष्ट्रपति पनि महिला नै हुनुहुन्छ । सभामुख तथा प्रधानन्याधीश समेत महिला बनिसक्नु भएको छ भने उद्योग वाणिज्य संघको अध्यक्ष पनि महिला नै हुनुहुन्छ । संविधानमा महिलालाई हरेक स्थानमा ३३ प्रतिशत आरक्षणको व्यवस्था गरिएको छ । सरकारी कार्यालय देखि लिएर हरेक कार्यालयहरुमा अझ गाडीको सिटमा पनि महिलाहरुलाई आरक्षणको व्यवस्था गरिएको छ । छोरीलाई पैत्रृक सम्पत्तिको हक साथै आमाको नामबाट नागरिकता दिने व्यवस्था समेत भएको छ । साथै महिलाको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदको आधारमा सहभागिता रहने व्यवस्था भएको छ । यी आदि प्रयासहरु देखिएता पनि “कौवालाई बेल पाक्यो हर्ष न विस्मात” भने झै हामो देश नेपालमा महिला हिंसाका घटनाहरु दिनानुदिन बढदै गइरहेका छन् ।
महिला हिंसा विरुद्धको वर्ष पुस्तक“अन्वेषी” २०७७ अनुसार जुलाई २०१९ देखि जुन २०२० सम्म ओरेक नेपालमा अभिलेखिकरण गरिएका महिला माथि भएका कुल १७०७ वटा हिंसाका घटनाहरु विश्लेषण गर्दा सबैभन्दा बढी ६७.१ प्रतिशत अर्थात ११४५ महिलाहरु माथि घरेलु हिंसा भएको छ । त्यस्तै गरी ११.१ प्रतिशत(१७८) महिलाहरु सामाजिक हिंसाबाट, १०.४ प्रतिशत (१७८) महिलाहरु बलात्कारबाट २.३ प्रतिशत(४०) महिलाहरु बलात्कार प्रयासबाट, ३.७ प्रतिशत(६३) महिलाहरु यौनिक हिंसाबाट प्रभावित भएका छन् । यसैगरी ०.८ प्रतिशत(१३) महिलाहरुको हत्या, ०.१ प्रतिशत(२) महिलाहरुको हत्याको प्रयास, ०.६ प्रतिशत(१०) महिलाको वेचविखन गरिएको र तीन जना महिलाहरुको वेचविखनको प्रयास भएको पाइएको छ भने महिला हिंसाकै कारण ३८ जनाले आत्महत्या गरेको र ४ जना महिलाहरुले आत्महत्याका प्रयास गरेका घटनाहरु अभिलेखिकरण भएका छन् । महिला माथि सबैभन्दा बढी आफ्नै श्रीमान्बाट ५४ प्रतिशत (९२६) र घरपरिवारका सदस्यबाट १८ प्रतिशत (३०९) हिंसा भएको पाइएको छ ।
यी त भए अभिलेखिकरण भएका हिंसाका घटनाहरु । हाम्रो समाज परम्परागत मूल्य, मान्यता र सिद्धान्तहरुबाट अगाडि बढ्दै आइरहेको समाज हो । अझ भनौं पुरुष प्रधान समाज, संस्कृति र परम्पराको नाममा युगौंदेखि महिलाहरु पिडित हुँदै आइरहेका छन् । सतीप्रथा, देउकी प्रथा जस्ता केही नारी पिडक प्रथाहरुबाट केही माथि उठेपनि अझ भनौं नेपालमा गाउँ घरतिर महिलाहरुको अवस्था दयनिय नै छ । विवाह गरेर जाँदा दाइजो नल्याएकै कारण महिलाहरुलाई जिउँदै जलाइने समेत गरेका छन् । त्यसैगरी घुम्टो प्रथा जहाँ महिला आफ्नो अनुहार छोपेर वस्न बाध्य छन् । यस्ता कुरीतिहरुले विशेषगरी तराईमा निकै ठूलो जरा गाडेर बसेका छन् । यतिमात्र नभएर छौपडी प्रथा जस्तो अमानविय प्रथाबाट पनि महिलाहरु पिडित भइरहेका छन् । बालविवाह, बहुविवाह अझै पनि अन्त्य भएको छैन । महिलालाई बोक्सीको आरोप लगाई शारीरिक तथा मानसिक यातना दिने समेत गरेका छन । यदि श्रीमान्को निधन भयो भने श्रीमतीले जीन्दगीभर सेतो लुगा लगाएर विधवा बनेर अपहेलित भएर बाँचिरहेका छन् भने त्यही ठाउँमा श्रीमतीको निधन भएको ४५ दिन नपुग्दै श्रीमान्ले अर्काे विवाह गरेर गर्वका साथ हिँडेको हामी सबैले देखेका छौं । नारीले पराई घर जाने भनेर जन्मघर र अर्काको घरबाट आएकी भन्दै कर्मघरमा समेत उपेक्षित र अपहेलित हुनु परको छ ।
महिलालाई शिक्षामा सहभागिता भनिएता पनि छोरा र छोरीलाई पढाइने शैक्षिक संस्था नै फरक गराएर भेदभाव गरेको पाईन्छ । मनमा लागेका कुरा व्यक्त गर्दा या सहि मार्ग निर्देशन गर्न खोज्दा महिलालाई “पोथी बासेको” जस्ता अपशब्दले हिंसा गरिन्छ । कथमकदाचित विभिन्न संघर्षहरु पार गर्दै यदि रोजगारीको खोजिमा महिला पुगिन् भने महिलाबाटै जन्मिएका ति पुरुषहरुले “महिला त बच्चा जन्माएर बिदा लिन्छन्, काम गर्न सक्दैनन्, घरको काम भ्याएर ढिलो आउँछन् ।” जस्ता तिता शब्दहरु प्रयोग गरी जतिसुकै सक्षम महिलालाई पनि पछाडि पार्दछन् । शिक्षित नारीहरु नै समाजमा मेलमिलाप र शान्ति कायम गर्न सक्षम हुन्छन् भन्ने कुरा नबुझेर आजका पुरुषहरुले २१ औं शताब्दीको संघारमा आउँदा पनि महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक हुन सकेको छैन ।
यसरी नेपाल जस्तो विकासोन्मुख देशमा महिला हिंसा विकारल समस्याको रुपमा रहेको छ । हरेक उमेर समूहका महिलाहरुले हिंसाकाको सामना गर्नु परेको छ । महिला विरुद्ध हिंसा गर्भावस्था देखिनै हुने गरको कुरा नवजात शिशुहरुको असमान लैङ्गिक तथ्याङ्कले देखाएको छ । हरेक दिन पत्रपत्रिका पढ्दा, रेडियोमा र टिभीमा समाचार सुन्दा र हेर्दा धेरै जसो महिला हिंसाका समाचारहरु पढ्नु पर्ने तथा सुन्नु पर्ने हाम्रो दैनिकी नै बनेको छ । आफ्नो जन्मदाता पिताबाट छोरी बलात्कृत हुन पुगेको दर्दनाक घटना पनि घटेका छन् । त्यस्तै तिहारमा टीका र सयपत्रीको मालाले माथ र गला सजाउने आफ्नै दाजु भाइ भनाउँदा नरपिचासहरुबाट दिदी बहिनी बलात्कृत र हत्या भएका घटनाहरु पनि अहिले आलै छन् । निर्मला हत्याकाण्डको दोषी अझै पत्ता लगाइएको छैन । काम गर्ने स्थान, अध्ययन–अध्यापन गर्ने स्थान, सार्वजनिक यातायात आदि ठाउँमा पनि जवरजस्ती संवेदनशील अंगमा छुने, फोटो, साइबर क्राइम, मल्टी पार्टनर, फिल्म खिच्ने जस्ता कार्यहरु गरी महिलाहरु हिंसाको शिकार बन्न पुगेका छन् ।
यसरी महिला भएकै कारण शारीरिक, मानसिक र संवेगात्मक रुपमा पिडा या यातना दिने, आत्म सम्मानमा विभिन्न किसिमले आघात पु¥याउने अनि मानव अधिकारको उपभोगमा विभेद गर्ने जस्ता अमानविय हिंसाहरु महिलाले खेप्नु परेको छ । यस्ता हिंसा बढ्दै जानुका धेरै कारणहरु आँकलन गर्न सकिन्छ । जस्तैः शिक्षा, चेतनाको अभाव, कमजोर सरकारी संयन्त्र, अराजक स्थिति, विभिन्न सञ्चारका माध्यमहरु युट्युव, गीत, सामाजिक सञ्जालहरुमा आएका विकृतिहरु, मदिराजन्य पदार्थको खुल्ला विक्री वितरण र प्रयोग, पारिवारिक बेमेल, बहुविवाह, बाल विवाह, अनमेल विवाह, विज्ञापन, सर्कस आदिमा महिलाहरुको अर्धनग्न शरीर प्रदर्शन, अन्तरजातिय विवााहका कारण विचार, भावना र संस्कृति समेतमा मेल नहुनु र रुप अनि सौन्दर्य र धन सम्पत्तीको प्रलोभनमा परेर हिंसाको घटनाहरु बढी रहेका छन् । त्यस्तै नेपाली महिलाहरुको सहने बानी, पारिवारिक, सामाजिक डरले दूषित क्रियाकलापहरु बाहिर निस्कन नसक्नु, विभिन्न प्रकारका पिडा सहन नसकी कानुनी बाटो रोज्दा पनि उचित समयमा उचित न्याय प्राप्त गर्न नसक्दा अर्काे पिडा हुने र अपराधी अपराध गर्न उत्साहित हुने गरको छ । नेपाली समाजमा पुरुषहरु सधैं उच्च स्थानमा रहने र महिलाहरुको परिश्रम तथा कामको संवेदनशिलता र प्रजनन् स्वास्थ्यका उत्पादन मूलक भूमिका स्वीकार गर्न नसक्दा महिला यौन चाहना पुरा गराउने, घरको काममा सहयोग गर्ने, निःशुल्क सहयोगीको रुपमा हेर्ने परम्परा कायमै छ । वैदेशिक रोजगारमा जाने महिलाहरु पनि विभिन्न प्रकारका पिडा सहन बाध्य भएका र हिंसालाई सामान्य रुपमा लिने प्रचलनले हिंसा झन् बढ्न गईरहेको छ । त्यस्तै युवा रोजगारको व्यवस्था नहुनु र पुरुषहरु वैदेशिक रोजगारमा जाँदा घरमा महिलाहरु विभिन्न प्रकारका हिंसामा परेकोे अवस्थाहरु ज्यादै पिडादायक छन् ।
कुनैपनि हिंसात्मक क्रियाकलापले परिवार, समाज र विकासमा प्रत्यक्ष असर पार्ने भएकाले हिंसा अन्त्यका लागि हामी सबै एकजुट हुनु आवश्यक छ । महिलाहरुलाई शिक्षा÷चेतना दिनुका साथै विद्यालय स्तर देखिनै महिला मैत्री पाठ्यक्रम निर्माण गरिनु पर्दछ । देशमा कानुन बनाएर मात्रै हुँदैन, कार्यान्वयन पक्ष बलियो हुनु पर्दछ । कानुन सबैका लागि समान र भनसुन अनि पैसामा विक्ने हुनु हुँदैन । नेपाली समाजमा व्याप्त पुरुष मानसिकतामा सकारात्मक परिवर्तन हुनु पर्दछ । महिलाहरुको श्रम, विनयशिलता, सहनशिलता, लगनशिल र मेहनती गुणको कदर गरिनुपर्दछ । महिला हिंसा र अपमान गर्ने, यौन दुराचार गर्नेहरुलाई कडाभन्दा कडा सजायको व्यवस्था गरिनुपर्दछ । मदिराजन्य पदार्थहरु र लागू पदार्थ विरुद्ध जनचेतना फैलाउने र विक्री वितरणमा सरकारी निकायबाट प्रतिवन्ध गरिनु पर्दछ । समाजमा प्रत्यक्ष प्रभाव पार्ने सञ्चारमाध्यमहरु, युट्युव, सामाजिक सञ्जाल, गीत, नाच आदि सेन्सर गरेर मात्र प्रदर्शन गर्न दिनुपर्दछ । समाजमा विकृति ल्याउने किसिमका भिडियो, चलचित्रहरु प्रतिबन्ध गरिनुपर्दछ । आधुनिकताका नाममा पाश्चात्य मुलुकबाट भित्रिएको अर्धनग्न फेसन, यौन व्यवहार आदि नियन्त्रण हुनुपर्दछ । सामाजिक, सांस्कृतिक, धार्मीक, अन्धविश्वासी परम्पराका कारण छाउपडी, बोक्सी, झुमा, देउकी आदि भएर महिलाहरुले खेपिरहनु परेका यस्ता विकृति अन्त्य गरिनु आवश्यक छ । प्रत्येक परिवारमा महिलाहरुलाई सम्मानजनक व्यवहार गर्न सिकाउने किसिमका नैतिक शिक्षा दिने र अनुशासन सिकाउनु आवश्यक छ । वैदेशिक रोजगारको अन्त्य गरी देशमा रोजगारको व्यवस्था गर्ने, सरकारी नीति निर्माण तहमा महिला प्रतिनिधित्वको व्यवस्था गर्ने जस्ता प्रयासहरुले महिला हिंसाका समस्याहरु कम गराउन सकिन्छ ।
महिलाको प्रेम, आत्मियता विना पुरुष अनि पुरुषको साथ र सम्मान विना महिला अपूर्ण छन् । त्यसैले आउनुहोस्, हामी सबै हातमा हात, काँधमा काँध मिलाई महिला हिंसाको अन्त्य गर्नका लागि एकजुट भएर यस यात्रामा अगाडि बढौं र महिला हिंसाको न्यूनिकरण अनि निराकरण गर्न आजैदखि अनुशासित समाजको निर्माण तर्फ लागि परौं ।
महिला हिंसा र न्यूनीकरणका उपाय
previous post