नेपाली काँग्रेस तनहुँको १४औं अधिवेशनले कडा प्रतिष्प्रर्धाका बीच देबकुमार श्रेष्ठलाई उपसभापतिमा निर्वाचित गरेपछि तनहुँको उद्योगी व्यापारीहरुमा एक खालको तरंग उत्पन्न भएको छ । नेतृत्व लिन गोविन्दराज जोशीको शुभकामना पाउनु पर्दोरहेछ भन्ने विश्वास जागृत भएको छ । त्यसैको एउटा उदाहरण हो तनहुँ उद्योग वाणिज्य संघको हालै सम्पन्न अधिवेशनमा अध्यक्षको प्रत्यासी भएर सम्मानजक मतका साथ उपविजेता बनेका बैकुण्ठनाथ मिश्रले तनहुँ काँग्रेसको अधिवेशनको मतपरिणाम आईतवार सार्वजनिक भए लगत्तै पत्रकारको समाचारमा गरेको टिप्पणी । समाचार कमेन्टमा मिश्र लेख्छन्– ‘शक्तिभक्ति जो सुकै होस् । यो सफलता गोबिन्दराज जोशीकै हो । अरु पात्र मात्र हुन् । प्रभु उहाँ नै हुनुहुन्छ । मैले महत्वपूर्ण व्यक्तिसंग राखेकै हो । उहाँ पनि बनाउने राम्रै गर्ने होइन । थोरैलाई देवता धेरैका रवणै(रावणै) हो ।’ यो टिप्पणीको भाव आक्रोस मिश्रित छ । तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षको प्रत्यासी, परिणाममा उपविजेता बनेपछि पनि यस्तै आक्रोस मिश्रित स्टाटस मिश्रबाट आएको थियो । त्यतिबेला नेपाली काँग्रेस तनहुँको कुनै पनि गुटले आफूलाई सहयोग नगरेको आक्रोस पोखिएको थियो ।
पौडेलको शाखः
नेपाली काँग्रेस तनहुँको १४औं अधिवेशनबाट नेपाली काँग्रेसका बरिष्ठ नेता, नेपाली काँग्रेसको १४औं अधिवेशनमा सभापतिका दावेदार रामचन्द्र पौडेलको शाख नराम्ररी गिरेको छ । जोशी र पौडेलको गुटको विजेता र उपविजेता हुने तनहुँ काँग्रेसको राजनीतिमा अहिले जोशी समूह १४ अधिवेशनलाई बहिष्कार गरेर बस्दा पौडेल समूहको अस्तित्व नै हराएको छ । रामचन्द्र पौडेलको संसदीय निर्वाचन क्षेत्र विकास कार्यक्रम संयोजक भएर विस्तारै राजनीतिमा क्रियाशिल भएका विश्व वास्तोला तनहुँ काँग्रेसको सचिव हुँदासम्म पौडेल समूहको पहिचान कायम थियो । १४औं अधिवेशनमा जोशी समूह प्रतिष्पर्धाको घेराबाट बाहिर बस्दा प्रकट भएको यथार्थमा विश्व वास्तोला ध्रुव वाग्लेको समूहका दह्रो पिलर बनेर उभिए । क्षेत्रीय सभापतिको उम्मेदवारीले त्यही पुष्टि गरेको छ । त्यसै गरी पौडेल समूहको अस्तित्व बचाई राखेका वैकुण्ठ न्यौपानेले पनि यो १४औं अधिवेशनमा पौडेल समूहका लक्ष्मी आचार्य, रामचन्द्र अधिकारी, अशोक श्रेष्ठलाई विश्वास गर्न सकेनन् । वैकुण्ठ न्यौपानेलाई भरोसा लाग्यो, जोशी समूहबाटै अवसरको खोजीमा बहिरिएका समूहको । १४औं अधिवेशनबाट पुनः नेपाली काँग्रेसको सभापति हात पार्नका लागि वैकुण्ठ न्यौपानेले कृष्ण गौतमलाई अगाडि, रघुनाथलाई पछाडि, किसान गुरुङ्गलाई दाहिने, उदयराज गौलीलाई देब्रे राखेर आफू बीचमा बसेर अगाडि बढ्े । यसको मूल कारण रामचन्द्र पौडेलले आफ्नो समूहको संरक्षण गर्न सक्दा रहेनछन् भन्ने निष्कर्षमा वैकुण्ठ न्यौपाने पुगेको परिस्थितिले पुष्टि गरेको यथार्थ हो । त्यतिमात्रै होइन, बैकुण्ठ न्यौपाने अलोकप्रिय भएको महसुस गरेका रामचन्द्र पौडेलले लक्ष्मी आचार्य, रामचन्द्र अधिकारी, ताराप्रसाद श्रेष्ठ, अशोक श्रेष्ठलाई नेपाली काँग्रेस तनहूँको वैकल्पिक नेतृत्वमा स्थापित गराउन सकेनन् । यो असक्षमता लुकाउन ध्रुब वाग्लेका उम्मेदवार बनेका जीतप्रकाश आलेलाई नेपाली काँग्रेस तनहुँको सभापति प्रस्तावित गर्न पुगेपछि आफ्नै कार्यकर्ताको नजरमा समेत पौडेलले झनै शाख गिराएका छन् ।
जोशीको वर्चस्वः
नेपाली काँग्रेस तनहुँको राजनीतिक उपस्थिति प्रतिबन्धित कालमा पनि यति कमजोर थिएन । नेपाली काँग्रेसले हरेक भूमिगत गतिविधि र २०३७ सालको जनमत स्रग्रहमा देशभरमा अग्रस्थान देखाए थियो । संगठनका गतिविधिलाई प्रभावकारी रुपमा मजबुद बनाउने क्षमता प्रदर्शन गरेका जोशीलाई दुई दुई पटक टिकट नदिन गण्डकीको टिकट कब्जामा लिएका पौडेलले पछिल्लो पटक महासमिति सदस्य समेत रहेका जोशीलाई समितिको बैठक प्रवेशमा रोक लगाउन शेरबहादुर देउवा समक्ष विन्ति विसाए । पौडेल आफ्नो प्रतिष्पर्धी हुन नसक्ने बनाउने दाउमा रहेका देउवालाई पौडेलकै गृहजिल्लामा झगडा पारिदिने उपयुक्त अवसर मिल्यो । महासमिति वैठकमा जोशीलाई प्रवेश गर्न दिन नसकेको निरीहता शेरबहादुर देउवाले जोशीसमक्ष प्रकट गरे । यो सन्देश प्रवाह भएपछि जोशी मात्रै होइन, तनहुँको विकासमा गोविन्दराज जोशीको भूमिका बुझेका, देखेका, जानेका र भोगेका सबै काँग्रेसजनलाई आक्रोसित बनायो । परिणामतः गएको निर्वाचनमा क्षेत्र नं. १ मा आफैले टिकट लिएर आएका नेता रामचन्द्र पौडेललाई मतदान गरिदिएनन्, हार्न प¥यो ।
प्रतिषोध र पूर्वाग्रहबाट झण्डै १८ बर्ष सत्ता र पार्टी राजनीतिबाट बाहिर पारीँदा समेत तनहुँको पार्टी संगठनमा अथक सक्रियता देखाएका जोशीले १४औं अधिवेशन बहिष्कार गर्दा समेत तनहुँको राजनीतिमा वर्चस्व स्थापित गरेर देखाएका छन् । तनहुँ उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचनका उपविजेता मिश्रको टिप्पणीले मात्रै होइन, उनले संकेत गरेको विजेता पविन्द्र कुमार श्रेष्ठ, खानेपानी तथा उपभोक्ता समितिका अध्यक्ष बृषराज श्रेष्ठले पाएको सर्वसम्मत अध्यक्षको जिम्मेवारीले जोशीको वर्चस्वको पुष्टि गरेको छ । त्यसैगरी सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको निर्वाचनमा पौडेल समूहको पहिचान बोकेका सूर्यचन्द्र लम्साल र देउवा समूहको पहिचान बोकेका सुरेशचन्द्र वाग्ले दुवैको पराजयले पनि त्यस्तै संकेत गरेको छ । हुँदा हुँदा महाधिवेशन प्रतिनिधिको मात्रै अपेक्षा गरेका तनहुँ उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठले पाएको नेपाली काँग्रेसको उपसभापतिको जिम्मेवारीले झनै बलियो रुपमा नेपाली काँग्रेस तनह्ँको संगठनमा जोशीको वर्चस्वलाई पुष्टि गरिदिएको छ । तनहुँको राजनीतिको विश्लेषण गर्नेहरुले देवकुमार श्रेष्ठ जोशी समूहको भावी सभापतिको रुपमा चित्रण गर्न थालेका छन् ।
तनहूँ काँग्रेसको शाखः
२००७ सालको क्रान्तिताका श्रीभद्र शर्मा, पदमबहादुर आले, गोवर्धन शर्मा, मणिराज रानाहरुले बचाएको नेपाली काँग्रेसको शाखलाई २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रह, २०४६ को आन्दोलन, २०४९ सालको संसदीय निर्वाचन र स्थानीय निर्वाचनहरुमा तनहुँको राजनीतिमा वर्चस्व बचाउन जोशीहरुको नेतृत्व दायी भूमिका रहेको थियो । त्यही वर्चस्वलाइ फर्काउनका लागि संसदीय समितिले नीतिगत रुपमा काम नगरे जस्तै, महासमितिको बैठकमा सदस्यलाई प्रतिषोधपूर्ण रुपमा निषेध गरे जस्तै निषेध गरेर सकिदैन भन्ने अब त बुझ्नु प¥यो नि संगठनको नेतृत्व सम्हालेकाहरुले । नेतृत्व स्वीकार गर्नु भनेको दासत्व स्वीकार गर्नु होइन । नेतृत्वले आमकार्यकर्ताको भावनात्मक समर्थन तान्न सके मात्रै असली नेतृत्व हुन्छ । त्यस्तै नेतृत्वले नेपाली काँग्रेस तनहुँको राजनीतिमा श्रीभद्र शर्मा, पदमबहादुर आले, गोवर्धन शर्मा, मणिराज रानाहरुले स्थापित गरेको शाख फर्काउन सक्नु पर्दछ । सुरा, सुन्दरी, तस्करी, कमिशन र भ्रष्टाचारको मोहजालमा वर्तमान नेतृत्व फँसेमा पुर्खाले बचाएको वर्चस्व फर्काउन त परै जाओस् भएको बचाउन पनि कठिन हुनेछ ।
अबको रणनीतिः
प्रतिषोधले निर्देशित भएर कारवाही गर्नेहरु आज कारवाहीमा पर्नेहरु भन्दा बढी डराएका छन् । पश्चातापले छटपटिएका छन् । लज्जित भएका छन् । मुन्टो लुकाउन उनैको पछ्यौराको फेर तानी रहेका छन् । राजनीतिक पद पनि लिने, राजनीतिक लाभ पनि लिने प्रबृत्तिले काँग्रेस कमजोर बनाएको बुझेर ‘एक व्यक्ति एक पद’ को नारा लगाउनेहरुले अबका दिनमा त्यो नारा नभूलुन । एक पटक भन्दा दोस्रो पटक त्यो पदको लोभ नगरुन् । निषेधको राजनीति होइन, खुल्ला प्रतिष्पर्धाको राजनीतिलाई अबको नेतृत्वले संरक्षण गर्न सकोस् । यो निर्वाचनले पनि देखाएको छ नि कार्यकर्ताले नेतृत्वको सही मूल्याङ्कन गर्न सक्दछन् भनेर । अझै कार्यकर्तालाई स्वतन्त्र विवेकले चल्न दिने हो भने, ‘दुधको दुध पानीको पानी’ कार्यकर्ताले छुट्टयाई दिने थिए । तर नेताहरुले आफ्नो अस्तित्व संरक्षणका लागि अनेक आश, त्रास र प्रलोभनमा पारेर कार्यकर्तालाई विवेकबाट निर्देशित हुनै नसक्ने तुल्याउँछन् । कार्यकर्तालाई गुटको धागोमा बाँध्न छोडौं । कार्यकर्तालाई नीति र कार्यक्रमले संगठित गर्ने प्रयास
गरौं । विधान, विधि, परम्परालाई समय परिस्थिति र परिवेश अनुसार परिमार्जन गर्दै अक्षरशः पालना गरौं । पालना गर्ने प्रण गरौं । नेतृत्वमा पुगेपछि सत्ता र शक्तिको अहंकार नगरौं अबका दिनमा काँग्रेस भए वापत कसैले दुःख पाउन हुँदैन, अपमानित हुन हुँदैन ।
तनहुँको राजनीतिमा जोशीको वर्चस्व
previous post