कोभिड १९ अर्थात कोरोना भाईरसको बारेमा यतिबेला प्रत्येक व्यक्ति र प्रत्येक मिडियामा चर्चा भईरहेको छ । किनभने यतिबेला विश्वलाई नै यसले आक्रान्त बनाई रहेको
छ । हाल विश्वमा कोरोना भाईरसको संक्रमण नभएको राष्ट्र संख्या १० भन्दा पनि कम छ । दुई दिन पहिला मात्र नेपालले पनि त्यो सौभाग्य गुमाएको छ । जब फ्रान्सबाट फर्केकी १९ बर्षे युवतीमा कोरोना भाईरसको संक्रमणको पुष्टि भयो । ध्ज्इ ले नेपाललाई पहिलेदेखि नै कोरोना भाईरस संक्रमणको उच्च जोखिममा राखेको हो । अत्यन्तै तिब्र गतिमा फैलने यो भाईरसको नियन्त्रणको सबैभन्दा उत्तम विकल्प भनेको व्यक्तिगत सर्तकता नै हो, कमसेकम नेपाल जस्तो गरीब र विकासोन्मुख राष्ट्रहरुको हकमा । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको यो भाईरसबाट बच्न नेपाल सरकारले पनि यथासम्भव प्रयास गरिरहेको छ । सरकारको योजनाहरु प्रयासहरु प्रयाप्त होलान् नहोलन,् ढिलो भयो होला, समयमै भएको होला, त्यो अलग पाटो हो । त्यसको बारेमा पछि पनि बहश गर्न सकिन्छ । तर सरकारले प्रयास गरिरहेको छ, यो सत्य हो । सरकारले गरिरहेको निरन्तर प्रयासको पछिल्लो उदाहरण हो लकडाउन । अन्तराष्ट्रिय जगतले पनि अभ्यास गरिरहेको यो कदम सरकारको स्वागत योग्य कदम हो । तर लकडाउनको पहिलो र दोस्रो दिन अर्थात हिजो र आज बजारमा हामी नागरिकहरुको जे जस्तो हर्कत देखियो, त्यसले हामी कति असंवेदनशिल छौं भन्ने संकेत गर्दछ । यसले संकेत गर्दछ विश्वलाई नै त्राहीमाम गराई रहेको कोरोनालाई कसरीले हामीले हल्का र मजाकको रुपमा लिई रहेका छौं ।
लकडाउन गर्ने सरकारको कदमलाई समर्थन गर्दै यस पटक केही नलेख्ने विचार गरीरहेको थिएँ । किनभने पुरै राष्ट्र लकडाउन भनेपछि प्रेस खुल्ने सम्भावना पनि रहेन । अरु काम खासै केही नभएकाले हिजो र आज दिनभर अधिकांश समय कोरोना सम्बन्धी समाचार र पछिल्लो अपडेट हेर्दैमा दिन वित्यो । मैले यो आलेखका लागि छनौट गरेको शिर्षकसंग मिल्ने खालका धेरै स्टाटस पनि फेसबुकमा पोष्ट भएको देखें । फेसबुक र युटुव चाउँदै गर्दा केही यस्ता घटनाहरु पनि देखिए, कि यो आलेख नलेखि रहन सकिन । पत्रिकाको अनलाईन संस्करण भएपनि प्रकाशित गर्ने भएपछि लेख्न बसें ।
राष्ट्रलाई नै लकडाउन गर्ने सरकारको आदेशसंगै सेना प्रहरी अस्पतालका कर्मचारी बाहेक अन्य कर्मचारीलाई पनि घरमै स्ट्याण्डवाई बस्ने आदेश दिइएको छ र सबै नागरिकलाई आफ्नै घरभित्र रहन सरकारले सूचित गरेको छ । खाद्यान्न तथा सरकारले अनुमति प्रदान गरेका सवारी वाहेक अन्य सबै निजी सार्वजनिक र सरकारी सवारी साधनमा पनि प्रतिबन्ध लगाइएको छ । तर हिजो र आज सानै परिमाणमा भएपनि निजी सवारीहरु सडकमा देखिए । त्यतिमात्र होइन, हाम्रै सेवा र सुरक्षाका लागि जोखिम मोलेर ड्यूटीमा खटिएका प्रहरीहरुसंग मुखामुख गर्ने कथित सभ्य नागरिकहरु पनि देखिए । बजार डुल्न निस्कनेहरु पनि देखिए । मानौ लकडाउन भनेको छुट्टिको दिन हो र मानिसहरु समय काट्न बजार निस्केका हुन् । त्यो हाम्रो कस्तो लापरवाही र गैरजिम्मेवारी पना हो ? सरकारले केही गरेन भन्ने अनि सरकारले गर भनेको हामीले केही
नमान्ने ? हामीलाई लाग्न सक्दछ, न म विदेशबाट आएको हूँ न म कुनै विदेशीसंग सम्पर्कमा छु । मलाई कसरी संक्रमण हुन सक्दछ ? अनि मलाई संक्रमण नै नहुँदा पनि म किन स्वतन्त्र हिडडुल गर्न नपाउने ? एक एक व्यक्ति यस्तै खाले सोंचले स्थिति कतिखेर भयावह बन्न पुग्यो ? थाहै हुँदैन । अनि के त्यतिबेला फेरी सरकारले केही गर्न सकेन भनेर दोष थुपार्ने ? गुनासो गर्ने सरकारको विरोध गर्ने ?
अर्को प्रसंग जोड्न चाहन्छु, हिजो फेसबुक चलाउँदै गर्दा, एउटा भिडियो क्लिप हेर्न संयोग जु¥यो, भिडियो क्लिप नेपालको एउटा प्रतिष्ठित विद्यालयसंग सम्बन्धित रहेछ, त्यसमा अगामि बर्षको लागि उक्त विद्यालयमा पढ्न प्रवेश परीक्षा दिने विद्यार्थी र अभिभावकको हजारौंको संख्यामा भीड देखिएको छ । केही विद्यालयको विद्यार्थीहरु स्वयम् सेवकको रुपमा परिचालित छन् भने अभिभावकहरु पत्रकारलाई निर्धक्क अन्तरवार्ता दिईरहेका छन् । उनिहरुलाई आफ्नो गैरजिम्मेवारीपना र सरकारको आदेश अवज्ञा गरेकोप्रति न कुनै लज्जा छ न कुनै पछुतो । यति निर्धक्क भएर अन्तरवार्ता दिई रहेका छन् मानौं उक्त प्रवेश परीक्षामा सहभागि भएर राष्ट्रलाई धेरै ठूलो मद्दत पु¥याई रहेका छन् । यदि यो क्लिप विगतका बर्षहरुको हो र यतिखेर पोष्ट गरिदै छ भने पोष्ट गर्नेलाई कारवाही गर्नु पर्दछ किन भने उसले एउटा प्रतिष्ठित संस्थाको प्रतिष्ठा माथि आँच पु¥याउने काम गरेको छ, यदि होइन, हालसालैको हो भने (भिडियोमा भने अनुसार हिजोको) त्यतिको प्रतिष्ठित विद्यालय संकटको यो घडिमा कसरी यति लापरवाह र गैरजिम्मेवार बन्न सक्दछ ? आगामि शैक्षिक सत्र बैशाखमै शुरु हुन्छ या हुँदैन, अहिलेसम्म अन्योलको स्थिति छ । छ गतेको एसइई परीक्षा पाँच गते स्थगित गर्नु परेको छ । अनि उक्त विद्यालयलाई भने आगामि बर्षको लागि किन यति हतार ? उसको यही कदमले केही तलमाथि भयो भने विद्यालय सञ्चालकहरुले जिम्मा लिन सक्दछन् ? अनि राजधानी मै यत्रो चरम लापरवाही भैरहँदा पनि किन मौन छ सरकार ?
अब अर्को प्रसंग जोड्न चाहन्छु, हाम्रा आदरणीय फेसबुकका दार्शनिक र वैज्ञानिकहरुको । सरकारको लकडाउनको घोषणासंगै कोही चामलको दाना गनेको पोष्ट गर्दैछन्, कोही चाउचाउको लम्वाईको, कोही मकै भटमासको र कोही वाईफाईको राउटरमा कतिवटा प्वाल हुन्छन् ? भनेर पोष्ट गर्दैछन् । फेकबुक मनोरञ्जनको माध्यम पनि हो, तर केबल मनोरञ्जनको माध्यम मात्र होइन । विश्व नै विपतसंग जुधिरहेको यो घडिमा यस्ता अनावश्यक कुराहरु पोष्ट गर्न एउटा जिम्मेवार नागरिकलाई सोभा दिदैन । त्यसकारण सकिन्छ भने जनचेतना फैलाउँ । हैन भने यस्ता अनावश्यक कुरा लेखेर आफ्नो समय पनि वर्वाद नगरौं । अर्काको र सरकारको प्रयासको पनि मजाक
नउडाउँ । लकडाउनको यो परिस्थितिमा घरमै बसेर पनि धेरै सिर्जनात्मक काम गर्न सकिन्छ, बरु त्यतातिर ध्यान दिऊँ ।
अर्को कुरा विपतको घडिलाई कसैले धर्म प्रचारको माध्यम बनाएका छन्, कोही कोरोनाबाट बच्न रक्सी पिऊँ भनेर पोष्ट गर्दैछन् । कोही कोरोना लाग्ने भनेको लामो नाक हुने बाहुन क्षेत्रीलाई मात्रै हो, थेप्चो नाक हुने मंगोलहरुलाई लाग्दैन भनेर जातीयताका विवाद उठाई रहेका छन् । यो हाम्रो कस्तो सभ्यता हो ? फेरी अर्को कुरा फेसबुकमा शेयर र पोष्ट गरिने समाचारले पनि द्विविधा पैदा गरेको छ । जे पनि पोष्ट ग¥याछ, शेयर ग¥याछ, कुन सत्य हो कुन असत्य हो छुट्टयाउनै नसकिने ? आफू पूर्ण रुपमा विश्वस्त नभएसम्म र आधिकारीक स्रोत प्राप्त नभएसम्म हावादारी पोष्ट र शेयर पनि नगर्ने हो कि ?
यतिखेर विश्व कोरोनासंग लडिरहेको छ, इटाली जस्तो देश जहाँ युरोपकै सबैभन्दा स्वास्थ्य सेवा राम्रो छ, रोइरहेको छ । छ हजार भन्दा बढी व्यक्तिले ज्यान गुमाईसकेका छन् किन ? शुरुवाती अवस्थामा कोरोनलाई हल्का रुपमा लिँदा र पछि सरकारले गरेको लकडाउनको आदेशलाई नागरिकले नमान्दा । कतै हामी पनि लकडाउन आदेशको अवज्ञा गर्दै त्यही गल्ति त गर्दै छैनौं ? समय छँदै विचार गरौं र सचेत बनौं कि इटाली जस्तो देशलाई घुँडा टेकाउने कोरोनाले हामीलाई के सम्म गर्ला ? नेपालमा संक्रमणको स्थिति भयावह नहोस् भन्नका लागि छिमेकी मुलुक चीन पनि सहयोग गर्न तयार छ र नेपाल सरकार आफै पनि सक्दो प्रयास गरिरहेको छ । अनि हामी भने हप्ता दश दिन घरमै बस्न पनि नसक्ने ? यदाकदा सामाजिक सञ्जालहरुमा खाद्यान्न सम्बन्धी पिरलोको कुरा पनि आएको छ, दुई चार दिन जे छ त्यसैले काम चलाउँ । छरछिमेका ऐंचोपंैचो गरौं, भोलि परिस्थिति त्यस्तै परेछ भने सरकारले घरघरमै बाँड्न आउनु पर्ने हुन्छ या केही सुरक्षित विकल्प खोज्नु पर्ने हुन्छ । बरु सरकारलाई त्यतातिर पनि सजग र सर्तक रहन सुचित गरौं । तर लकडाउनको आदेशको अवज्ञा चाही नगरौं ।
कोरोनासंगको युद्ध खुकुरी र बन्दुकले लडिने युद्ध होइन, न त कोरोना भाईरसलाई कुनै आन्दोलनले तह लगाउन सकिन्छ, न कुनै पुजा पाठ र प्रार्थनाले । तसर्थ आफू पनि सचेत रहौं । अरुलाई पनि सचेत रहन आग्रह गरौं । अहिलेलाई १८ गतेसम्म लकडाउन भनिएको छ, भोलि परिस्थिति विग्रदै गयो भने यो अवधि नबढ्ला भन्न सकिदैन । दुईदिनमै उकुसमुकुस हुने हामीले फेरी यो परिस्थिति बढ्यो भने कसरी सामना गरौंला ? त्यसकारण लकडाउनको महत्व र आवश्यकता बुझौं र घरमै बस्ने बानी बसालौं । इटालीयन नागरिकबाट भएको गल्ति हामीबाट नहोरियोस् ।
इटालीयन जनताको गल्ति नदोहो¥याउँ
previous post