पाँच वर्ष अगाडि यही समयमा भानु, व्यास, शुक्ला हुँदै चितुवाको आक्रमण आँबुखैरेनीसम्म पुगेको थियो । त्यतिबेला भानु नपामा ६ जना बालबालिकाको ज्यान लिएर आतंक मच्चाएको चितुवाको आतंक आँबुखेरेनी सम्म पुगेका थियो । त्यसको केही दिन अघि शुक्लागण्डकीका एक बालकको ज्यान लिएको समाचार आएको थियो । सोको दुःख विर्सन नभ्याउँदै आँबुखैरेनीमा जंगली जनावरले एक बालकको ज्यान लिएको खबरले तनहुँबासीलाई चिन्तित तुल्याएको थियो । पाँच वर्षपछि त्यो चिन्ताको पुनरावृत्ति भएको छ, आँबुखैरेनीमा ।
यतिबेला आँबुखैरेनीमा चितुवाको आतंकको समाचार आइरहेको छ । चितुवाको आतंक बढेसंगै चितुवा नियन्त्रणका लागि विभिन्न प्रयत्न भएका थिए । भानुमा खोर बनाएर केहि भाले तथा पोथी चितुवा परेर अन्यत्र स्थानान्तरण गरिएको थियो । कतिपय चितुवा सोही अवधिमा मृत अवस्थामा पनि भेटिए । तर आक्कलझुक्कल चितुवाको आक्रमण रोकिएको थिएन । समग्रमा भन्नु पर्दा चितुवाको नियन्त्रण प्रयास प्रभावकारी हुन सकेको थिएन । स्थानीयमा चितुवाको त्रास बाँकी नै थियो । बीचमा झण्डै पाँच वर्ष चितुवाको आक्रमणको समाचार पढ्नु र सुन्नु परेको थिएन । तर केही सातादेखि फेरी चितुवा देखिन थालेका र आक्रमणको डर बढेको समाचार पढ्न र सुन्न परेको छ ।
चितुवाले मानिसको ज्यान लिन थालेसंगै यसको नियन्त्रणका लागि भइरहेका प्रयासहरु प्रभावकारी हुन नसक्नुमा कतै हामी व्यथा एकातिर औषधी अर्काेतिर भन्ने भइरहेको त होइन ? प्रश्न उब्जेको छ । वासस्थानको अभाव त न होला किनभने सामुदायिक वनको विकासमा संसारमै सफल राष्ट्र मानिन्छ नेपाल र यसैका कारण चितुवाको वासस्थान सुरक्षित छ भन्न सकिन्छ ।
तर कतै मांशहारी जंगली जनावरको संख्या बढ्दै जाँदा अनि चोरी शिकारीका कारण उनीहरुको आहाराको अभाव हुँदा गाउँ निस्कन थालेका र जे शिकार गर्न सजिलो हुन्छ त्यही शिकार गरेर आफ्नो पेट भर्न थालेका त होइनन् भन्ने तर्फ कसैको ध्यान गएको देखिएको छैन । चितुवाको आहाराका रुपमा रहेका वन्यजन्तुहरु मानिसको आहारा बन्न गएसंगै कतै जंगलमा चितुवाको आहारामा कमि भएको त होइन ? हामीले उनीहरुको प्राकृतिक आहार खोसेका कारण उनीहरु भोकको आगो शान्त पार्न गाउँ छिर्न र हामीमाथि नै आक्रमणमा उत्रन थालेका त होइनन् ?
यता तर्फ सम्बन्धित सबैले ध्यान दिएर चितुवा आतंकको दीर्घ समाधान खोज्ने कि ?
चितुवा आतंकको दीर्घ समाधान
previous post