मोतीको माला हातमा परेपछि मैले सोंचेको थिए, तत्कालै मैले यो पुस्तक पढेर मैले पनि केही लेख्नु पर्दछ । यो प्रेरणा यसकारण पनि जागेको थियो थियो मोतीको माला लेखेककै हातबाट मेरो हातमा परेको थियो दोस्रो कारण थियो, मैले सुनेको ने.का.तनहुँको इतिहासमा मोतीकुमार श्रेष्ठको योगदानबाट पनि मोतीको मालाप्रति मेरो विशेष श्रद्धा थियो । त्यसैले पनि मोतीको माला पढेर समिक्षा गर्ने मेरो अन्तष्करणको इच्छा छिटो साकार हुन नसके पनि मेरो मानसपटलबाट विस्मृतिमा पुगेको थिएन । त्यो अवसर कोरोना भाईरसबाट बच्नका लागि नेपाल सरकारले २०७६ चैत्र ११ गते बाट घोषणा गरेको लकडाउनले प्रदान गरेको थियो ।
यसभित्र
मैले पढेर जानकारी पाए अनुसार मोतीको मालाभित्र विशेष गरी निम्न विषयमा आत्मबृत्तान्त केन्द्रित छ ।
क) मोतीको राजनीतिक यात्रा
ख) तनहुँसुरको पर्यटकीय पूर्वाधारको पहिचान
ग) बन्दिपुरबाट दमौली सदरमुकाम सार्दाका क्षणहरु
घ) तनहुँको शैक्षिक विकास मोतीको योगदान
औपचारिक शिक्षा आर्जन नगरेका व्यक्ति मोतीकुमार श्रेष्ठले उल्लेखित विषय वस्तु समेटर प्रकाशित गरेको मोतीको मालामा प्रयोग भएका मौलिक अथवा चलनचल्तिका शब्दावलीहरुले तनहुँवासीको अपनत्व ग्रहण गर्न कृति सफल भएको छ । यो कृति इतिहासका अध्येताका लागि उपयोगी सन्दर्भ सामाग्री लाग्यो । आफ्ना स्व.पिता श्यामलाल श्रेष्ठ, स्व. माता न्यौरीमायाँ श्रेष्ठ र पत्नि स्व. शिबमायाँ श्रेष्ठप्रति गरेको समर्पणले उनको परिवारप्रतिको दायित्वबोधलाई मोतीको मालाले राम्रोसंग उजागर गरेको छ । साथै भाई प्रेमकुमार छोराहरु काशीराम र हरिरामलाई आवश्यकता अनुसार परिचालन गरेको सन्देश दिएर आफ्ना हरेक अभियानमा आफ्नो परिवार साथमा लिएर अगाडि बढेको सन्देश मोतीले दिएका छन् । २६ शिर्षकमा उनिएको मोतीको मालाको पहिलो थुंगाको रुपमा सदरमुकाम दमौली सार्दाको पूर्वाभ्यासको आत्मबृतान्तले मोतीप्रति झनै श्रद्धा बढाएको छ । कालिका मन्दिर प्रस्ताव असफल हुँदा दुर्गामन्दिरको स्थापना र पछि २०६३ सालमा गएर आफ्नो सपना साकार भएको विवेचनाले मोतिको धार्मिक आस्थामा कसी लगाएको छ ।
राजनीतिक यात्रा
सर्वप्रथम उनको राजनीतिक यात्राको बारेमा पुस्तकमा समावेश भएका विषयवस्तुको विवेचना गर्न मोतीले राजनीतिक रुपमा पु¥याएको योगदानले जागेको श्रद्धाले मलाई दवाव दियो । २००७ सालमा नेपाली काँग्रेसका तत्कालिन नेता श्रीभद्र शर्माले तनहुँसुरमा आयोजित आमसभामा गरेको क्रान्तिकारी भाषणबाट जोशीलो काँग्रेस भएका २० बर्षे युवा मोती प्रजातन्त्र वहालीको आन्दोलनमा बन्दिपुर सदरमुकाम कब्जा गर्न जाँदा सेनाको गोली लागेर हातेमालो गर्दै अगाडि बढेका उत्तरकुमार श्रेष्ठ, धर्मराज वतास, ह.सन्तबहादुर रानामगर चन्द्रबहादुर नेपाली धर्मध्वज गुरुङ्ग, खड्गबहादुर गोदारले सहादत प्राप्त गरेको देख्ने आन्दोलनकारीका सहयात्री प्रत्यक्षदर्शी मोतीले कहेको बृतान्तले प्रजातन्त्रप्रतिको बलिदानी चित्रण गरेको छ । २०३६ सालमा जनमतसंग्रहमा बहूदलको पक्षमा प्रचारप्रसार गर्न बनेको समितिको नेतृत्व गरेका मोतीले नेपाली काग्रेसको पार्टी कार्यालय सञ्चालन गर्न निःशुल्क रुपमा अफिस कोठा उपलब्ध गराएका थिए । सत्याग्रहमा आफू समेतका नेताहरुको सहभागिता र गिरफ्तारी दिएका थिए । ठूल्दाईको पहिचान बनाएका मोतीले कपडा पसल, राशन पसल, तोरीको मिलबाट गरेको आम्दानी काँग्रेसका नेताहरुको बाटा खर्च र पार्टीको काममा धक नमानी खर्च गर्न पाउँदा आनन्दित हुन्थे ।
तनहुँसुरको पर्यटकीय पूर्वाधार
हिजोको तनहुँसुर दरबारको इतिहास बचाउन सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने पूर्वाधारहरु सुझाएर मोतीले जन्मस्थलप्रति ठूलो गुन लगाएको तथ्यलाई मोतीको मालाभित्रका श्री गुमेको तनहुँसु्र, तनहुँसुर दरबारबाट अवलोकन गर्दा, तनहुँसुरको पुरानो इतिहास, तनहुँसुरको महत्वपूर्ण चाडपर्व र जात्राहरु, गद्धीचौतारामा भएका केही अनौठा निर्णयहरु र तनहुँसुरको सेरोफेरो अवलोकन जस्ता विषयहरुले पुष्टि गरेको छ ।
दमौली सदरमुकाम
बन्दिपुरको सदरमुकाम दमौली सार्ने अभियानमा मोतीले खेलेको भूमिकालाई मोतीको मालाले सचित्र वर्णन गरेको पाईन्छ । घाम पनि नलागेको, पानी नपरेको साँझको समयमा कालो छाता ओढेर १५० को संख्यामा बन्दिपुरबाट सदरमुकाम दमौली सार्न नदिने अभियान दमौली प्रवेश गर्दा सिर्जना भएको भय र त्रासका बाबजुद दमौलीवासी, मानुङवासी अथवा दमौली सदरमुकाम सार्ने पक्षधरहरु सूर्यभक्त वाग्ले, मोतीकुमार श्रेष्ठ, प्रीयनाथ पौडेल, विश्वनाथ, पुरुषोत्तम काफ्ले, चक्रपाणी, काजीमान, टुलनारायण, विष्णुबहादुर, छविलाल, रविराज, खड्गबहादुर श्रेष्ठ, देवराज र भोजराज खनालको मेहनत र समर्पण चर्चा गरेर मोतीले गुन लगाएका छन् । साथै आजको पुस्ताले पनि यो पुस्तक अध्ययन गर्न जरुरी छ भन्ने सन्देश मोतीको मालाले दिएको छ । त्यो भयावह संकटबाट मोचन गराउने, युवाहरुलाई सुझबुझ दिने मेघनाथ कैनीको बारेमा आजको पुस्ताले बुझ्न मोतीको माला पढ्नै पर्ने खालको छ । मोतीले त्यतिबेलाका जल्दाबल्दा युवाहरु दमौली सदरमुकाम सार्ने अभियानमा बन्दिपुर पुग्दा देखेको बन्दिपुरवासीको अवज्ञा आन्दोलन, मारपिट, भागाभाग र कर्लुङ्गका श्रीबहादुर, छाङ्गका वीरबहादुर मल्ल, थानसिङ्गका निर्मल रानाभाट गंभिर घाईते भएको, भोलिपल्ट निर्मल रानाभाटले ज्यानै गुमाएको बलिदानी संघर्षका बारेमा बुझ्नका लागि मोतीको माला उपयोगी सामाग्रि हो ।
शैक्षिक विकासमा योगदान
औपचारिक शिक्षा आर्जन नगरेका मोतीले तनहुँको शैक्षिक विकासमा लगाएको गुन यस मालाबाट जो कोहीले जान्न बुझ्न र थाहा पाउन सक्दछ । बन्दिपुरबाट दमौली सदरमुकाम सार्दा सहादत प्राप्त गर्ने निर्मल रानाभाटको नाउँबाट भादगाउँको शमीटारमा निर्मल माध्यमिक विद्यालय स्थापना गर्न सक्रिय भूमिका निर्वाह गरेका मोतिकुमारलाई दमौलीमा क्याम्पस खोल्न २०३२ सालदेखि प्रयासरत शिक्षप्रेमीहरुको पहिचान मोतीको मालाले गराएको छ । २०४४ सालमा आएर गोविन्दराज जोशीको पहल र दमौलीवासीको सक्रियतामा २०३२ सालदेखिको क्याम्पस सञ्चालन गर्ने दमौलीवासीको सपना साकार भएको मोतीको मालामा उजागर भएको छ ।
संक्षेपमा
मोतीको राजनीतिक यात्रा, शैक्षिक विकासका योगदान पढ्दा अध्ययन गर्दा गोर्वधन पोख्रेल, मेघनाथ कैनीले दमौलीको सेरोफेरोमा पु¥याएको राजनैतिक, सामाजिक र शैक्षिक योगदान अविष्मरणीय छ । त्यसैगरी ८४ बसन्त पार गरिसकेर पनि तनहुँवासीका लागि मोतीको माला दिएर गुन लगाउने मोतीकुमार श्रेष्ठलाई पनि तनहुँमा राजनीतिक आन्दोलन गर्ने, सामाजिक आन्दोलन गर्ने, शैक्षिक आन्दोलन गर्ने जो कोहीले भुल्ने छैनन्, भुल्न सक्ने छैनन्, भुल्न हुनेछैन ।