भाेली भाद्र कृष्णपक्ष अष्टमीका दिन संसारभरका हिन्दु सभ्यताका अनुयायीले भक्ति, कर्म र ज्ञान योगका प्रणेता भगवान श्रीकृष्णको जन्मोत्सव धुमधामले मनाउँदै छन् । हिन्दु धर्म ग्रन्थका अनुसार उनको जन्म द्वापर युगको अन्त्यमा भाद्रकृष्णपक्षको अष्टमी तिथीको मध्यरातमा मथुराको जेलमा भएको थियो । बहिनी देबकाको कोखबाट जन्मेको सन्तानले आफ्नो संहार गर्ने थाहा पाएको कंशले देबकालाई विवाह लगतै जेलमा थुनेको थियो । उनै देवकाको आठौं सन्तानका रुपमा जेल भित्रै श्रीकृष्णको जन्म भएको हो । बाल्यकाल देखिनै अनेकौ लिलाहरु गर्दै आएका उनले महाभारत युद्धमा धर्मराज युधिष्ठिरको पक्षमा अर्जुनको सारथी बनेर सहभागि भए । सत्ता अहंकारले मानिसलाई गलत मार्गमा लैजान्छ र अन्ततः त्यसको परिणामा विनाश हुन्छ भन्ने सन्देश दिए ।
श्रीकृष्णको सन्दर्भमा एउटा कुरा यहाँ उल्लेख गरौं । सबरी नामकी पात्र छन् , श्रीकृष्णको बाल्यकालमा जो मानिसको अन्तिम संस्कारका काम गर्छिन् । गोकुलबासी सबरीलाई अनादर गर्छन् र उनी गोकुल आउनुलाई अनिष्टको संज्ञा दिन्छन् । एक दिन भोक प्यासले व्यथित सबरी यो जान्दा जान्दै खानाको खोजिमा गोकुल आईपुग्छिन् । गोकुलबासी उनलाई कुटपिट गर्न खोज्छन् । सोही समयमा आईपुगेका कृष्णले गोकुलबासीलाई जन्मसंस्कार, विवाह संस्कार तथा जिवित रहंदासम्म गरिने संस्कार गराउने मानिसलाई हामी सम्मान गर्छाैं तर मृत्यु संस्कार गर्नेलाई मात्र घृणा किन ? भनेर प्रश्न गर्छन् । उनी थप्छन्, हामी गाईको पालनपोषण गर्छाैं, कोही खेती किसान गर्छन्, त्यस्तै सबरी मृत्य संस्कार गर्छिन । मानिसका आ–आफ्ना पेशा हुन्छन् । सबैका कामको आफ्नै महत्व छ, त्यसो भए कोही काम ठूलो र कुनै काम सानो कसरी हुन्छ ? गोकुलबासीको आँखा खुल्छ र विस्तारै सबरीप्रतिको अवहेलना कम हुदै जान्छ, सम्मानित जीवन पाउँछिन् ।
कृष्णका जीवनबाट हामीले ग्रहण गर्न सकिने अरु पनि कुरा छन् । आवश्यकता अनुसार मित्रता सबैसंग गर्नु पर्दछ । सानो ठूलो त कर्मले हुने हो, त्यसैले असल कर्म चिनेर त्यस्ता कर्म गर्नु पर्दछ । असम्भवै असम्भवबीच रहेर पनि सम्भाव्यताको खोजीमा निरन्तर लागिरहने व्यक्ति अवश्य सफल हुन्छ । अत्यन्त दुःखको अवस्थामा पनि विचलित नभई आफ्नो धर्म, संस्कृति, संस्कार नछाडी निरन्तर अडिग रहने व्यक्तिनै सफल हुन्छ भन्ने शिक्षा हामीले श्रीकृष्णको जीवनीबाट प्राप्त गर्न सकिन्छ । सज्जनहरुको रक्षा र दुष्कर्म गर्नेहरुको विनाश गरी धर्म रक्षा गर्न युगौं युग जन्म लिने उद्घोष गर्ने कृष्णको जीवन चरित्रबाट हाम्रा राजनैतिक नेतृत्वले केही सिक्ने र व्यवहारमा लागू गर्ने प्रयत्न गर्दा जनहित हुन्थ्यो ।