सोमबार संसारभर विश्व क्यान्सर दिवस मनाइयो । आम बुझाइमा मानिसको शरीरमा एक पटक क्यान्सर भए पछि त्यो निको हुँदैन । अर्थात यो निको नहुने रोग हो तर यथार्थ भने अलग छ । समयमै पत्ता लागे क्यान्सरको उपचार सम्भव छ अर्थात निको हुन्छ । अर्काे तितो यथार्थ के पनि हो भने परिवारको कुनै सदस्यलाई क्यान्सर लागेको पत्ता लागेपछि परिवारले बढी स्याहार एवं हेरविचार गर्नुपर्नेमा बेवास्ता गर्ने प्रवृत्तिले उपचारमा समस्या पर्ने गरेको छ ।
नेपालको सन्दर्भमा महिलाहरm पाठेघरको मुखको क्यान्सरबाट सबै भन्दा बढी पिडित छन् । एकिन तथ्याङ्क नभए पनि नेपालमा वर्षेनी हजार हारहारी महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाउने गरेको सम्वद्ध चिकित्सकहरु बताउँछन् । यसरी हिसाब गर्दा दैनिक झण्डै तिन महिलाले यसैका कारण ज्यान गुमाएका छन् । यो स्तरको मानविय क्षति वास्तवमै अपुरणीय हो । क्यान्सरको सामान्य अर्थ शरीरका कोषहरुको अनियन्त्रित वृद्धि हो । यसरी अनियन्त्रित रुपमा कोषमा वृद्धि हुँदा ति कोषहरुमा रक्तनलीहरु पुग्दैनन् र ति कोषहरुले शरीरलाई नकारात्मका असर गर्न थाल्दछन् । यसैलाई हामी क्यान्सर भन्दछौं । यस्तो कोषको वृद्धि पाठेघरको मुखमा भयो भने यसलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण महिलामा पुरुषबाट सर्ने ह्युमन पापिलोमा भाइरस (एचपिभी) हो । त्यसैले शारीरिक सरसफाइमा ध्यान नदिने र धेरैजनासंग शारीरिक सम्पर्क गर्ने महिलालाई यो भाइरसको संक्रमण हुने सम्भावना बढी रहन्छ अर्थात पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै रहन्छ । यसको अर्थ यौन सम्पर्क नगरेका महिलालाई यो भाइरसको संक्रमण हुँदैन भन्ने होइन । एचपिभीको संक्रमण मद्यपान तथा धूमपान गर्ने, खानपानमा ध्यान नदिने तथा कुपोषण भएका र शारीरिक सरसफाइमा ध्यान नदिने महिलामा हुन सक्छ वा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना रहन्छ ।
अधबैसे उमेरका महिलामा यो क्यान्सर बढी देखिएकाले समय समयमा शरीरको जाँच गराउनु जरुरी छ । एक दशक अघि नै पाठेघरको मुखको क्यान्सर विरुद्धको भ्याक्सिनको विकास भै सकेको थियो र हामी कहाँ पनि किशोरीहरुलाई यस्तो भ्याक्सिनको सुविधा उपलब्ध गराउने तथा शारीरिक सरसफाइ गर्न, असुरक्षित यौन सम्पर्क अनि मद्यपान तथा धूमपान नगर्न सचेत गर्ने र पोषणयुक्त खाना खान सचेत गर्ने हो भने दैनिक रुपमा भएको मानविय क्षति रोक्न सकिन्छ । यसका साथै गाउँ गाउँमा क्यान्सर परिक्षणको सुविधा उपलब्ध गराउने र उपचार सुविधा प्रदान गर्ने निकायहरुबीच समन्वय हुन सक्दा पनि यो क्षतिलाई घटाउन सकिन्छ । पीडा कम गर्न सकिन्छ ।