पृष्ठभूमिः
सामाजिक परम्परा र संस्कार माथि परिवर्तनले विजय हासिल गरेपछि हाम्रो समाजमा विवाह जीवन प्रयन्तका लागि हो भन्ने विश्वास हट्दै गएको छ । वैवाहिक जीवन कर्कलाको पानी वा परालको आगो जस्तो हुन पुगेको छ । मानव जीवनका लागि वैवाहिक दाम्पत्य जीवन यौन उत्तेजनामा असुरक्षित यौन सम्पर्क राख्ने परिणाममा विवाहलाई स्वीकार गर्ने प्रचलनसंगै सम्बन्ध विच्छेद गर्ने सम्पत्ति हिनामिना गर्ने प्रचलन बढेको छ ।
संस्कारः
अन्य प्राणीलाई जस्तै मानव सिष्टिमा पनि एउटा उमेर समूहमा पुगेपछि विपरित लिंगीहरु बीच आक्रषण बढ्नु स्वभाविक हो । मानव भएका कारणले यसलाई अन्य प्राणी भन्दा फरक बनाएर त्यो आकर्षण पछिको मिलनलाई जीवन प्रयन्त स्थायी तुल्याउन, हाडनातामा पर्न नदिन, जबरजस्तीमा पर्न नदिन र समूह र बर्ग मिलाउन समाजले विभिन्न विधिविधान बनायो । त्यही विधिविधानलाई आज संस्कार भनिन्छ र त्यही संस्कारलाई व्यवस्थित र सामयिक बनाउन कानुन बनाइएको हो ।
कानुनमा विवाहः
विवाह (बिहे) दुई व्यक्तिहरू मध्य प्रायः एक नर र एक नारीको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का संगै जीवन ब्यतित गर्ने प्रतिज्ञाबाट स्थापित नाता सम्बन्ध हो । हाम्रो संहिता कानुनले कुनै पुरुष र महिलाले कुनै उत्सव, समारोह, औपचारिक वा अन्य कुनै कार्यबाट एक अर्कालाई पति पत्निको रुपमा स्वीकार गरेमा विवाह भएको मानेको छ । साथसाथै शारीरिक सम्पर्कबाट शिशु जन्मेमा त्यस्ता महिला पुरुष बीच स्वतः विवाह भएको मानिने कानुनी व्यवस्था छ ।
कानुनमा परिवर्तनः
संस्कारगत रुपमा उमेर नपुगि गरिने विवाह र यसका विधिविधानहरुको प्रयोग गलत ढंगबाट हुन जाँदा मानव सृष्टिलाई व्यवस्थित र सुरक्षित बनाउन बनेका ती संस्कारहरु कुसंस्कारमा परिणत हुन थाले । कानुनमा परिवर्तन भयो । सानै उमेर विवाह गरेर अपरिपक्व उमेरमा गर्भधारणको परिणाम बढेको मृत्यदर घटाउन उमेरको समय सीमा तोक्दै जान थालियो । कानुनमा पति पत्निको नाता सम्बन्ध विच्छेद गर्न सक्ने वैधानिक व्यवस्थाले प्रवेश पायो । त्यसको गलत प्रयोगले पछिल्ला दिनमा बीस बर्ष पुगेपछि मात्रै विवाह गर्न सक्ने वैधानिक व्यवस्थाले पनि अझै नपुगेको महसुस भएको छ । कानुनमा बीस बर्षको उमेर हद भएपनि व्यवहारमा पुरुष १६ र महिला १५ बर्ष पुग्दा नपुग्दा विवाह हुने प्रचलन अझै कायम छ । त्यस्ता जोडीहरुमा सम्बन्ध विच्छेद हुने संस्कार बढेको छ ।
अपरिपक्व विवाहको परिणामः
अपरिपक्व उमेरमै भएको विवाह र जीवनमा पार्ने प्रभावको ज्ञान विना नै यौन प्यासको तृप्तिका लागि स्थापित शारीरिक सम्बन्धले बन्न पुगेको विवाहहरु र पारिवारिक हैसियत र बर्ग समूहको मेल नभएको विवाहहरु अस्थायी बन्न पुगेको पाईन्छ । जन्मेका शिशुप्रतिको कर्तब्यलाई भन्दा यौन प्यासको तृप्तिको क्षणमा स्थापित शारीरिक सम्बन्धको परिणाम बनेको विवाह अस्थायी हुनु स्वभाविक हो । हाम्रो व्यवहारिक प्रयोगले पनि पारिवारीक आर्थिक, बर्ग, समूहको अनमेलको वैवाहिक सम्बन्ध त्यस्तै अस्थायी बन्न पुगेको देखाएको छ ।
समाधानः
अवैध शारीरिक सम्पर्क राख्नु पूर्व त्यसको परिणामका बारेमा सोंचौं । पढ्ने उमेरमा विवाह नगरौं । कानुनले तोकेको बीस बर्ष अगावै विवाह नगरौं । आफ्नो कूल, परम्परा, संस्कारलाई समेत विवाह पूर्व पुरुष र महिलाका बीच व्यापक छलफल गरौं । दाम्पत्य जीवन शुरु गर्नु पूर्वका मायाँप्रेमका जीवनहरुका बारेमा एक अर्का बीच खुलस्त छलफल गरौं ताकि पछि त्यो गोप्य भेद खुल्दा पनि दाम्पत्य जीवनमा कुनै असर नपरोस् ।
निष्कर्ष ः
दाम्पत्य जीवन शुरुवात गर्नुपूर्व बृहद् पक्षलाई सोंच विचार गर्नु पर्दछ । अन्य प्राणीको जीवन र मानव जीवन फरक छ ।
हाम्रो संस्कारमा विवाहले सम्पत्ति माथिको अधिकार सिर्जना गर्दछ । सम्बन्ध विच्छेदले सम्पत्ति बाँडफाँड र हिनामिना बनाउँदछ । आफैले जन्माएका शिशुको भविष्यलाई प्रभाव पार्दछ । आफैलाई मानसिक रोगी बनाउँदछ । परिवारका आफ्नो अभिभावक र सदस्यलाई समेत मानसिक रोगी बनाउँदछ । यी सब कुकर्मको कारक आफैलाई नबनाउँ ।
दाम्पत्य जीवन दुर्घटनामा नपर्ने गरी शुरु गरौं । परिपक्व उमेरमा पुगेर सुझबुझका साथ दाम्पत्य जीवन शुरु गरी सकेपछि र आडम्बरमा सम्बन्ध विच्छेद गर्ने निर्णय नलियौं । आफैले जन्माएको शिशुको भविष्यको सुरक्षण र सुव्यवस्थाका लागि आफ्ना आडम्बरी प्रतिष्ठा, लहड, सनक र उत्तेजनालाई संयमताको सहारामा नियन्त्रण गरौं ।