हिजो संसार भर र नेपालमा एकसाथ विश्व खाद्य दिवस मनाइयो । सन् २०२५ सम्ममा विश्वमा विद्यमान खाद्यन्न संकटलाई कम गर्ने उद्देश्यले १६ अक्टोबरलाई विश्व खाद्य दिवसको रुपमा मनाउन थालिएको हो । नेपालमा पनि यो दिवस मनाईन्छ । तर दिवसको मर्म आत्मसाथ गर्न सरकार र नागरिक दुवै चुकेको महसुस भइरहेको छ ।
कृषि उत्पादन बढाउन मल तथा बीउ समयमा उपलब्ध गराउने, कृषि औजारहरुमा अनुदान उपलब्ध गराउने तथा आधुनिक र व्यवसायिक कृषि प्रणाली अवलम्बन गर्न आम नागरिकलाई प्रोत्साहन गर्ने नीति सरकारले लिन नसक्दा खाद्यान्न उत्पादन राम्रो हुन सकेको छैन । उत्पादित कृषि उपजले बजार नपाउँदा किसानहरु उत्पादन कार्यमा प्रोत्साहित हुन सकेका छैनन् । यसले सरकार खाद्यान्न अभावका कारण हुने मानविय क्षति कम गर्ने कुरामा संवेदनशिल नभएको प्रष्ट पार्दछ ।
नागरिक स्तरमा पनि खाद्यान्न उत्पादन र खाद्य सुरक्षामा ध्यान दिन सकेको पाईँदैन । चाडबाड वा भोज भतेरहरुमा गयौं भने थुप्रै खाद्यान्न खेर गइरहेको हामी देख्न सक्छौं । ग्रामिण क्षेत्रमा जाँड वा रक्सी बनाउन थुप्रै अन्न कुहाएर फाल्ने गरेको पनि हामीले देख्दै आएका छौं । उत्पादन गरेको खाद्यान्नको पनि हामीले राम्रो सुरक्षा गर्ने गरेका छैनौं । यसले खाद्य सुरक्षामा हाम्रो असंवेदनशिलतालाई बताउँछ ।
केही वर्ष अगाडि सम्म खाद्यान्न निर्यात गर्ने हामी अहिले आयातकर्ता भएका छौं । झण्डै दुइ तिहाइ जनसंख्या कृषिमा निर्भर भएको हाम्रो देश खाद्यान्नको आयातकर्ता हुन विडम्बना पूर्ण अवस्था हो । यसको न्यूनिकरणका लागि सरकारले कृषि कर्ममा आर्कषण बढाउने खालका कार्यक्रमहरु ल्याउनु आवश्यक छ । उत्पादित कृषि उपजको बजार सूतिश्चित गर्नु पनि राज्यको दायित्व हुन आउँछ ।
हामीले सुनेका र देखेका छौं, खाद्यान्न अभावका कारण संसारमा र नेपालमै पनि कति नागरिकले मृत्युवरण गर्नु परेको छ । यसबाट पाठ सिक्दै खाद्यान्न उत्पादन बढाउने, जमिन बाँझो नराख्ने तथा खाद्य सुरक्षामा विषेश ध्यान दिने गर्नु हामी नागरिकको पनि कर्तव्य हुन आउँछ । यस्ता कुराहरुमा राज्य र हामी नागरिक सबैको ध्यान जाओस् ।