अस्मिता बर्मा
फ्रान्सेली नारीवादी लेखक सिमोन द बुआ आफ्नो विश्वप्रसिद्ध पुस्तक ‘द सेकेन्ड सेक्स’ (१९४९) मा ‘पुरुषप्रधान समाजमा महिलामाथि हुने मानसिक, शारीरिक र यौनिक भेदभावहरूबारे आफ्नो आवाज उठाउँछिन्।’ पुरुषले बनाएका भनाइहरूमा पुरुषलाई योजनाबद्धरूपले बनाएको, सोच्न सक्ने तर महिला दुघर्टनावस जन्मिएका भनी परिभाषित गरिएको पाइन्छ। नारीकेन्द्रित परिपे्रक्ष्यबाट नारी हक, हित र समानताका पक्षधरतालाई नारीवाद भनिन्छ। अहिलेको समयमा नारीवादीहरूले पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता कल्पना र नारीको स्थर चरित्र चित्रण आदिलाई नकार्दै, नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्नेतर्फ दह्रो पाइला चालेका छन्।पाश्चात्य मुलुकमा नारी मुक्तिको सङ्घर्ष लामै समयदेखि चलेको पाइए तापनि नारीवादी आन्दोलनको सचेत प्रयास सन् १९६० को दशकअघि भएको देखिन्छ। त्यतिखेरसम्म समाजमा नारीको अवस्थिति एकदमै प्रतिकूल पाइन्छ। पाश्चात्य साहित्यशास्त्रका सुप्रसिद्ध चिन्तक एरिस्टोटलले केही गुणहरूको कमीका कारण नारी नारी भएको हो भन्दै नारीको त्रुटि वा कमजोरी औल्याएका छन्। विश्वप्रसिद्ध मनोविश्लेषक फ्रायडले समेत नारीमा पाइने खोट देखाएका छन्। प्रायः सबै चिन्तक, दार्शनिक, नेता, भविष्यवक्ता, वैज्ञानिक आदि पुरुष नै भएका हुँदा पुरुषभन्दा नारीलाई हीनत्तर मानेका हुन् भन्ने नारीवादीहरूको आरोप छ। नारीलाई हीन तुल्याउने कार्य प्रकृतिको होइन, सामाजिक व्यवस्थाले गरेको हो भन्ने नारीवादीहरूको दृष्टिकोण छ। नारीवाद यस्तै यस्तै नारी विरोध स्थिति तथा विचारका विपक्षमा देखिएको छ।
एकदलीय व्यवस्थाको विरासतले गर्दा नेपालमा राजनीति भन्नाले कि विद्यमान राजनीति संरचनाको अर्थमा प्रयोग हुन्छ कि त व्यवस्थालाई नै विरोध गर्ने समूह भन्ने कुरामात्रै बुझिन्छ। यो परिभाषा न प्रजातन्त्रको फराकिलो सोचसँग मिल्दो छ न त महिलाको बढ्दो राजनीतिक इच्छाशक्तिलाई नै प्रतिनिधित्व गर्छ। त्यसैले मुलुकको विद्यमान सामाजिक र सांस्कृतिक परिवेशले नेपाली महिलालाई आवश्यक गतिशीलता प्रदान गर्छ/गर्दैन भन्ने कुरा महत्वपूर्ण हुन आउँछ।
लेखिका अस्मिता बर्मा अन्तरराष्ट्रिय सम्बन्धको विद्यार्थी हुनु हुन्छ। वहाँलाई [email protected] मा सम्पर्क गर्न सकिन्छ।