नेपालको निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भएको साथै कतिपय मतदाता पेट्रोल, रक्सी तथा मासुको प्रभावमा परेर मतदान गर्ने गरेको विषयमा स्याङ्जाका प्रतियोगी विष्णुप्रसाद गौडेलको प्रस्तुती हरेपछि नेपालको पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियनका निर्णयक प्रदिप भट्टराईले भनेको अंश हो आजको शिर्षक । उनले भनेका थिए, मतदान गर्दा दाग नङमा मात्र लागोस्, स्वाभिमानमा होइन । गौडेलले आफ्नोे प्रस्तुतिका क्रममा पैसाको प्रभावमा परेर आफुले आफ्नै बाबुलाई मतदान नगरेर बुबाका प्रतिस्पर्धीलाई मतदान गरेको उल्लेख गरेका थिए । प्रस्तुतिका क्रममा अरुपनि प्रतियोगिले विकृत बन्दै गएको नेपाली राजनीतिका प्रति राम्रै व्यङ्ग गरे । कसैले नेताहरुले आफ्नो मतको अपमान गर्दा आफुले उनीहरुलाई व्यङ्ग गर्न किन नहुने भनेर प्रतिप्रश्न गरे भने कतिपयले नेताहरु कुर्सीमा बिके भनेर आलोचना गर्नेहरुलाई मतदान गर्ने बेला मासु चिउरा अनि पेट्रोल र पैसामा बिक्ने नागरिको मत पाएर पदमा पुगेका मान्छे कुर्सीका लागि बिक्नु कुन ठूलो कुरा भयो भनेर पनि व्यङ्ग गरे ।
हामीकहाँ आवधिक निर्वाचनहरु भइरहेका छन् । धेरैजसो अवस्थामा आम मतदाताले नङमा मात्र दाग लाग्ने तर स्वाभिमानमा दाग नलाग्ने गरी मतदान गरेका उदाहरण छन् । दुर्भाग्यवश कतिपय बेला र केही मतदाताले मासु र चिउरा अनि पेट्रोल र पैसाको प्रभावमा परेर मतदान गरेका गुनासो सुनिन्छन् । यो कतिपय राजनैतिक दलका नेताहरुकै गुनासो हो । पछिल्लो समय धेरै जसो राजनैतिक दलका नेताहरुको भाषण सुन्ने हो भने निर्वाचन प्रणाली अत्यन्त महंगो भएको र यसमा आमूल परिवर्तन आवश्यक भएको भन्ने गरेको सुन्न पाईन्छ । यसको सिधा अर्थ हो, मतदानमा पैसाको प्रभाव रहन्छ । हुन पनि मध्यम वर्गिय परिवारको कुनै सदस्यले राजनीतिमा लाग्ने र कुनै पदका लागि चाहे त्यो वडा अध्यक्ष नै किन नहोस् निर्वाचन लड्न सक्ने अवस्था अहिले छैन । संघिय संसदको सदस्यको उम्मेदबारले कति खर्च गर्छ हिसाब छैन तर गाउँ पालिकाको अध्यक्षको निर्वाचनमा खडाहुन करोडको हाराहारी खर्च गर्नुपर्ने र वडा अध्यक्षले समेत लाखौ रुपैयाँ खर्च गर्नुपर्ने अवस्था छ, अहिले ।
पढ्दा सुन्दा तितो लागे पनि हामीले देखेको यथार्थ के पनि हो भने निर्वाचनका बेला आफ्नो क्षेत्रका सबैजसो उम्मेदबारले खाना व्यवस्था गरेका होटलमा खाना खान पुग्ने तथा सबैजसो पेट्रोल पम्पमा फुल ट्याङ्क गर्न जाने खासगरी दुइपाङ्ग्रे सवारीका धनी प्रसस्तै भेटिन्छन् । विहान एउटा उम्मेदबारको जुलुसमा सहभागी भएर घर आयो अनि त्यो झण्डा झिकेर अर्काे झण्डा राख्दै अर्काेकोमा गयो । यसरी दिनभरमा दुइ चार उम्मेदबारको कार्यकर्ता शुभचिन्तक बन्न पुग्ने जमात पनि छ । यस्तै प्रवृत्तिले निर्वाचन प्रणाली मात्र विकृत भएको छैन कि व्यवस्था माथि नै अविश्वास पैदा हुँदै आएको छ ।
हाम्रा संघिय तथा प्रदेश सभाका सभासदहरु विधायकभन्दा बढी विकासे प्रतिनिधि अनि दाताको भूमिकामा रहँदा यो अवस्था आएको हो भन्न मिल्ने प्रसस्त आधारहरु छन् । न त जो निर्वाचन जितेर विधायक बनेर जान्छन् उनीहरुलाई जानकारी छ, न सरकार नै उनीहरुलाई विधायकको रुपमा रहेको हेर्न चाहन्छ । त्यसैले त एउटा संघिय संसदको सदस्यले वार्षिक ६ करोड खर्च गर्न पाउने गरी सरकारले नै बजेट उपलब्ध गराउँछ । हामी नागरिकको अपेक्षा पनि उनीहरु देश र जनताको हित अनुकुल हुने समय सापेक्ष कानून र नीति नियम बनाउने तिनीहरुको काम हो र त्यसमै उनीहरु सिमित रहुन भन्ने छैन । हामी चाहन्छौं उनीहरु आएर आफ्नो घर छेउको सडकको खाल्डा पुर्ने रकम उपलब्ध गराउन, हामीले पानी खाने कुवा वा धारको मर्मत गर्ने पैसाको जोहो उनीहरुले गरिदिउन् । हामीले कहिल्यै प्रश्न गर्ने गरेका छैनौं कि हाम्रो हित अनुकूलका कति कानुन तयार ग¥यौ ? कति नयाँ कानुनहरु बने र कार्यान्यनमा आय जसले देशमा व्याप्त भ्रष्टाचार र बेथितीको अन्त्य होस् । जसले गाउँका गरिबहरुको जीवन स्तर सुध्रिएको होस् ।
जहाँ उनीहरु जान्छन् हामी भव्य स्वागत गर्छाै, यस्तो लाग्छ उ जनताको सेवाका लागि निर्वाचित भएको एउटा प्रतिनिधि होइन् । उ परम्परागत राजा हो र हामी रैति । यस्तो सान र मान पाउने भएपछि उसलाई सांसद हुन मन नलाग्ने कुरै भएन । र त एकपटक सांसद भएको मानिस कहिल्यै त्यो पद छाड्न नपरोस भनेर लागि पर्छ अनि त्यो सान र सौकत देखेका अरुपनि सांसद हुन बल गर्छन । अझ मन्त्री बन्न पाए आघिपछि सुरक्षा निकायका प्रतिनिधि र कार्यकर्ता लिएर सानका साथ झण्डा हल्लाउँदै राजसी ठाँटमा हिड्न पाइने र पछि पनि आजिवन पाइने सुविधाको लोभले त्यता जान हरदम जो कोहिलाई मन लागिरहन्छ र निर्वाचन जित्न जस्तोसुकै काम गर्नपनि उनीहरु तयार हुन्छन् । चाहे मतदान केन्द्रमा अन्य दलका मतदातालाई मतदान गर्न नसक्ने अवस्था सिर्जना गर्ने होस् वा पैसाको खोला बगाउन किन नपरोस् ।
जहाँ जान्छन् विकासे भाषण गर्नुपर्छ अनि मन्दिर, पाटी, पौवा, कुवा, पंधेरो, चौतारी, खेलकुद मैदान, आमा समूहको भवन आदि आदि बनाउन पैसा बाँड्नु पर्ने हुुन्छ । न भए हामी नै उसलाई मतदान गर्दैनौं । निर्वाचको बेला त झन त्यसको माग आम मानिसमा बढी नै हुन्छ । उनीहरु दाता र हामी मगन्तेको रुपमा बढीनै प्रकट हुन्छौं हामी । राजनैतिक नैतिकता र सैद्धान्तिक अडान भन्ने कुरा नेतामा छैन हामी मतदातामा हुने कुरै भएन र त अघिल्लो रात एउटा निर्वाचन चिन्हमा मत दिन तयार मान्छे केही थान हजारका नोट हात पर्नासाथ अर्के चिन्हमा मतदान गर्न राजी हुन्छौं । मन्दिर, पाटी, पौवा, कुवा, पंधेरो, चौतारी, खेलकुद मैदान, आमा समूहको भवन बनाउनु हुँदैन भनेको होइन तर हामी जोसंगबाट अपेक्षा गरिरहेका छौं ति संरचना बनाउने काममा उनीहरु निर्वाचित भएका होइनन् भन्ने हामीले बुझ्नु जरुरी छ । ति काम गर्ने सरकारी संयन्त्र छन् र हामीले आवश्यक खवरदारी गर्नसक्दा ति समयमै र हाम्रो आवश्यकता अनुसार बन्छन् ।
अब बेला भएको छ, पैसाको प्रभावमा परेर स्वाभिमानमा दाग लाग्नेगरी मतदान गर्न छाड्ने । दाग निर्वाचनका दिन नङमा मात्र लागोस्, स्वाभिमानमा कहिल्यै नलागोस् ।
दाग नङमा लागोस्, स्वाभिमानमा होइन
previous post