आयुष पोखरेल
यतिबेला देशमा कुनै कुराको चर्चा छ भने त्यो हो नक्कली भुटानी शरणार्थी बनाएर सयौं नेपालीलाई अमेरिका लगाएत तेस्रो देश पठाउने काममा संलग्नहरुका विरुद्धको सरकारी कदम । आठसयभन्दा बढी गैर भुटानीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लगाएत विभिन्न देशमा स्थायी वसोवासका लागि पठाउनेभन्दै अरबौं रुपैया ठगिएको र उक्त काममा नेपालको उच्च राजनैतिक नेतृत्व समेत जोडिएको कुराले चर्चा पाउनु स्वाभाविक नै हो । भुटानी शरणार्थी बनेर नेपाली मात्र होइन कतिपय चीनियाँ नागरिक समेत अमेरिका पुगेकाभन्ने समेतका हल्लाहरु चलेका छन् र शायद यही हल्लाका कारण अमेरिकाको पनि यो मामिलामा चासो बढेको छ ।
यो प्रकरणमा नाम मुछिएका, पक्राउ पुर्जी काटिएका र पक्राउ परेका व्यक्तिहरुको नाम सुन्ने हो भने विस्मित बनाउने खालको छ । अझ विस्मित बनाउने कुरा त के छ भने पक्राउ परेकाआफ्ना नेताको बचाउमा प्रमुख प्रतिपक्षी एमाले न्वारन देखिको बल लगाएर लागि परेको छ । यसका सबैजासो नेता टोपबहादुर ट्रयापमा परेको बताउँदै अरु नाम मुछिएका चाहिँ दोषी भएको बताउँछन् । उता आफुलाई लोकतन्त्र र शुसासनको पहरेदार बताउने कांग्रेस पक्राउ परेका आफ्ना नेतालाई निलम्बन गर्ने आवश्यकता समेत देखिरहेको छैन । यी दुबै घटनाको एउटै अर्थ हो, दलहरु आफ्नो नेतालाई चोख्याउन भित्रभित्रै मरिमेटेर लागि परेका छन् ।
यो प्रकरणमा नाम मुछिएका कतिपय हाई प्राफाईलहरु अझै समातिएका छैनन् । नाम मुएिकी मध्येकी मञ्जु खाँड सम्पर्क विहिन भएको कुराले शंकालाई थप बल पुगेको छ । प्रहरीले उनीहरुमाथिको अभियोग स्वतन्त्र पुष्टी नभएको बताएको छ । तर आम नागरिकले प्रहरीको यो भनाईलाई ठूलामाछा चोख्याउने प्रपञ्चको रुपमा बुझिरहेका छन् । यस्तो अवस्थामा नेपाल प्रहरीले जनविश्वास नगुमाउने गरी र निर्दाेष नपर्ने अनि दोषी नउम्किनेगरी तर सिघ्र आफ्नो कामलाई अगाडि बढाउनु जरुरी छ । मानवबेचविखनसंग पनि सम्बन्धित यो काण्डको उपयुक्त निकास निस्केमा नेपाली जनले सन्तोषको सास फेर्नेछन् ।