हरेक वर्ष जुन २३ तारिखमा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने गरिन्छ । विश्वभरका एकल महिलाको आफ्नो जीवनसाथी गुमाँउदा र साथ छोडिँदाको पीडा अनि त्यसपछि जीवनमा गरिनुपर्ने दिर्घकालिन संघर्ष र सामाजिक अपहेलनाको सामनाको स्मरण गर्दै तथा उनीहरुमा समानता र समताको अनुभूति गराउन तथा उनीहरुको सम्मान र कदर गर्ने सभ्य समाजको निर्माणमा सघाउने हेतुले सन् २०१० डिसेक्बरमा संयुक्त राष्ट्रसंघको महासभाले हरेक वर्ष जुन २३ मा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सन् २०११ बाट यो दिवस मनाउँदै आइएको छ । मंगलबार नेपालमा पनि यो दिवस मनाइयो ।
संसारमा जस्तै नेपालमा पनि श्रीमान गुमाएका अर्थात विधवा, श्रीमान हराएका, सम्बन्ध विच्छेद गरेका र बिहे नगरी बसेका महिला गरी विभिन्न खालको एकल महिला छन् । उनीहरुको हित रक्षार्थ नेपाल सरकारले ति महिलाको सशक्तिकरणका लागि कोष खडा गरेको छ र सोहि बमोजिमको नियमावली पनि बनेको छ । खसगरी पति गुमाएर एकल बन्न पुगेको महिलालाई एकल भएकै मितिदेखि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने व्यवस्था पनि रहेको छ ।
आधा आकाश ओगटेका भनिएका नेपाली महिलाहरु त्यसैपनि पछि पारिएका छन् । अझ एकल महिलाले त नेपाली समाजमा अन्यको तुलनामा धेरै संघर्ष गर्नु पर्ने अवस्था रहेको छ । रुढी ग्रस्त समाजले उसलाई पोइ टोकेकी भन्ने जस्तो निकृष्ट आरोप मात्र लगाउँदैन सहारा विहिन बनेकी उसलाई बोक्सीको आरोपमा कुटपिट गर्ने दिसा खुवाउने, जनावरको मलमुत्र खुवाउने, घर तथा समाजबाट निकाल्ने तथा अन्य शारिरीक र मानसिक यातना दिने पनि गर्दछ । आफ्नै जीवन बाँच्न संघर्ष गरिरहेका उनीहरुको मनमा कस्तो चोट पुग्दो हो, यस्ता खालका व्यवहारले ?
उनीहरुलाई सक्षम बनाउन सिपमुलक तालिम प्रदान गर्ने, जीविकोपार्जनका अन्य उपाएहरु अबलम्बन गर्न सहयोग गर्ने जस्ता काम गरेर हामीले सक्षम र सबल बनाउने तर्फ लाग्नु छ । नारीको पुजा हुने ठाउँमा देवता पनि खुशी हुन्छन् भनिन्छ, उनीहरु त झन् बेसाहारा हुन्छन् । उनीहरुको आत्मविश्वास बढाउनु र सहज जीवन यापनमा सघाउनु हामी सबैको कर्तव्य हो । सबैले एकल महिलाको सम्मान गरेर सभ्य समाजको निर्माणमा योगदान गरौं ।
एकल महिलाको सम्मान सभ्य समाजको पहिचान-सम्पादकीय
previous post