“दुइमात्र सन्तान,
इश्वरको वरदान”
केही वर्ष अगाडि देखि जनसंख्याको वृद्धिलाई रोक्न नेपालमा यो नारा खुब प्रचलनमा छ । हुनपनि विकसित भनिएका मुलुकको तुलनामा हाम्रोमा जनसंख्याको वृृद्धि दर अलि बढी नै छ । तर केही हदसम्म जनसंख्या वृद्धि सधैं खरावमात्र हुन्छ भन्ने मान्यताले पनि हामीलाई यस्तो स्लोगन बनाउन प्रेरित गरेको हो भन्न अप्ठ्यारो मान्नु पर्ने छैन । हाम्रो जस्तो देशका लागि अहिलेको जनसंख्या वृद्धि खराब नै हो वा यसलाई सम्भावना र अवसरका रुपमा पनि प्रयोग गर्न सकिन्छ भनेर बहसको थालनी गर्नु र सोही अनुसारका योजना गराउनु आवश्यक भएको छ ।
सधैं जनसंख्या वृद्धि खराव वा चुनौतिमात्र हुन्छ त ? होइन । खासगरी हाम्रो जस्तो मुलुक जहाँ प्राकृतिक स्रोतको प्रचुरता छ तिनको प्रयोग हुन नसक्दा हामी विकासको गतिमा पछाडि परेका छौं, यस्ता देशहरुकालागि जनसंख्याको वृद्धि नकारात्मक मात्र हुँदैन बरु सकारात्मक हुन्छ ।
खाली आवश्यक छ त दृढ इच्छाशक्ति भएको राज्य सञ्चालकको । यदि हामी कहाँ उपलब्ध प्राकृतिक श्रोतलाई परिचालन गर्न सक्षम जनशक्ति उत्पादन गर्ने सोच र सो अनुसारको कार्ययोजना हुने हो भने अहिलेको झण्डै तीन करोड जनसंख्या हाम्रालागि नकारात्मक वा चुनौति पूर्ण होइन बरु यो त हाम्रो देशमा रहेको विकासको अथाह सम्भावनाको खोजी र थालनीको अवसर हुन सक्दछ । हामी कहाँ उपलब्ध जनशक्तिलाई सिप र तालिमले दक्ष बनाउने अनि त्यसलाई उपलब्ध प्राकृतिक श्रोतको पूर्ण प्रयोगमा लगाउन सक्ने हो भने अवश्य हाम्रो अवस्था अहिलेको भन्दा राम्रो हुनेछ ।
शनिबार अर्थात जुलाई ११ मा नेपालमा पनि विश्वभर जस्तै विश्व जनसंख्या दिवस मनाइँदै छ । जनसंख्या व्यवस्थापनमा विश्वको ध्यान आकृष्ट गर्न र आफुलाई उपलब्ध मानवसंसाधको उचित प्रयोगबाट संसारका सबै देशले विकासको गति पक्रने अभ्यास गर्न सकुन भनेर यो दिवस मनाउन थालिएको हो । कतिपय देशका लागि बढ्दो जनसंख्या टाउको दुखाइको विषय भएको त कतिपय देशलाई घट्दो दरको जनसंख्या चिन्ताको विषय । चीन, जापान जस्ता मुलुकलाई हे¥यौं भने उनीहरु घट्दो जनसंख्याको वृद्धि दरका कारण चिन्तित छन् ।
उत्पादक जनसंख्याको आकार सानो हुँदा देश विकासका लागि अपरिहार्य शक्ति मानव साधानको अभाव भएको र अपेक्षित रुपमा देश विकासले गति लिन नसकेको दुःखेसो उनीहरुको छ ।
सन्दर्भमा हामीले अहिलेका जनसंख्यालाई उचित व्यवस्थापन गर्न सकेको खण्डमा चुनौति होइन बरु अवसर बन्ने देखिन्छ । यसको अर्थ सन्तानले डाँडा काँडा ढाकुन भनेर आर्शिवचन दिने र आर्र्शिवचनको पालना गर्दे दर्जन सन्तान जन्माउने भन्ने पनि होइन अनि भैंसीलाई सिङको भारी हुँदैन भनेर जति पनि बच्चा जन्माउने भन्ने पनि होइन । अझ भगवानले दिएको थाप्ने हो भनेर थुप्रै सन्तान जन्माउने बेला यो होइन ।
किनभने त्यो देशका लागि , देशको समग्र विकास प्रक्रियाका लागि वाधक हुने त छँदैछ हामी आफैले आफ्ना बालबच्चाको उचित स्याहार सुसार गर्न सक्दैनौ । उनीहरुलाई उचित शिक्षादीक्षा दिन सक्दैनौं । यस्तो अवस्थाको जनसंख्या वा जनशक्ति परिवारको उत्थानको मात्र होइन देश विकासको चुनौति बन्दछ ।
तर हाम्रोमा भएको अहिलेको दरको जनसंख्या वृद्धि कुसल व्यवस्थापन हुनसक्दा हाम्रालागि सकारात्मक नतिजा दिने खालको नै हुने कुरा चाहिँ पक्का हो ।
जनसंख्याको यही आकार वा यही वृद्धिदर हाम्रालागि उपयुक्त हो भनेर भन्न सकिने अवस्था त रहँदैन तर प्राकृतिक श्रोतहरुको उच्चतम प्रयोग भएको जनसंख्यको आकारलाई राम्रो मान्ने चलन विश्वव्यापि छ ।
नेता त्यो हो जसले आफ्ना अगाडि आएको चुनौतिलाई अवसरमा बदल्न सक्छ । हाम्रो नेतृत्वमा यसलाई मनन गर्दै चुनौति नै भएको भएपनि अवसरमा बदल्ने प्रेरणा यस वर्षको जनसंख्या दिवसले प्रदान गरोस् भन्ने कामना ।
जनसंख्या बृद्धि अवसर कि चुनौती ?
previous post