
हरेक वर्षको फेब्रुअरी २ मा संसारभर ’विश्व सिमसार दिवस’ मनाइन्छ । सन् १९७१ मा इरानको रामसारमा भएको महासन्धिको सम्झनामा मनाइने यो दिवसले यस वर्ष विशेष र समयसापेक्ष नारा अघि सारेको छ— “सिमसार र कृषि”। यस नाराले मानव जीवनको आधार मानिने कृषि प्रणाली र प्रकृतिको मृगौला मानिने सिमसारबीचको गहिरो र अन्योन्याश्रित सम्बन्धलाई उजागर गरेको छ ।
यस वर्षको नाराले स्पष्ट पारेको छ कि सिमसारको रक्षा गर्नु केवल प्रकृति प्रेम मात्र नभई मानव जातिको सुरक्षित भविष्यको आधार पनि हो । सन् २०२६ को संघारमा उभिएर हेर्दा, हाम्रा प्राकृतिक पानीका स्रोतहरू र जैविक विविधताका केन्द्रहरू कति सुरक्षित छन् भन्ने प्रश्न टड्कारो बनेको छ ।
नेपाली बृहत् शब्दकोषले सिमसारलाई पानी नसुक्ने, अलिअलि झार हुने र दलदले जमिनका रूपमा परिभाषित गरेको छ । पारिस्थितिक प्रणालीको सन्तुलन मिलाउने भएकाले वैज्ञानिकहरू सिमसारलाई ‘पृथ्वीको मिर्गौला’ भन्छन् । जसरी मिर्गौलाले शरीरको फोहोर छान्छ, यसले त्यसरी नै प्रदूषित पानीलाई फिल्टर गरेर जमिनमुनिको पानी रिचार्ज गर्छ ।
सिमसार केवल हिलो र पानीको थुप्रो मात्र होइन, यो असंख्य जीवजन्तुको आश्रयस्थल हो। विश्वको कुल जैविक विविधतामध्ये ४० प्रतिशत प्रजातिहरू सिमसारमै आश्रित छन् । तापक्रम वृद्धि र जलवायु परिवर्तनको यो युगमा सिमसारले कार्बन उत्सर्जन घटाउन उल्लेखनीय भूमिका खेल्छ । यसले जमिनमा पाइने कुल कार्बनको एक तिहाइ भाग आफैँले सोसेर राखिदिन्छ ।
नेपालको कुल क्षेत्रफलको करिब ६ प्रतिशत भाग सिमसारले ओगटेको छ। सानो भूगोल भए तापनि यहाँका ५,३५८ वटा सिमसारीय क्षेत्रहरू जैविक विविधताका दृष्टिले निकै धनी छन् । नेपालका १९३ प्रजातिका चराचुरुङ्गी, १८५ प्रजातिका माछा र ३६ प्रजातिका उभयचरहरूको जीवन यही सिमसारमा अडिएको छ ।
सन् १९७१ मा इरानको रामसार सहरमा भएको महासन्धि
(रामसार महासन्धि) पछि विश्वभरका महत्वपूर्ण सिमसारलाई सूचीकृत गर्ने प्रक्रिया सुरु भयो । नेपालका कोशी टप्पु, घोडाघोडी ताल, जगदीशपुर, रारा, से–फोक्सुण्डो, बीसहजारी ताल, गोक्यो, गोसाइँकुण्ड, माईपोखरी र पोखराका नौवटा तालहरू गरी १० वटा क्षेत्रहरू विश्व रामसार सूचीमा सूचीकृत छन् । यी क्षेत्रहरूले नेपालको पर्यावरणीय पर्यटनमा समेत ठूलो योगदान दिएका छन् । हाम्रो सभ्यता र संस्कृति सिमसारसँग अन्योन्याश्रित छ । छठ पर्व मनाउन होस् वा नाग पञ्चमीमा नागको पूजा गर्न, हामीलाई जलाशय नै चाहिन्छ । हिन्दू संस्कारमा गरिने पितृ कार्यदेखि विभिन्न सांस्कृतिक अनुष्ठानहरू पानी र सिमसारकै सेरोफेरोमा सम्पन्न हुन्छन्। सिमसारको विनाश हुनु भनेको हाम्रा वर्षौँ पुराना परम्परा र सभ्यताको जग भत्किनु पनि हो ।
सिमसार र कृषिलाई एक सिक्काका दुई पाटाका रुपमा व्याख्या गर्न सकिन्छ । यस वर्षको नाराले इंगित गरेझैँ, सिमसार र कृषि एकअर्काका पूरक हुन् । कृषिको सफलता सिमसारको स्वास्थ्यमा निर्भर गर्छ । सिमसार सिँचाइको भरपर्दो स्रोत हो । सिमसारले प्राकृतिक जलाशयको रूपमा काम गर्छ, जसले खेतीपातीका लागि वर्षैभरि आवश्यक पर्ने पानीको आपूर्ति सुनिश्चित गर्छ । सिमसार क्षेत्रबाट बगेर आउने पानीले खेतीयोग्य जमिनमा पोषक तत्व र पाँगो माटो पु¥याउँछ, जसले बालीको उत्पादन बढाउन मद्दत गर्छ । सिमसारको त परागसेचन र कीट नियन्त्रणमा पनि महत्वपूर्ण भूमिका रहेको छ ।ः सिमसारमा बस्ने चराचुरुङ्गी र कीटपतङ्गले बालीनालीमा परागसेचन गर्न र हानिकारक किराहरू नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छन् । पशुपालन र जीविकोपार्जनसँग पनि सिमसारको उक्तिकै प्रगाढ सम्बन्ध छ । खासगरी नेपालका ग्रामीण क्षेत्रमा पशुवस्तुका लागि घाँस, ओभानो र पानीको प्रमुख स्रोत सिमसार नै हो ।
हाम्रो तनहुँ जिल्ला जलाधार र कृषि क्षेत्रमा धनी छ । काली, मादी, सेती र मस्र्याङ्दी जस्ता ठूला नदी र अन्य थुप्रै खोला प्रणालीका तटीय क्षेत्रहरू यहाँका मुख्य सिमसार हुन् । तनहुँका फाँटहरू र टारहरुमा गरिने खेतीपाती प्रत्यक्ष रूपमा यिनै नदी, खोला र आसपासका सिमसारमा आश्रित छन् ।
तर आधुनिक खेतीका नाममा गरिने रासायनिक मल र विषादीको अत्यधिक प्रयोगले सिमसारको पानी प्रदूषित भइरहेको छ । अर्कोतर्फ, सिँचाइका लागि सिमसारको पानी जथाभावी दोहन गर्दा यी क्षेत्रहरू सुक्दै गएका छन् ।
यति धेरै महत्व हुँदाहुँदै पनि सिमसार क्षेत्रहरू आज संकटको घेरामा छन् । बढ्दो सहरीकरण र जनसंख्या वृद्धिका कारण सिमसार क्षेत्रलाई प्लटिङ गरेर बस्ती बसाल्ने क्रम तीव्र
छ । ढल र औद्योगिक फोहोर सिधै जलाशयमा मिसाउनाले जलचरहरूको अस्तित्व संकटमा परेको छ । मिचाहा प्रजातिका वनस्पति (जस्तै जलकुम्भी) का कारण तालतलैयाहरूको मौलिक स्वरूप बिग्रिएको छ । कतिपय ठाउँमा चेतनाको अभावले सिमसारलाई ‘काम नलाग्ने ओसिलो ठाउँ’ ठानेर पुर्ने काम समेत भइरहेको छ ।
सिमसार र कृषिको सम्बन्ध सुमधुर हुनुपर्नेमा अहिले द्वन्द्व बढ्दो छ । सहरीकरणका कारण सिमसार पुरेर बस्ती बसाल्ने, नदीजन्य पदार्थ (ढुङ्गा, बालुवा) को अवैध उत्खनन गर्ने र औद्योगिक फोहोर सिधै जलाशयमा मिसाउने प्रवृत्तिले तनहुँका सिमसार क्षेत्रहरू खुम्चिँदै छन् । यसले अन्ततः कृषि उत्पादन घटाउने र भोकमरी निम्त्याउने जोखिम बढाएको छ ।
सन् २०२६ को नाराले हामीलाई झकझक्याएको छ— यदि हामीले सिमसार जोगाएनौँ भने हाम्रो कृषि प्रणाली पनि टिक्न सक्दैन । “सिमसार र कृषि” लाई सँगसँगै लैजानका लागि ’दिगो कृषि अभ्यास’ अपनाउनु आवश्यक छ
स्थानीय सरकारले सिमसार क्षेत्रको पहिचान गरी तिनलाई कृषि पर्यटन र संरक्षणसँग जोड्नुपर्छ। हामीले बुझ्नुपर्छ कि सिमसार केवल हिलो र झार भएको ठाउँ मात्र होइन, यो त हाम्रो भान्छासम्म पुग्ने खाद्यान्नको स्रोत र हाम्रो सभ्यताको जननी हो । त्यसैले, आफ्नो गाउँ–ठाउँका सिमसार जोगाउन आजैदेखि लागौँ । हाम्रो साझा भविष्य र समृद्ध कृषिका लागि सिमसारको संरक्षण गरौँ । विश्व सिमसार दिवसको शुभकामना !
