
अधिवक्ता
पृष्ठभूमिः
हामीले ३० बर्षे पञ्चायती व्यवस्था फालेर लोकतन्त्र ल्यायौं । राजनीतिक परिवर्तन गर्दै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको उपभोगका लागि संविधान पनि बनायौं । ऐन नियम कानून परिवर्तन पनि गरेकै जस्तो
लाग्दछ । अब त कानूनको शासन हुनुपर्ने हो । तर भएको कानूनलाई घेरा बन्दीमा पारेर छलछाम, धोका, कुटपिटका व्यवहार पञ्चायत कालीन कार्यशैलीबाट हाम्रो अनुसन्धान निर्देशित बन्दै गएको आभाष भएको छ ।
संविधान भन्दछः
कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयत्तिक स्वतन्त्रताबाट बञ्चित गरिने छैन । पक्राउ परेका व्यक्तिलाई पक्राउ परेको समयदेखि नै आफूले रोजेको कानून व्यवसायीसंग सल्लाह लिन पाउने तथा कानून व्यवसायी द्वारा पुर्पपक्ष गर्ने हक हुनेछ । त्यस्तो व्यक्तिले आफ्नो कानून व्यवसायीसंग गरेको
परामर्श र निजले दिएको सल्लाह गोप्य रहनेछ । कुनै कसूरको अभियोग लागेको व्यक्तिलाई आफ्नो विरुद्ध साक्षी हुन बाध्य पारिने छैन । पक्राउ परेको वा थुनामा रहेको व्यक्तिलाई शारीरिक वा मानसिक यतना दिईने वा निजसंग निर्मम, अमानवीय वा अपमानजक व्यवहार गरिने छैन । निवारक नजरवन्दमा रहेको व्यक्तिका स्थितिको बारेमा निजको परिवारका सदस्य वा नजिकको नातेदारलाई कानून बमोजिम तत्काल जानकारी दिनु पर्नेछ । कुनै पनि बालबालिकालाई …… जुनसुकै स्थान र अवस्थामा शारीरिक मानसिक वा अन्य कुनै किसिमको यातना दिन पाईने छैन । यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र त्यस्तो व्यवहारबाट पीडित व्यक्तिलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ ।
बालन्याय कार्यविधि भन्दछः
अनुसन्धानमा खटिने प्रहरी कर्मचारीले सादा पोशाक लगाउनु पर्दछ । आफ्नो परिचय खुल्ने कागज देखाई बालकलाई पक्राउ गर्नु परेको कारणबारे जानकारी दिनु पर्दछ । पक्राउ परेका बालबालिकालाई संविधान, संहिता, ऐन, नियमले दिएका कानूनी हकको बारेमा जानकारी गराउनु पर्दछ । सम्भव भएसम्म बाबुआमा दुवैलाई कसूरको सम्बन्धमा सूचना दिनु पर्दछ । सरजमिन गर्दा बालकको बाबुआमा भएसम्म दुवैजनालाई संरक्षक रोहबरमा राख्नु
पर्दछ । तुरुन्तै बालकको शारीरिक तथा मानसिक स्वास्थ्य जाँच गर्न लगाउनु पर्दछ । अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीले बालकसंग सोधपुछ गर्दा बालकले निजलाई सोधिएको कुराको उत्तर व्यक्त गर्न सक्ने बालमैत्री वातावरण बनाई सहज ढंगबाटमा सोध्नु पर्दछ । त्यसरी सोधपुछ गर्दा बालकको बाबु वा आमा वा संरक्षक वा कानून व्यवसायीको उपस्थितिमा गर्न सकिनेछ । बालकलाई एक पटकमा एक घण्टा भन्दा लामो समयसम्म र रातको समयमा सोधपुछ गर्नु हुँदैन ।
कुटपिटको कार्यशैलीः
संविधान, संहिता, बालबालिका सम्बन्धी ऐन, बालन्याय कार्यविधि नियमावली निर्देश गरेको कार्यविधि विपरित हुने गरी अभिभावक र कानून व्यवसायी समेतलाई भेटघाट गर्न नदिएर हतकडी लगाएर रातको दशबजेदेखि तीन बजेसम्म कुटपिट, निर्मम, अमानवीय वा अपमानजनक व्यवहार गरेर मानसिक र शारीरिक यातना दिएर, पैतालामा चुटेर हिड्न लगाएर, मुखमा चुटेर पानी पिउन लगाएर कुटपिटका निशानीहरु मेटाउने प्रपंच हुने गरेका तथ्यहरु खुल्दै गएका छन् । बीचमा घरपरिवारको साथमा पठाएर कानुनले दिएको अधिकार दिएको जस्तो गरी ती हिरासतमा राखेर पारेका घाउँ निशानी हिरासतबाट अभिभावकको जिम्मामा गएको बेलाको हुन सक्ने देखाउने प्रपंच पनि हुने गरेको पाइएको छ ।
निरीहताः
अभियुक्तको तर्फबाट, अथवा कानूनको विवादमा परेका बालबालिकाको तर्फबाट प्रतिरक्षा गर्ने कानून व्यवसायीले संविधान, संहिता, बाल अधिकार सम्बन्धी महासन्धी, बालबालिका सम्बन्धी ऐन, बालन्याय कार्यविधि नियमावलीले व्यवस्था गरेको कार्यविधिका बारेमा बुझेका
छन् । अथवा बुझ्नु पर्दछ । अभियोजन पक्ष राज्यले कानूनमा भएको त्यो व्यवस्था बमोजिमको कार्यविधि मिच्दा बोल्न पर्ने कानून व्यवसायी हो । कानून व्यवसायीहरुको पेशागत संगठन नेपाल बार एशोसिएशनमा मानव अधिकार तथा जनसरोकार समिति पनि छ । यस्तो बेला सो समितिले पनि आबाज उठाउनु पर्ने हो । कानून व्यवसायीले उपयुक्त स्थानमा बोलेपछि यस्ता सवाल उठाएपछि त्यसको सम्बोधन गर्ने न्यायपालिकाले हो । न्यायका पहेरदारहरु संख्यातन्त्रबाट हायलकायल देखिन्छन् । ऐन मौकामा बोल्न सक्दैनन् । आश र त्रासले कानुनको शासन घेराबन्दीमा पर्दा ऐक्यबद्धता प्रदर्शन गर्न सक्दैनन् । अर्थात ‘हुन त हो त र के गर्ने ?’ को मनोदशामा निरिहता प्रकट गर्दछन् । त्यसैले हाम्रो अनुसन्धान पद्धति पञ्चायतकालिन कार्यशैलीबाट सबैलाई तर्साएर छलछाम, धोका, कपटपूर्ण गतिविधिमा अगाडि बढ्न सफल भएको छ ।
निष्कर्षः
लोकतन्त्रमा कानूनको शासन हुनु पर्दछ । सत्ताअहंकारले संख्यातन्त्रको दम्भ प्रकट हुँदा राज्यसंरचना पञ्चायतकालिन कार्यशैलीमै निरन्तर चलिरहेका छन् । राज्यसंयन्त्रको यो कार्यशैलीका विरुद्धमा बोल्नु पर्ने, नेपाल बार एशोसिएशन, न्यायपालिकाले निरिहता प्रकट गर्न थाले भने त आश, त्राश र प्रभावमा नपरि निर्भिकतापूर्वक लेख्ने संचारकर्मिहरुले पनि यस्तो कुटपिट, हैरानी, निर्मम, अमानवीय वा अपमानजक व्यवहार गरेको शारीरिक मानसिक यातना दिएको, रातको दश बजेदेखि तीन बजेसम्म कुटपिट गरेको थाहै पाउन सक्दैनन् । अन्ततः कानूनको शासन मर्दछ । मत्स्य न्यायले कब्जा जमाउँदै अगाडि बढ्दछ । सकिन्छ लोकतन्त्र ।